मलाई मेरो श्रीमानलाई अंश दिन मन छ !



दर्तै नगरिएको फिराद मनैले पढेर
अगाडि सर्न सक्दा पनि पछाडि नै परेर
कहीँ कतै म्याद तामेली नै नगरेर ,
कुनै तारेखमा हाजिरी नै नभएर
कुनै मुद्दा पेशी सूचीमा नै नचढाई
माग दाबीमा प्रतिउत्तर नै नपिराई
मलाई मेरो पतिलाई अंश दिन मन छ,
मलाई मेरो लोग्नेलाई अंश दिन मन छ

समाजले दिएको अधिकार जमाएको त हो नि,
सासूले नि आफ्नो भूमिका निभाएको त हो नि‼
समाजले बनाई दिएको म उनकी बुहारी,
सिन्दूर प्रदत्त  लोग्नेको लालमोहर स्वीकारी
तीन धर्को सिन्दूर र सात फेरी अग्निको घेरो ,
त्यसैले ओगटेको छ जीवनको सेरोफेरो
त्यो रिण तिर्न पुग्ने म सँग धन छ
मलाई मेरो पतिलाई अंश दिने मन छ
मलाई मेरो लोग्नेलाई अंश दिने मन छ ।

कन्यादान पछि  जन्म घर छोड्दा
बास उनैले दिएका हुन
दिनभरि वन पाखा अनि घरधन्दा गर्दा,
ज्याला स्वरूप दुई छाक खान दिएकै  हुन्
समाजले निजको  नाम मसँग जोडाजोडी,
पत्नीको उपमा तथा दर्जा दिएकै हुन्
त्यही कारण र  आधारले गर्दा
खेपेका यी पिडाहरूको सट्टा ,
भोगेका ती अथाह व्यथाहरूको सट्टा
जित उसैको भागर्मा पर्ने गरी,
हार  आफैले ब्यर्होर्ने गरी
पीडाहरू न कसैसँग खुलेर पोख्न मन छ
न त आँसुका  पोखरीहरू प्रदर्शन गर्न मन छ ,
मात्र मलाई मेरो पतिलाई अंश दिन मन छ,
हो,मलाई मेरो लोग्नेलाई अंश दिन मन छ ।

फेरि पनि तिमीले नै जित्यौ भनि भन्न मन छ ।
दाइजो पेवा र निजको स्वआर्जनको रूपमा,
बिर्सँदै अर्थहीन पत्नीको उपमा
कुनै वरिष्ठ विद्धानको सहारै विना
न्यायमूर्तिको इजलासमा उपस्थिति नै विना
बहस पैरवी र वकालत विना
कुनै साक्षीको बकपत्रै विना
मात्र जीत उसैलाई पर्ने गरी,
फेरि पनि दुख पिडामै जीवन पार गर्ने गरी,
आत्मीयता विहीन सम्बन्ध  टुटाउन मन छ,
मलाई मेरो पतिलाई अंश दिन मन छ,
मलाई मेरो लोग्नेलाई अंश दिन मन छ ।

स्वरूपमा मात्र मानव रहेको अचल सम्पत्ति सरी,
तायादात्ती केही कतै नझिकाउने गरी,
आवधिक मेलमिलापको आदेश नै नमागी,
मेल कालागि मेलमिलापकर्ताको छनौट नै नगरी
प्रमाणको भार नपुगे पनि,
न्रिह पशुसरि केही प्रतिवादै नगरी,
कुनै तवरको प्रतिदाबी पनि नलिई
उसलाई उसको स्वतन्त्रता सुम्पन मन छ
मलाई मेरो पतिलाई अंश दिन मन छ,
मलाई मेरो लोग्नेलाई अंश दिर्न मन छ ।

बाँकी जीवनमा जे जे आइ परे पनि
विगतमा जति नै क्रूर हिंसा गरेता पनि,
ती सम्पूर्ण पीडाका क्षणलाई भुल्दै,
लाचार पराजित आफूलाई संम्झदै
मूल्य हिन बस्तुको रूपमा, आफूलाई तौलँदै
कुनै चश्मदित गवाह नै विना
मात्र निजलाई जिताइदिन मन छ ।
मलाई मेरो लोग्नेलाई अंश दिर्न मन छ
मलाई मेरो लोग्नेलाई अंश दिन मन छ ।

सन्ततिका सबै जिम्मा  आफैमा रहने गरी,
प्रतिकुल परिस्थिति आफैले सामना गर्ने गरी
निर्बलियो त्यान्द्रो जस्तै हाम्रो आपसी सम्बन्ध
,निजकै माग बमोजिम दाबी सम्बोधन गरी,
न्यायाधीशले दिएको राय अनुसार
अनपढ असिक्षित मैले राय किताब पढी
अलिखित फैसला भएको सुन्नलाई मन छ,
मलाई मेरो श्रीमान्लाई अंश दिनलाई मन छ ।

निर्दोषी म  आफैंं पराजित भएर पनि,
जीतको उन्मादमा निजलाई लठ्याउन मन छ,
कुनै दायित्व र जिम्मेवारी विना निर्लज्ज भएर
अर्थ हिन हाँसोमा मज्जाले रमाउँदै
निजले हिँडेको हेर्नलाई मन छ,
मलाई मेरो स्वामीलाई अंश दिन मन छ,
मलाई मेरो लोग्नेलाई अंश दिनलाई मन छ ।

न समाज न त माइतीकै सहारा
केवल म त दान दिएको बस्तु,
दाहसंस्कार पछिको एक मुठ्ठी अस्तु
के रहेछ र आखिर जीवन ? के नै जित्नु छ र ??
त्यसैले,जित उसले लेओस् म लिन्छु हार ,
आँसुको सहारा  अनि विगतको याद नर्विर्सि
कुनै अदालतको ढोकामा  नगई
तहसिलमा नगई,हाजिर पनि नभई
फैसला कार्यान्वयन होस् भन्ने मन छ
मलाई मेरो श्रीमान्लाई अंश दिन मन छ
मलाई मेरो पतिलाई अंश दिन मन छ ।

न्याय माग्न आएकी महिलाको  भावना र व्यथालाई अनुभूत गरी निजको वाध्यात्मक  परिस्थितिलाई शब्दरुप दिँदा !

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्