पर्यटन प्रवर्द्धनको लागि चिया खेती



खोटाङ ।

सरकारले सय गन्तब्यमा राखेको मुन्धुम पदमार्गको शुरुवाती बिन्दुमा चिया खेती शुरु गरिएको छ । कृषि पर्यटनमा जोड दिँदै आएको खोटाङको साकेला गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको तावा भञ्ज्याङ क्षेत्रमा चिया खेती शुरु गरेका हुन् ।

साकेला गाउँपालिकाको खिदिमामा पर्ने उक्त रमणीय क्षेत्र भोजपुरको पान्धारेसँग सिमा जोडिएको छ । पर्यटकीय स्थलमा थप सौन्दर्य थप्दै स्थानीयलाई रोजगारी सिर्जना गर्ने तथा आम्दानीको श्रोत बनाउने लक्ष्यका साथ चिया खेती थालिएको जनाईएको छ । गाउँपालिकाको दुई लाख रुपैंयाँ अनुदानमा स्थानीय काल्चिङ कृषक समुहले नर्सरी निर्माण गरि उत्पादन गरेको चियाको बेर्ना लगाईएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो ।

कृषक समुहले उत्पादन गरेको एक लाख बेर्नामध्ये ८ हजार बेर्ना पहिलो चरणमा लगाईएको शाखा प्रमुख राईले बताउनुभयो । यो वर्ष पनि चिया खेती विस्तार गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत २० जना स्थानीयलाई सय दिन रोजगार प्रदान गरी उक्त बेर्ना लगाइएको गाउँपालिकाले जनाएको छ । खाली रहेको जग्गा हरियाली र रमणीय बनाउँदै आम्दानी पनि लिन सकिने हुनाले चिया लगाइएको हो । आफ्नै लगानीमा उत्पादित चियाको बेर्ना उपयोग गर्दै स्थानीयलाई स्वरोजगार बनाउनु पनि गाउँपालिकाको लक्ष्य रहेको छ । गाउँपालिकाले चिया खेति लगाएपछि स्थानीय समेत सो क्षेत्रमा चिया लगाउन उत्साहित बनेका छन् ।

चिया लगाइएको क्षेत्रलाई मुन्धुम पदमार्ग र दिक्तेल–साप्सु–खिदिमा–पान्धारे सडकले छोएको छ । उक्त स्थलमा हाल सहिदपार्क समेत बनिरहेको छ । तावाभञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले करोडौंको लगानीमा कृतिम तावा ताल निर्माण गर्ने डीपीआर यसअघि नै तयार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्