प्रशासनिक जागिरे जीवन भनेको भौतिक हो : टीका भण्डारी



गीतकार, संगीतकार तथा गायक टीका भण्डारीले नेपाली संगीत क्षेत्रमा आधुनिक, फिल्मीलगायत विभिन्न विधाका करिब आठ सय गीतमा संगीत दिएर भिन्न परिचय स्थापित गरेका छन्। बहादुर, गाउँले, परदेशी कान्छा, जित, मजदुर, नातेदार, भाइ, लक्ष्मण रेखा, पिँजडा, सन्तानको मायालगायतका करिब डेढ दर्जन फिल्मका गीतमा संगीत दिएका टीकाद्वारा संगीतबद्ध गोली सिसाको, गाउँले हुँ म गाउँले, म त हजुर भ्यानको ड्राइबर, मायालुको मुहार हँसिलो, हजुर, सुनको थालमा सुनै खाए पनि, संसार नै भुले मैले माया बसेपछि लगायतका थुप्रै गीत हिट छन्। रेडियो नेपालको बोर्ड सदस्य तथा कार्यक्रम महाशाखा प्रमुखसमेत रहेका उनले रेडियो पत्रकारिता नामक पुस्तक पनि लेखेका छन्। नेपाली गीत संगीतका विविध विषयमा उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ?
रेडियो नेपालको कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारीमा छु। कार्यालयको विभिन्न जिम्मेवारी तथा गीत संगीतका कामहरू नै गरिरहेको छु।

जागिरे जीवनसँगै गीत संगीतलाई अघि बढाउन कत्तिको चुनौतीपूर्ण छ?
गीत संगीत भनेको आत्माबाट प्रस्फुटन हुने सिर्जना हुन्। प्रशासनिक जागिरे जीवन भनेको भौतिक हो। सँगै सांगीतिक जीवन पनि समायोजन गरेर अघि बढिरहेको छु।

सांगीतिक यात्रालाई कसरी सम्झनुहुन्छ?
रेडियो नेपालमा २०४४ सालमा स्वर परीक्षा पास गरेँ, वाद्यवादकको रूपमा रेडियो नेपाल प्रवेश गरेँ। भ्वायलिन, गितार, मेन्डोलिनजस्ता वाद्यवादन सामग्री बजाउँथें। त्यतिबेला मेन्डोलिन बजाउने खासै कोही थिएनन्। गोपाल योञ्जन, नारायण गोपाल, तारादेवी, नातिकाजी, शिव शंकरलगायत प्रायः अग्रज श्रष्टाका विभिन्न गीतमा वाद्यवादनको काम गरेँ। त्यसपछिका दिनमा किरण प्रधान, सुक्मित गुरुङ, रवीन शर्मालगायतको गीतमा संगीत गरेँ। यही क्रममा २०५५ सालमा फिल्म बिहानीमार्फत फिल्मी संगीतमा पाइला राख्ने अवसर मिल्यो। फिल्म नचले पनि फिल्ममा मैले संगीत गरेका गीतबाट राम्रो फिडब्याक आयो। त्यसबाट संगीत क्षेत्रमा झन उत्प्रेरणा मिल्यो र विभिन्न फिल्मका लागि संगीत भरेँ। आधुनिक तथा फिल्मी गीतमा संगीतमा सफलता पाइरहँदा २०६१/०६२ सालतिर कार्यक्रमको लागि अमेरिका पुगेँ। त्यहाँ गएर पनि गीत संगीतमै सक्रिय भइरहँदा ५/६ वटा एल्बम निकालेँ।

फिल्म तथा आधुनिकमा कुनचाहिँ विधा प्रिय लाग्छ?
आधुनिक विधा प्रिय लाग्छ। आधुनिक संगीत सिर्जना तथा गायनमा बेग्लै खालको मिठास हुन्छ। आथिर्क पाटोको हिसाबले पनि आधुनिक गीतमा राम्रो छ।

