सहकारीद्वारा ४ सय ५० बाख्रा वितरण



जाजरकोट ।

जाजरकोटका तिनवटा पालिकामा बाख्रा वितरण गरिएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालयको सहयोगमा छेडागाड नगरपालिका ५, जुनीचाँदे ११ र बारेकोट गाउँपालिका ६ मा सहकारी संस्थाका सेयर सदस्यलाई बाख्रा वितरण गरिएको हो।

विपन्न गरिब सीमान्तकृत बर्गको आयआर्जनमा सुधार ल्याउन छेडागाड ५ को समाज सुधार कृषि सहकारी संस्था, जुनीचाँदे ११ को जुनी महिला बहुउद्देश्यीय सहकारी संस्था, बारेकोट ६ को जीवन दृष्टि कृषि तथा पशुपालन सहकारी संस्थाको आयोजना पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको सहयोगमा बाख्रा वितरण गरिएको थियो।

समाज सुधार सहकारी संस्थाले ५० जना, जुनी महिला बहुउद्देश्यीय सहकारी संस्थाले १ सय पचास र जीवन दृष्टि कृषि तथा पशुपालन सहकारी संस्थाले १० जना सेयर सदस्यलाई बाख्रा वितरण गरेको छ।

कर्णाली प्रदेश पशुपछि विकास मन्त्रालयबाट प्राप्त १३ लाख र ३ लाख ९ हजार सेयर सदस्यको लागत साझेदारीमा बारेकोट ६ को जीवनदृष्टि कृषि तथा पशुपालन सहकारी संस्थाका १० जना सेयर सदस्यलाई व्यावसायिक बाख्रा पालनबाट आत्मनिर्भर बनाउन लोकल जातका १० वटाको दरले बाख्रा वितरण गरेको छ।

संघीय सरकारबाट प्राप्त ३५ लाख प्रधानमन्त्री आधुनिकीकरण परियोजना बाख्रा ब्लक कार्यक्रम जुनी महिला बहुउद्धेश्यीय सहकारी संस्था, जुनीचाँदे ११ ले बोयर जातका बाख्रा र बोका वितरण गरेको छ। त्यस्तै, संघीय सरकारबाट प्राप्त ३० लाख बजेटबाट छेडागाड ५ मा बाख्रा ब्लक स्रोत केन्द्र स्थापना गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले बताउनुभयो।

कृषि सहकारीमार्फत ग्रामीण भेगका नागरिकको जीवनस्तर सुधार ल्याउने व्यवसाय पशुपालन, कृषि पेसालाई व्यबसाय मुखी बनाउन गरिब विपन्न परिवारलाई कृषि सहकारीसंस्थामा आबद्ध सेयर सदस्यलाई बाख्रा वितरण गरिएको जुनीचाँदे गाउँपालिकाका कार्यबहाक अध्यक्ष शिवा आचार्य बस्नेतले बताउनु भयो।

जीवनदृष्टि कृषि तथा पशुपालन सहकारी संस्थाका अध्यक्ष सुशिलराज बस्नेतले पशुपालन गर्दै आएका किसानलाई आत्मनिर्भर आयआर्जनमुखी बनाउन सहकारी संस्थामा आबद्ध गरी १० जना सदस्यलाई १० वटका दरले बाख्रा वितरण गरेको बताउनुभयो।

२५ जना सेयर सदस्यले २०७७ मंसिरमा दर्ता गरेको सहकारी संस्थामा ४ सय सदस्य आबद्ध छन्। मासिक एक हजार बचतबाट ३१ लाख ७ हजार ९ सय बचत, ३० लाख सदस्यमा प्रवाह गरेको बताउँदै कृषि पेसामा आबद्ध सदस्यलाई बाख्रा वितरण गरेको उहाँको भनाइ छ।

प्रदेश सरकार पशुपन्छि विकास मन्त्रालय र संघीय सरकारबाट चालु आर्थिक वर्षको वार्षिक स्वीकृत प्राप्त बजेटबाट कृषि पशुपालन सहकारी संस्थालाई पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले बारेकोट, जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका विभिन्न वडामा गरिएका बाख्रा ब्लक, स्रोत केन्द्र स्थापनाले नागरिकको जीवनस्तर सुधार हुने विश्वास व्यक्त गर्दै नितान्त आफनो लगानी सम्झेर बाख्रा पालन व्यवसाय गरी लाभ लिन पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले व्यवसायीलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्