‘हनुमानको करामत’ सार्वजनिक



काठमाडौं, (नेस) ।

बाल साहित्य क्षेत्रमा कलम चलाउँदै आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ । बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालिले बजारमा ल्याएको हो । उक्त चित्रकथामा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ । चित्रकथामा बालबालिकाले सजिल बुझिने गरी सरल भाषा र चित्रको प्रयोग गरिएको छ । ऐतिहासिक विषयलाई जति पढ्यो त्यति नै पढूँ पढूँ लाग्ने गरी कथा प्रस्तुत गरिएको छ ।

कथामा अयोध्याका राजा राम उपत्यका चहार्ने क्रममा समस्यामा पर्दा आफ्ना परमभक्त हनुमानले देखाएको करामतको पर्दाफास गरिएको छ । राम र हनुमानको उपत्यका यात्राको विषयलाई मिथकमा आधारित भएर कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । कथा कृति पढेपछि बालबालिकाले भरपुर मनोरञ्जनका साथै राम र हनुमानका ऐतिहासिक विषयबारे पनि जानकारी लिन सकिने कथाकार रसिकको भनाइ छ ।

कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते खोला पुगेको र हनुमन्ते खोलामा हनुमान र रामबीच भएका गतिविधिको चित्रण गरिएको छ । ऐतिहासिक सांस्कृतिक कथा भएकाले बालबालिकाले चित्र कथा हेरेर र पढेर भरपुर रमाइलो मात्र गर्ने छैनन् उनीहरूले कथाभित्रै परापूर्वकालका घटनाहरूको ज्ञान समेत राख्न सक्नेछन् ।

इर्टनल प्रकाशन प्रालिले प्रकाशन गरेको उक्त कृतिको आवरण चर्चित चित्रकार प्रज्ज्वल थापाको रहेको छ । विद्यालयका विद्यार्थीलाई लक्षित ‘हनुमानको करामत’ चित्रकथा प्राथमिक तहका बालबालिकाका लागि उपयोगी पुस्तक रहेको इर्टनल प्रकाशन प्रालिले जनाएको छ । रंगीन चित्रहरूले चित्रकथा आकर्षक देखिएको छ । हनुमानको करामत’ रसिकको १३औं कृति हो ।

प्रतिक्रिया दिनुहोस्