हेलिटुरबाट २ सय ५० ले गरे खप्तड अवलोकन



डोटी ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा २ सय ५० जना पर्यटकले भ्रमण गरेका छन् । खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्स प्रालिले यही फागुन १ गतेबाट सञ्चालन गरेका थिए ।

हेलिटुर मार्फत दुई जना विदेशी पर्यटक र २ सय ४८ जना आन्तरिक पर्यटक खप्तड अवलोकनका लागि पुगेका हुन् । उक्त हेलिटुरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोली पनि खप्तड अवलोकनका लागि पुगेको थियो । खप्तड राष्ट्रिय निकुञ्ज र प्रमुख धार्मिकस्थल बडीमालिकाका लागि हेलिटुर सञ्चालन गरिएको भए पनि अत्याधिक हिउँका कारण बडीमालिकामा हेलिकोप्टर ल्यान्ड गर्न नसकिएको आयोजक संस्थाले जनाएको छ ।

चिसोको समयमा सुनसान जस्तै देखिने खप्तड क्षेत्रमा यसपटक हेलिटुर सञ्चालन भएपछि पर्यटकलाई अवलोकनका लागि निकै सहज भएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । ‘यो वर्ष खप्तडमा निकै हिमपात भएको थियो, पर्यटकलाई पैदल यात्राका लागि समस्या थियो, हेलिटुरको व्यवस्था गरिएपछि सहज भयो, धेरैले खप्तड अवलोकन गर्न पाए ।’ –उहाँले भन्नुभयो । कोरोना महामारीले दुई वर्षदेखि थला परेको यस क्षेत्रको पर्यटन क्षेत्रमा हेलिटुर सञ्चालन गरिएपछि पर्यटक भित्र्याउनका लागि पनि निकै सहज भएको कलेलको भनाइ थियो ।

बर्खायामभन्दा अघि पनि अर्को चरणमा हेलिटुरको आयोजना गरिने खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताउनुभयो । ‘अहिले कोरोना सङ्क्रमण पनि घटेको छ, खप्तडमा पर्यटक भित्र्याउनका लागि हामीले अर्को चरणमा हेलिटुर आयोजना गर्दै छौं, यो वर्ष ठूलो संख्यामा पर्यटकलाई खप्तड भित्र्याउने हाम्रो लक्ष हो ।’ –उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्ड तथा माउनटेन हेलिकोप्टर प्रालिसँगको समन्वयमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश, उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम तथा होटल व्यवसायी महासंघ सुदूरपश्चिमको सहकार्यमा खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर्सले हेलिटुर सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्