तपार्इं गीतकार कि, संगीतकार कि गायक?
हुन त म संगीतकारको रूपमा संगीत क्षेत्रमा आएको हुँ, गीत पनि गाउँछु। साथै, शब्द पनि रचना गर्छु, छन्द पनि बुझ्छु। ०५२ सालदेखि प्यारोडी गायकको रूपमा पनि सक्रिय भएँ। तीतो सत्य, मेरी बास्सै, जिरे खुर्सानीजस्ता हास्य सिरियलका कलाकार साथमा विभिन्न कार्यक्रममा म आफैं प्यारोडी गीत बनाएर गाउँथे। बेलाबेलामा अन्य गीत गाएर सामाजिक सञ्जालमा भिडियो राख्ने गरेको छु। ती गीत सुनेर धेरैले तपाईंमा नारायण गोपाल, गोपाल योञ्जनको स्वर जीवित पाएँ भन्ने खालका प्रतिक्रिया दिनुहुन्छ। बेला बेला म आफैँ पनि म गायक हुँ कि संगीतकार भनेर सोच्ने गर्छु। एउटै मान्छे धेरै विधामा काम गर्दा केमा फोकस गर्ने भन्ने हुँदो रहेछ। तर, बढीचाहिँ संगीतमै फोकस हुने गर्छु।

तपाईंको गायन र संगीत सिर्जना सेलाएको हो?
यथार्थ कुरा गर्नुपर्छ। ३/४ वर्ष अमेरिका आवत–जावत गर्दा यो पनि अमेरिका भासिने भयो भन्ठानेर फिल्मका संगीत सिर्जनामा कटौती गरियो। तर, मेरो अमेरिका बस्ने सोच थिएन र फर्केर आएँ। यो एक प्रकारको देशभक्ति नै हो। केही वर्षयता भने रेडियो नेपालमा आफ्नो जिम्मेवारी सम्हाल्नुपर्ने भएका कारण संगीत सिर्जनामा फोकस गर्न समय मिलेको छैन। त्यही कारणले पनि संगीत सिर्जनामा शिथिलता आएकै हो। रेडियो नेपालबाट अवकाश हुन तीन महिना बाँकी छ। त्यसपछि भने संगीत सिर्जनामा समय दिनेछु। २०६० सालमा राजनीतिशाष्त्रमा महेन्द्र विभूषण पदकसहित स्नातकोत्तर तह उत्तीर्ण गरेको थिएँ। अवकाशपछि विद्यावारिधि गर्ने योजना छ।

स्नातकोत्तर तहमा राजनीति शास्त्रमा टियुको गोल्ड मेडल प्राप्त गर्नुभयो। राजनीतिमा जाने विचार छ कि?
कुनै पनि दर्शन बुझ्नको लागि त्यो विषय अध्ययन गर्ने हो। मैले राजनीतिक दर्शन बुझ्न राजनीतिशाष्त्र पढेँ। राजनीतिशाष्त्र पढेर राजनीति नै गर्नुपर्छ भन्ने छैन। राजनीतिसँगै मैले संगीतको पनि अध्ययन गरेँ। सानैदेखि गायनमा रुचि थियो। स्कुलमा हुँदा गायनमा रुचि राख्थेँ। त्यहाँका कार्यक्रममा भाग लिएर प्रायः प्रथम हुन्थेँ। सबैले स्वर मिठो छ, गीत संगीतमा लाग्नुपर्छ भन्थे। त्यहीअनुसार संगीत क्षेत्रमै लागेर अहिले यो स्थानमा छु। अहिलेसम्म राजनीतिमा छैन। तर, भोलिका दिनमा मलाई कुनै राजनीतिक दलले मेरो क्षमता र योग्यता देखेर अफर गर्यो भने राजनीतिमा आउन पनि सक्छु।

