हुम्लाको पर्यटन प्रवर्द्धनमा जोड दिन्छु : मन्त्री कार्चेन



हुम्ला ।

कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातवरणमन्त्री छिरिङ डम्डुल लामा ‘कार्चेन’ ले पर्यटन प्रवद्र्धनमा आफ्नो मुख्य धेय रहेको बताउनुभएको छ । गृह जिल्ला हुम्लाको सिमकोटको एक कार्यक्रममा उहाँले सो बताउनुभएको हो ।

हुम्लामा टुरिजमको प्रशस्त सम्भावना रहेको औंल्याउँदै मन्त्री लामाले जिल्लाको पर्यटन विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । ‘जिल्लाको शीर ठाडो पार्ने तथा गर्व गर्ने गरी काम गर्नेछु’, उहाँ भन्नुहुन्छ– ‘मेरो कार्यकाल ६ महिनाको छोटो अवधि भए पनि काम फत्ते गर्नेछु ।’ लामाले हुम्लीवासीको साथसहयोगबिना भने आफूले केही गर्न नकक्ने जिकिर गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा (समाजवादी) पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लोकबहादुर हमालले नवनियुक्त मन्त्री कार्चेनलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्नुभएको थियो ।

जिल्ला समन्वय सभाको हलमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्लाका जिल्ला इन्चार्ज विजय भण्डारी ‘प्रतिरोध’, माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैशी, कर्णाली प्रदेश कमिटि सदस्य जुम्कीत लामा, जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्