दुर्गममा निःशुल्क एम्बुलेन्स सेवा



हुम्ला ।

हुम्लाको ताँजकोट गाउँपालिकाले दुर्गमका बिरामीलाई स्वास्थ्य संस्थामा ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । पालिकाले आफैंले एउटा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्य चौकीले रिफर गरेका जटिल बिरामीलाई सुर्खेत तथा नेपालगन्जका अस्पताल लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने समेत गाउँपालिकाले निर्णय गरेको ताँजकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताउनुभयो । न्यून आय भएका जनताको सेवाका लागि गाउँपालिकाको एम्बुलेन्स सेवा दिँदै आएको र अन्य जोडिएका जिल्लाका नजिक रहेका छिमेकी गाउँपालिकाका बिरामीका लागि पनि सो सेवा दिन थालिएको उहाँको कथन छ ।

गाउँपालिकाले एक सूचना जारी गरेर छिमेकी अदानचुली, सर्केगार्ड, चंखेली, मुगु जिल्लाको सोरू गाउँपालिका र बाजुरा जिल्लाका बिरामीलाई एम्बुलेन्स सेवा उपलब्ध गराउन सकिने बताएको छ । छिमेकी गाउँपालिकाका स्थानीय बिरामी हुँदा ३० हजारभन्दा बढी रुपियाँ खर्च गरेर निजी गाडी रिजर्भ गर्नुपर्ने समस्यालाई मध्यनजर गरेर ताँजकोटले एम्बुलेन्स सेवा दिने निर्णय गरेको ताँजकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताउनुभयो । एम्बुलेन्स सेवा निःशुल्क भए पनि इन्धनको व्यवस्था भने बिरामीका आफन्तले व्यहोर्नुपर्ने उहाँको भनाइ छ ।

गरिब तथा न्यून आयस्रोत भएका बिरामीलाई यो एम्बुलेन्स सेवाले निकै राहत पुग्ने देखिन्छ । प्रदेश सरकारको साझेदारीमा गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सुचारु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्