गीत गायन, संगीत सिर्जना र कार्यक्रम सञ्चालनमा कुन सजिलो?
तत्कालीन हिसाबले कुरा गर्दा त कार्यक्रम सञ्चालनमार्फत सीधै दर्शकमाझ पुग्न सकिन्छ र तत्कालै दर्शकको फिडब्याक आइहाल्ने भएकाले कार्यक्रम सञ्जालनमा नै सजिलो र आनन्द लाग्छ, तर श्रष्टालाई लामो समयसम्म सम्झिइराख्ने माध्यम भनेको गीत–संगीत नै हो। हामी एक सय दुई वर्षअघि सेतुरामले गाएको राजमती कुमती जिकेवास पिरती अहिले पनि गुनगुनाउँछौं। त्यस्तै, मैले त्यो बेलामा संगीत गरेको गोली सिसाको गीतमा अहिले पनि साना नानीहरू नाचिरहेका छन्। पछिसम्म दर्शकको मनमा बसिरहने भएकाले गीतहरूलाई कालजयी भनिन्छ। यो हिसाबले चाहिँ गीत गायन तथा संगीत सिर्जनामै आनन्द लाग्छ।

अहिले रेडियो नेपाल कत्तिको सुन्छन्?
यो प्रश्नबाटै अहिले यतिका धेरै एफएम रेडियो, टेलिभिजन छ रेडियो नेपाल कसले सुन्ला र भन्ने भाव आउँछ। जाइकालगायत विभिन्न संस्थाले गरेको अध्ययन र अनुसन्धानअनुसार अहिले पनि मानिसहरू विश्वसनीयताको लागि रेडियो नेपाल नै सुन्ने गरेको पाइन्छ। अहिले देशका ८५ प्रतिशत भूभागमा जनताले रेडियो नेपाल सुन्ने गरेको पाइन्छ। हाल देशका विभिन्न ठाउँमा रेडियो नेपालका २६ रिले स्टेसन छन्। सर्टवेभ, एफएम ब्यान्डका साथै फेसबुक अनलाइन, रेडियो एप्स तथा इन्टरनेटमार्फत पनि सुन्न सकिन्छ। हामीले सातै प्रदेशमा रेडियो नेपालको प्रदेश प्रसारण गरिहेका छौँ। छिट्टै नै जापानको एक संस्थाको सहयोगमा ओटीटी प्लेटफर्ममा पनि जाँदैछौँ। साथै, अब टेलिभिजनमा पनि रेडियो नेपाल आउँदैछ। अन्य एफएम रेडियोका कारण व्यावसायिक रूपमा केही न केही असर भए पनि श्रोतामाझ रेडियो नेपाल नै लोकप्रिय छ।

पहिले पहिले जस्तो हिजोआज रेडियो नेपालले गायक–गायिकालाई बोलाएर पारिश्रमिक दिएर गीत रेकर्ड गर्छ कि गर्दैन?
अहिले पनि त्यसरी गीत रेकर्ड गरिन्छ। तर, कोरोना महामारीको कारण स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने भएकाले पहिलेजस्तो व्यवस्थित रूपमा धेरै गीत उत्पादन भएका छैनन्। थोरै मात्रामा केही गीत तथा धुनचाहिँ रेकर्ड गरिएका छन्।

रेडियो नेपालमा कुन–कुन विधाका कुल कति गीत संग्रह होला?
रेडियो नेपालमा २००७ साल भन्दा अघिदेखि हालसम्मका विभिन्न समयका गायक गायिका बारा स्वरबद्ध लोक, पप, आधुनिकलगायत विभिन्न भाषाभाषी, हिन्दी, अग्रेजी, शाष्त्रीय, पुरातात्विक गरी करिब ५० हजार गीत संग्रहित छन्। ती गीत डिजिटल अर्काईभको प्रक्रियामा छन्।

