पर्यटकको पर्खाइमा म्याग्दीको ढोल्ठान राजदरबार (तस्बिरसहित) 



म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–९, घतानस्थित ढोल्ठान गाउँको शिरमा अवस्थित ऐतिहासिक ढोल्ठान राजदरबार पर्यटकको पर्खाइमा छ । पर्यटकीय सम्भावना बोकेको समुन्द्री सतहदेखि १ हजार ९ सय मिटरको उचाइमा पर्ने ढोल्ठान राजदरबारले अहिले पर्यटकहरूलाई पर्खिरहेको हो ।

नेपालमा बाइसे–चौबीसे राज्य रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको राजधानी ढोल्ठानमा तोकिएको किम्बदन्ती पाइन्छ । यसअघि बेनी नगरपालिका–५, पुलाचौरको गाजने गाउँभन्दा माथि डढेकोट भन्ने स्थानमा पर्वत राज्यका राजा दिलिपबम मल्ल (डिम्ब)को दरबार थियो । त्यहाँ भीषण बज्रपात परेर दरबारमा आगलागी भएपछि राजा डिम्बले ढोल्ठानमा दरबार बनाएर त्यहीँ बसाई सरेका थिए ।

राजा डिम्बले ढोल्ठानबाटै पर्वत राज्यको राजकाज सञ्चालन गरेको हुँदा त्यस बेला ढोल्ठानलाई मुख्य र म्याग्दीको बेनीलाई सह–राजधानी मानेका थिए । दरबार भग्नावशेषमा रूपान्तरण भएपछि २०३१ सालमा स्थानीयले सोही ठाउँमा कोत मन्दिर स्थापना गरेर बडादसैँमा नवदुर्गाको पूजाआजा हुँदै आएको छ भने बोका र राँगाको बलि दिने गरिएको बेनपा–९, घतानका वडा सदस्य भेषबहादुर सेनले जानकारी दिनुभयो । परापूर्व कालमा दरबार इट्टा, झिँगटी र सालको काठबाट बनाइएको थियो ।

अहिले कोत मन्दिर भएको ठाउँमा राजाको दरबार तथा त्यसको नजिकै काजी (मन्त्री)को दरबारका अवशेष रहेको ढोल्ठानका स्थानीयवासी समेत रहनुभएका वडा सदस्य सेनले बताउनुभयो । कोत मन्दिर र काजीको दरबार रहेको ठाउँमा स्थानीयले धर्मशाला बनाएका छन् । दरबार नजिकै विद्यालय रहेको ठाउँमा राजाले हाँस पाल्ने पोखरी समेत रहेको किम्बदन्ती छ । ढोल्ठान राजदरबारमा हाल दरबारका केही अवशेषहरू मात्रै भेटिन्छन् । दरबार जीर्ण बन्दै जान थालेपछि त्यहाँ रहेका काठ पात र फर्निचरहरू स्थानीयले लगेको बताइएको छ ।

यता पश्चिम क्षेत्रबाट ढोरका राजाले ढोल्ठानमा आएर ठाना स्थापना गरेको हुँदा अनन्तकालमा ढोरठाना भन्दाभन्दै अपभ्रंश भएर ढोल्ठान नाम रहन गएको बताइन्छ । पर्वत राज्यको राजधानी रहेको ढोल्ठानमा बस्दा/रहँदा राजा जाडोको समयमा हालको म्याग्दी सदरमुकाम बेनी बजार र गर्मी याममा ढोल्ठानमै बस्ने गरेको इतिहास भेटिन्छ । त्यसै बखत ‘कहिले राजा ढोलीठाना, कहिले राजा बेनी’ भनेर गीत गाउने गरेको बुढापाकाहरू सुनाउँछन् ।

नेपालमा तत्कालीन बाइसे–चौबीसे राज्यहरूमध्ये ऐतिहासिक पर्वत राज्य निकै शक्तिशाली मानिन्थ्यो । नेपाल एकीकरणका अभियानकर्ता पृथ्वीनारायण शाहले नेपालमा रहेका स–साना राज्यको एकीकरण सुरु गरेको समयमा पर्वत राज्यमा आक्रमण गर्ने क्रममा उनका फौजहरू पर्वतको लडाइमा हारेपछि अन्यत्र राज्य जिते पनि पर्वत राज्यमा उनले हार बेहोर्नुपरेको थियो ।

ढोल्ठान राजदरबारको डिलबाट धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रेका साथै मनोरम हिमशृङ्खलाहरू देखिन्छन् । म्याग्दीको साबिक १६ वटा गाविसहरू प्रत्यक्ष देख्न सकिने यस ठाउँबाट छिमेकी जिल्ला पर्वतको मल्लाज, सालिजा, धाईरिङ, पाङ तथा बागलुङ जिल्लाको धार्मिक क्षेत्र पञ्चकोट लगायतका स्थान तथा ग्रामीण बस्तीहरूको सौन्दर्यताको अवलोकन गर्न पाइन्छ ।

ऐतिहासिक महत्त्वको ढोल्ठान राजदरबारको प्रचारप्रसार तथा संरक्षण गर्नका लागि बेनी नगरपालिका र वडा कार्यालयबाट आवश्यक पहल थालिएको घतानका वडा अध्यक्ष बेलबहादुर चोखालले बताउनुभयो । पछिल्लो समय दरबार क्षेत्रमा भौतिक संरचनाहरूको निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्