नाडाको माग सम्बोधन गर्न आग्रह



काठमाडौं (नेस) ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारी साधनलगायत अटोमोबाइल स्पेयर पार्टसको आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि एक सय प्रतिशतसम्म कायम गरेको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आग्रह गरेको छ । नाडाले यस्तो व्यवस्थाले सवारी साधनलगायत स्पेयर पार्टसको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्टसको मूल्य बढेर उपभोक्तालाई असर पर्ने भएकाले राष्ट्र बैंकले हालै जारी गरेको निर्देशिका फिर्ता लिनसमेत माग गरेको छ ।

यदि उक्त व्यवस्था तत्काल परिमार्जन गर्न सम्भव नभएमा व्यवसायीले एलसी मार्जिनका लागि राखेको धरौटी रकममा बैंक तथा वित्तीय संस्थाले व्याज प्रदान गर्ने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकबाट निर्देशन जारी गर्न पनि नाडाले माग गरेको छ । नाडाले हालै नेपालका बैंक तथा वित्तीय निकायले निक्षेपको व्याजदर बढाउने निर्णय गरेको र निक्षेपको व्याजदर बढेसँगै बैंक तथा वित्तीय निकायले कर्जाको व्याजदर बढाउने भएकोले यसमा पुनर्विचार गर्न पनि माग गरेको छ ।

वित्तीय निकायले व्याजदर बढाउँदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढ्दै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्ने र उद्योग व्यवसायलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको वर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई वर्तमान तरलता समस्याको समाधान पनि नहुने पनि नाडाले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्