बन्दीपुर हिल्स रेसिडेन्स बन्ने



काठमाडौं (नेस) ।

तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ । नेपाली घर प्रालीले बन्दीपुर–२ मा पहिलोपटक आरामदायी हाउजिङ बनाउन लागेको हो । पर्यटकीय गन्तव्यका रूपमा चर्चित बन्दीपुरमा आवाससँगै घरवास पनि सञ्चालन गर्न मिल्ने गरी हाउजिङ निर्माण गर्न लागिएको कम्पनीका सञ्चालक आशुतोष प्रधानले जानकारी दिनुभयो ।

नेपाली मौलिकता झल्किने तरिकाले नयाँ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले हाउजिङ परियोजना ल्याइएको कम्पनीले जनाएको छ । बन्दीपुर बजारभन्दा केही टाढा निर्माण गर्न लागिएको हाउजिङ परियोजनाले थ्रीस्टार होटेलसरहको सेवा र सुविधा प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

पर्यटकीय क्षेत्र भएकाले उक्त घर ‘होमस्टे’का रूपमा पनि प्रयोग गर्न सक्नेछन् । उहाँले भन्नुभयो –कम्पनीले सात रोपनी जमिनमा १० वटा लक्जरियस हाउजिङ बनाउन लागेको हो । सम्पूर्ण घर निर्माण गर्दा करिब १८ करोड खर्च हुने अनुमान गरेको कम्पनीले त्यहाँका घर चार आना तीन पैसादेखि साँढे १० आनासम्ममा निर्माण गर्ने भएको छ ।

साढे दुईतल्लाको घर निर्माणमा आधुनिक तथा परम्परागत शैली अपनाइने र त्यहाँ अन्य हाउजिङमा जस्तै सबै सेवा सुविधा उपलब्ध गराइने भएको छ । दश वटा हाउजिङ मध्ये हालसम्ममा पाँच वटा बिक्री भइसकेको कम्पनीका सञ्चालक प्रधानले बताउनुभयो ।

हाल उक्त हाउजिङ निर्माणका लागि आवश्यक जग्गा मिलाउने र कित्ताकाटको काम भइरहेको कम्पनीले जनाएको छ । एकैपटक सम्पूर्ण घर निर्माण गरी २०८० को वैशाख १ गतेभित्र घरधनीलाई हस्तान्तरण गर्ने योजनामा कम्पनी छ । चार आना तीन पैसामा बन्ने घरको मूल्य रु एक करोड ३० लाख र अधिकतम मूल्य एक करोड ८० लाख निर्धारण गरिएको छ । बढीक्षेत्रफलको जमिनमा बन्ने घरको सोहीअनुसार मूल्य तय हुने बताइएको छ ।

उक्त घरमा भान्सा कोठा, पूजा कोठा, एटेच बाथरुमसहितका पाँच वटा बेडरुम हुनेछन् । नमूना किचन, डाइनिङ र स्टोरका साथै व्यक्तिगत कम्पाउन्ड पनि बनाइने र हाउजिङभित्र चिल्ड्रेन पार्क, स्विमिङ पुल र सम्मेलन कक्ष, पार्किङलगायत सुविधा पनि राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्