एमसीसी सत्तासीन दलको ठगी खाने भाँडो : ओली

0
Shares

भक्तपुर ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासीन दलहरूले एमसीसीलाई ठगी खाने भाँडो बनाएको आरोप लगाउनुभएको छ । सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले ५ वर्षअघि अहिले सरकारमा बस्नेले नै एमसीसी सम्झौता गरेको तर अहिले संसद्मा पुर्याउनुको साटो बाहिर बुरुकबुरुक उफ्रने गरेको टिप्पणी गर्नुभयो ।

उहाँले एमसीसीको सम्झौतापछि चुनावबाट एमालेको सरकार बनेको बेलामा एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौं भनेर अहिलेका सत्ता गठबन्धन दलहरूले पारित गर्न नदिई पर सार्दै गएको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले सरकारमा रहँदा संसद्मा एमसीसी पेस गरौं भनेका थियौं, संसद्ले नै निर्णय गर्छ, संसद्मा हामीले छानेर पठाएका जनप्रनिधिहरूले नै निर्णय गर्छन्, निर्णय गर्ने ठाउँमा त पुर्याइदिऔं भन्दा उनीहरूले संसद्मा पुर्याउन दिएनन्, अहिले पनि निर्णय गर्ने ठाउँमा पुर्याउन सकेका छैनन्, बाहिर बुरुक्क–बुरुक्क उफ्रिन्छन् । संसद्मा नपुर्याउने बाहिर बुरुक्क बुरुक्क उफ्रिने ?’

ओलीले सरकारले एमसीसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध नै बिग्रिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘एमसीसी विवादका कारण ठूला शक्ति राष्ट्रहरू नेपाल खेल मैदान हुने गरी भनाभनमा उत्रिन थालेका छन् । देश ठूला राष्ट्रको मसल लडाउने ठाउँ हुन थाले पनि सरकार भने सजक छैन ।’

कार्यक्रममा उहाँले अहिलेको सत्तारूढ गठबन्धनको आयु बढीमा एक वर्ष रहेको टिप्पणी गर्दै अब एक वर्षभित्र संघीय संसद्को चुनाव हुने र चुनावपछि एमालेले वर्तमान सरकारलाई विस्थापित गर्ने दाबी गर्नुभयो । उहाँले स्वार्थी गठबन्धनलाई आगामी संघीय संसद्को चुनावमा एमालेले पानीमुनि गए पनि नछाड्ने उल्लेख गर्दै भन्नुभयो– ‘संसारभरिका जोतिषीलाई एकै ठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छन्– यो सरकारको आयु बढीमा एक वर्ष हो ।’अहिलेको सत्ता गठबन्धनमा आबद्ध पाँच दललाई ‘गिद्ध’को संज्ञा दिँदै ओलीले भन्नुभयो– ‘धुरीमा एउटै गिद्ध बस्यो भने अशुभ मानिन्छ, यहाँ त पाँच–पाँचवटा गिद्ध बसेका छन्, देशको हालत त्यसै यस्तो भएको होइन, अब देशलाई सुधार्नुपर्छ ।’

ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्ष रूपमा सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गर्दै एमाले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न अह्वान गर्नुभयो ।ओलीले अब सर्वोच्च अदालतको नभई चुनावी जनअदालतको निर्णयमा एमाले अगाडि बढ्ने जिकिर गर्दै भन्नुभयो– ‘ऊ बेला माओवादीले दुई चार जना राखेर जनअदालत चलाउँथ्यो, अब हामी तीन करोड जनता राखेर जनअदालत चलाउँछौं । हाम्रो जनअदालतमा फैसला जनताले गर्छन्, जनताभन्दा माथि कोही छैनन्, जनताको आदेश मान्न हामी तयार छौँ ।’

कार्यक्रममा ओलीले पार्टी छाडेर गएकाहरूलाई एमालेमै फर्कन आह्वान गर्दै भन्नुभयो– ‘उहिले पूर्वतिर मेला लाग्थ्यो, एक थरी उरन्ठेउलाहरू हुल बाँधेर खल्तीमा सिन्दूर हालेर जुम्सो जस्तो भएर जान्थे, अनि राम्री केटी देख्यो कि छ्वास्स टाउकोमा सिन्दुर फ्याँकेर गुटुटु भाग्थे । माइतीहरू सिन्दुर हालिहाल्यो भनेर सिन्दुर लाउने उरेन्ठेउलालाई खोजेर जिम्मा लगाउँथे । प्रचण्ड र माधव नेपालहरूले पनि अहिले त्यसै गरेका छन्, कहिले माकुनेले झुक्याएर सिन्दुर हालिदिएको छ । कहिले प्रचण्डले झुक्याएर छ्वास्स हालिदिएको छ । कहिले कांग्रेसले सिन्दुर हालिदिएको छ । आजको जमानामा पनि त्यस्तो कुरामा भर परेर हुन्छ ? हामी माइतीहरू सिन्दुर कसले हाल्यो भनेर खोजेर चेलीलाई जिम्मा लगाउने होइन । तिनीहरूले झुक्याएर हालिदिएका सिन्दुरहरू छोडिदिनुस् । एमालेमा आउनुस्, लक्स साबुनले नुहाउनुस्, देश बनाउने अभियानमा लागौं ।’