चुनावले छोयो राजनीतिक पार्टीलाई, गाउँ–गाउँ पुगे नेता



वीरबहादुर बम, मुगु ।

मुगुका प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पस्न थालेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेकाले नेता–कार्यकर्ता गाउँ–गाउँमा पग्न थालेका हुन् ।

चुनावको मिति घोषणा गरेपछि कांग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी), माओवादीलगायत प्रमुख राजनीतिक दलले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका छन् । जाडो छल्न प्रदेश राजधानी सुर्खेत र तराईका विभिन्न जिल्लामा गएका राजनीतिक दलका नेता–कार्यकर्ता पनि जिल्ला फर्किएर गाउँ केन्द्रित हुन थालेका छन् । ‘अब चुनाव लागिसक्यो’, नेकपा (एकीकृत समाजवादी, मुगुका अध्यक्ष धर्मबहादुर शाही भन्नुहुन्छ– ‘कसरी पार्टीलाई जिताउने भनेर गाउँ–गाउँमा कार्यकर्ता भेटघाट, भेला, प्रशिक्षण शुरु गरिसकेका छौं ।

उनीसहित जिल्ला कमिटीका पदाधिकारी मदन मल्ल, सुरेश शाही, सोरू गाउँपालिका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल खडकबहादुर मल्ललगायत नेताहरूले फाल्गुनको दोस्रो हप्तादेखि छायाँनाथरारा नगरपालिकाका र सोरू गाउँपालिका विभिन्न बस्तीमा कार्यकर्ता भेटघाट र पार्टी प्रवेशलाई तीव्रता दिएका छन् । उनीहरू फरक–फरक वडामा गएर विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुन थालेका हुन्  ।त्यस्तै, नेपाली कांग्रसका पार्टी सभापतिसहितको टिमले प्रसिद्ध धार्मिकस्थल थार्पमस्टा मन्दिरमा पूजाआजा गरी गाउँ जागरण अभियान शुरु गरेको छ । भगवान्को आशिर्वाद लिएर अभियानको शुरुआत गरेको नेपाली कांग्रस मुगु सभापति ऐनबहादुर शाहीले बताउनुभयो ।

त्यसै गरी, एमालेका जिल्लास्तरीय नेताहरू पनि अहिले विभिन्न गाउँमा खटिएका छन् । बाम, लुम, रुघालगायत बस्तीमा कार्यकर्ता भेटघाटको कार्यक्रम सकिएको एमाले जिल्ला अध्यक्ष जितबहादुर मल्ल बताउनुहुन्छ । ‘सरकारका अरू तयारी बाँकी होलान्, पार्टीका तर्फबाट भने अनौपचारिक चुनावी अभियान शुरु भइसकेको छ’, उहाँ भन्नुहुन्छ– ‘जसरी पनि पार्टीलाई १ नम्बरको पार्टी बनाउन आवश्यक तयारी शुरु भइसकेको छ ।’ कार्यकर्ता र मतदातासमक्ष पुगेर उनीहरूकको धारणा बुझ्ने काम भइरहेको उहाँको कथन छ ।नेकपा माओवादीले पनि चुनावी अभियान शुरु भइसकेको जनाएको छ ।

पार्टीले पहिलो चरणमा सोरू गाउँपालिका र छायाँनाथरारा नगरपालिकामा कार्यकर्ता भेला र संगठन निर्माण अभियान सकिएको जनाएको छ  । माओवादी केन्द्रले पनि गाउँका कार्यकर्तालाई चुनावी अभियानमा सक्रिय बन्न निर्देशन दिइसकिएको जनाएको छ । दलहरूले कार्यकर्ता भेटघाटसँगै अन्य दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रम जारी राखेका छन् ।लामो समयको अन्तरालमा नेता तथा कार्यकर्ता गाउँमा आउन थालेपछि गाउँमा रोजगारी, खानेपानी, सिँचाइ, बाटोलगायतका विकास निर्माणको स्थानीयले माग गरेका छन् । भेटघाटका लागि गाउँमा पुगेका नेताहरूलाई कार्यकर्ताले विभिन्न योजना माग्न थालेको सोरू–८ स्थानीय सुरेन्द्र शाहीले बताउनुभयो । ‘अहिले त सबै दलका ठूला नेताहरू गाउँमै छन्, कार्यकर्ताका गुनासा सुन्न, आश्वासन दिन र पार्टीका विभिन्न समितिहरू पुनर्गठन गर्न नेताहरूलाई भ्याइनभ्याई छ’, उहाँको भनाइ छ– ‘नेताहरू गाउँ पसेपछि कार्यकर्ता पनि उत्साही बनेका छन् ।

मुगुमा ३६ हजार ६ सय ५५ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लामा ६६ हजार ६ सय ५५ जनसंख्या भए पनि झन्डै आधाले मात्र मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा २७ हजार ४ सय ३५ मतदाता थिए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनकृष्ण बडुवालले झन्डै ५ वर्षको अवधिमा करिब १० हजार मतदाता थपिएको बताउनुभयो । चारवटा स्थानीय तह रहेको मुगुमा ४५ वडा छन् ।जिल्लाका सबै पार्टीले वडा–वडामा कार्यसमिति विस्तार गरिरहेका छन् । मतदातालाई आफ्ना नेतालाई सान्त्वना दिन, गुनासा सुनाउन तथा फूलमाला लगायर स्वागत गर्न भ्याई–नभ्याई भएको एकीकृत समाजवादीका कार्यकर्ता टेकबहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्