मदन पुरस्कार विजेता शर्माको अवसान



काठमाडौं ।

साहित्यकार तारानाथ (ताना) शर्माको ८७ वर्षमा मंगलबार आफ्नै निवासमा निधन भएको छ । शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थियो । नेपाली वाङ्मयमा भाषाका निमित्त उल्लेखनीय योगदान दिनुभएको स्मरण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले राम्रो लेख्ने व्यक्ति गुमाउनु पर्दा पीडा भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब कृतिमार्फत् उहाँको विचार राख्ने र योगदानको कदर गर्नेर्छौं ।’ ११ वर्षअघि विभिन्न समितिमा रहेर काम गर्नुभएका शर्मा नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुनुहुन्थ्यो ।

कुलपति उप्रेतीलगायत अन्यले आर्यघाटमा नै पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । उहाँले सरकारसँग राष्ट्रिय प्रतिभाहरूलाई श्रद्धाञ्जली व्यक्त गर्ने राष्ट्रिय ठाउँ बनाउन माग गर्नुभयो । विगत ५ वर्षदेखि राष्ट्रिय प्रतिभाहरूलाई श्रद्धाञ्जली व्यक्त गर्न प्रज्ञा प्रतिष्ठानमा रोक लगाइएको छ । शर्माले २०२६ सालमा मदन पुरस्कार पाएका थिए । ‘बेलायततिर बरालिँदा’ कृतिका लागि शर्मालाई २०२६ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो । उहाँको निधनमा मदन पुरस्कार पुस्तकालयले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

साहित्यकार तथा लेखक नरहरि आचार्यले शर्माको निधनले राष्ट्रले एक प्रतिभावान् व्यक्ति गुमाएको स्मरण गर्नुभएको छ । उहाँको लेखन माझिएको मात्रै नभई राम्रो भएको प्रतिक्रिया दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उहाँका लेखन अत्यन्त सरल भइकन पनि प्रभावकारी थिए । रचनाहरूमा विवाद भए पनि उहाँ विवादभन्दा माथि उठेर लेख्ने व्यक्ति हुनुहुन्थ्यो ।’

त्यसै गरी अर्का कवि भैरव रिसालले शर्मालाई आफूले आलोचनात्मक रूपमा पाएको बताउनुभयो । उहाँले शर्माको ‘उसैका लागि फेरि उसैका लागि’ मा राजा महेन्द्रसँग विवाद भएको प्रसंग कोट्याउनुभयो । रिसालले आफू इलाम पुगेर फोन गर्दा शर्मा खुसी भएको कुरा सम्झँदै भन्नुभयो– ‘राष्ट्रले एक उत्तम स्रष्टा उत्तम पुरुष गुमायो ।’

शर्माले नेपाली साहित्यमा झर्रोवादी आन्दोलन थाल्नुभएको थियो । उहाँ झर्रोवादी आन्दोलनको अभियान्तासमेत हुनुहुन्थ्यो । शर्माका समालोचना, उपन्यास, निबन्ध, नियात्रा, साहित्यिक इतिहासलगायतका कृतिहरू प्रकाशित छन् ।

‘बेलायततिर बरालिँदा’ ले २०२६ सालमा मदन पुरस्कार पायो । निबन्ध संग्रहमा मदन पुरस्कार पाउने यो पहिलो कृति हो । उहाँले ‘सम र समका कृति’ का लागि २०२९ सालमा साझा पुरस्कार पाउनुभएको थियो भने २०२३ सालमा रत्नश्री स्वर्णपदक थाप्नुभएको थियो । २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार पनि शर्माकै हात परेको थियो ।

घोत्ल्याइँहरू (२०२१), भानुभक्तदेखि तेस्रो आयामसम्म (२०२७), सम र समका कृति (२०२९) उहाँका चर्चित समालोचना कृतिहरू हुन् । बेलायततिर बरालिँदा (२०२६) र पाताल प्रवास (२०४२) उनका प्रसिद्ध नियात्रा हुन् । नमस्ते (२०४४), जीवनका छाल (२०३०), श्रद्धाका सुमन (२०४४) प्रसिद्ध निबन्ध संग्रह हुन् । सुली (२०३०), मेरो कथा (२०२३), झझल्को २०२३), ओझेल पर्दा (२०३५) उनका औपन्यासिक कृतिहरू हुन् ।

शर्माले अंग्रेजी भाषामा पनि कलम चलाउनुभएको थियो । अङ्ग्रेजी भाषामा विद्यावारिधि गरेका डा. तारानाथ शर्मा जीवनको अन्तिम अवस्थासम्म प्राध्यापन पेसामा संलग्न हुनुहुन्थ्यो । २०२६ सालको मदन पुरस्कार विजेता शर्माको मंगलबार मध्याह्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्