रेडियो नेपाललाई माथि उठाउन तपाईंले के गर्नुभयो?
पहिलो कुरा त हामी रेडियो नेपालमा टेप लाइब्रेरीमा भएका सबै गीत संगीतलाई डिजिटल अर्काईभ गर्ने प्रक्रियामा छौँ । केही समयअघि जर्मनीमा आयोजना भएको डिजिटल वर्कसपमा सहभागी भएँ, जहाँ मसहित ९२ देशका अर्काईभ प्रमुखको सहभागिता थियो। त्यहाँबाट १२ जना एक्स्पर्ट आएर रेडियो नेपालका कर्मचारीलाई डिजिटल अर्काइभसम्बन्धी तालिम दिए। जसअनुसार हालसम्म ६०/७० हजार महत्वपूर्ण श्रव्य सामग्री डिजिटल अर्काइभ गरिएको छ। जसमा ४०/४२ हजार गीत संगीत र अन्य महत्त्वपूर्ण भाषण रहेका छन्। नेपालमा कपी राइटको सम्बन्धमा विभिन्न समस्या र छलफल भइरहेकोमा मलेसियामा भएको कपी राइटसम्बन्धी तीन दिवसीय वर्कसपमा सहभागी भएर नेपालको कपी राइटको अवस्थासम्बन्धी तीन पृष्ठको कार्यपत्र प्रस्तुत गर्नुका साथै आफ्नो अनुभव पनि प्रस्तुत गरेँ। वर्कशपको अनुभवपछि कपरिाइटको विषयमा नेपालमा भएका समस्या समाधान गर्न धेरै सहयोग हुने पाएँ।

संगीत क्षेत्रमा सक्रिय नयाँ पुस्ताको कामलाई कसरी नियालिरहनुभएको छ?
पछिल्लो समय संगीत क्षेत्रमा एकदमै राम्रा कलाकार आएका छन्। अहिले लिटल च्याम्पजस्ता कार्यक्रमबाट हेर्दा थाहा भयो कि नयाँ पुस्ताका साना–साना नानीहरू निकै क्ष्ँमतावान् रहेछन्। उनीहरू पूरै नियम संरचना र सिद्धान्तअनुसार गाउन सक्ने रहेछन्। उनीहरूलाई संगीतको राम्रो शिक्षा दिने हो भने अबको १० वर्षमा एक्स्ट्रा अडिनरी भएर निस्किन्छन् र लोकप्रिय पनि हुन्छन्। हाम्रोमा कसरी मिठो गाउने र लोकप्रिय हुने भन्नेमा मात्र जोड दिएको पाईन्छ। तर, भारतमा हेर्ने हो भने लामो समयसम्म शाष्त्रीय संगीतमा अध्ययन गरेर माझिएर, खारिएर उस्ताद बनेर आएको पाइन्छ। जसले गर्दा लोकप्रियताका साथै संगीतको राम्रो ज्ञानसमेत हुन्छ। हाम्रोमा संगीत सिक्न गुरुकुलहरूको अभाव छ। स्कुलिङमा पनि म्याचुरिटी पाइँदैन। गीत गाउने भनेको लोकप्रिय हुनका लागि भन्ने चेतनाबाट अगाडि बढी रहेको पाईन्छ। तर, मीठो स्वरका साथै संगीतको ज्ञान भयो भने अझ राम्रो हुन्छ।

अहिलेको सांगीतिक बजार कस्तो छ?
संगीतको बजार राम्रो छ। अहिले क्यासेट र सिडीको जमाना छैन। पेन ड्राइभको जमाना पनि गइसक्यो। अहिले चिपको जमाना छ। अहिले रोयल्टी तथा युट्युब कमाइ गर्ने अप्सनको रूपमा छन्। प्रविधिको हिसाबले पनि धेरै अघि बढिसकेको छ भने आथिर्क मुनाफाको हिसाबले राम्रै छ।

प्रतिक्रिया दिनुहोस्