मकैको पकेट क्षेत्र बनाउँदै वालिङ



स्याङ्जा ।

कृषिमा आत्मनिर्भर बनाउन वालिङ नगरपालिकाले मकैको बिउ वितरण गरेको छ। नगरपालिकाले मकैको पकेट क्षेत्र बनाउन अरुण–२ नामक मकैको बिऊ वितरण गरेको हो। खाद्यान्न वालीको उन्नत बिउ उपयोगमा मुल्य अनुदान कार्यक्रम मार्फत वालिङलाई मकैको बिउ उत्पादनको क्षेत्र बनाउने उदेश्यले बिउ वितरण गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले यो सिजनमा २ हजार ५ सय केजी अरुण–२ नामक मकैको बिउ किसानलाई वितरण गरेको छ।

धान फल्ने खेतमा ९० दिन भित्र तयार हुने यो मकै किसानका लागि निकै फलदायी हुने कृषिविज्ञहरुले बताएका छन्। मकैखेतीको लागि यहाँको माटो सुहाउदो भएकाले वालिङ नगरपालिकाको कृषि शाखाले मकै खेती छनोट गरेको जनाएको छ।

मकैको बिउ खोज्न अब बाहिर जान नपर्ने अभियानमा नगर लागेको वालिङ नगरपालिकाका लेखा प्रमुख ज्ञानप्रसाद अर्यालले बताउनुभयो। मकैखेतीको राम्रो सम्भावना रहेको वालिङलाई मकै पकेटक्षेत्र बनाउँदैछौँ लेखा प्रमुख अर्यालले भन्नुभयो, ञमकैको उत्पादनमा बृद्धि गरी मकै पकेट नगरीको रुपमा विकसित गर्दैछौं।

यसका लागि संघीय सरकारले सशर्ततर्फ ३५ लाख अनुदान समेत दिएको अर्यालले बताउनुभयो। पछिल्लो समय बाँदरको आतंकले गर्दा किसानहरुले मकै लगाउन छाडेका छन्। मकैखेती नै लोप हुने अवस्थामा जान थालेपछि बाँदरको समस्या हल गर्दै मकै संरक्षण अभियानमा किसानलाई उत्प्रेरीत गर्न नगरले यो योजना अगाडी सारेको लेखाप्रमुख अर्यालले बताउनुभयो।

वालिङ नगरपालिकाको भौगोलिक अवस्था अनुशार यहाँ ३ तहको तापक्रम रहेको छ। उच्च, मध्यम र समथर भागमा छुट्टाछुट्टै तापक्रम भएकाले मकै उत्पादनमा मौसम अनुकुल रहेको छ। छिटो पाक्ने र खाद्यतत्व पनि बढी हुने यो मकै बसन्ते मकैका नामबाट पनि परिचित छ। बसन्त ऋतुमा फल्ने मकै भएकाले पनि यस मकैको नाम वसन्ते मकै रहेको नगरपालिकाका कृषि शाखा प्रमुख सुवास अर्यालले बताउनुभयो।

अहिले १२ सय रोपनीमा यो मकै लगाउने छौं उहाँले भन्नुभयो, ‘गुणस्तरीय बिउ उत्पादन गरी मकै उत्पादनमा बृद्धि गर्ने लक्ष्य हाम्रो हो।’ अहिले सरकारको ५० प्रतिशत र किसानको ५० प्रतिशतमा मकैको बिउ वितरण भइरहेको छ। किसानको पनि मकैखेतीमा अपनत्व होस् भन्ने हेतुले ५० प्रतिशत लगानीमा किसानलाई सहभागी गराएको उहाँले बताउनुभयो।

नगरपालिकाले खेत र बारीमा फल्ने दुई जातको बिउ वितरण गर्ने योजना बनाएको छ। बारीमा फल्ने मनकामना–३ नामक मकै फागुनको अन्त्यतिर वितरण गर्दैछ। यो मकै भने १ सय ४२ दिनमा तयार हुने कृषि शाखाले जनाएको छ। नगरपालिकाले बिउकै संरक्षण गर्न ९, ११ र १४ नम्बर वडालाई रोजेको छ। गुणस्तरीयतासँगै उत्पादकत्वमा बृद्धि गर्न ३, ४ बर्षमा मकैको बिउ भने फेरिरहनुपर्ने कृषि शाखाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्