असिना पानीले पोखरामा ११ करोड क्षति



काठमाडौं (नेस) ।

पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपियाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरू नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताउनुभयो ।

कडरियाले राज्यले कृषकलाई दिएको बिमा सुविधासमेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताउनुभयो । उहाँले असिनाका कारण सो वडाहरूमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलुलगायतका बालीमा पूर्ण क्षति पुगेको छ जानकारी दिनुभयो । उहाँका अनुसार असिनापानी परेको दोस्रो दिनसम्म पनि असिना पग्लिएको छैन ।

असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएको उदय अर्गानिक कृषि फार्मका २ वटा भैंसी मरेका छन् । फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेका कारण भैंसी मरेका हुन् । त्यस्तै, तरकारीका टनेलहरू भत्किएका छन् । गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्