वीरगन्जमा घरदैलो स्वास्थ्य सेवा सञ्चालन



वीरगन्ज ।

मुलुककै आर्थिक नगरीको रूपमा रहेको वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रका गर्भवती तथा सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने अभियान शुरू गरेको छ । नगरवासीलाई  घरमै सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले महानगरले ‘मेयर घरदैलो स्वास्थ्य सेवा’ अभियान शुरु गरेको हो ।

कोरोना महामारीको समयमा अस्पतालसम्म आउन समस्या खेपिरहेका गर्भवती, सुत्केरी महिला तथा ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर घरदैलो स्वास्थ्य अभियान सञ्चालन गरिएको वीरगन्ज महानगरका नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो । महानगरले पहिलो चरणमा १ देखि १६ नम्बर वडासम्म यो सेवा सञ्चालन गरेको उहाँले जानकारी दिनु भयो ।

स्वास्थ्यकर्मीले ती वडाका लक्षित सेवाग्राहीलाई घरमै पुगेर सेवा दिएको र  यो स्वास्थ्य सेवाबाट नगरका बासिन्दा लाभान्वित भइरहेको पनि उहाँले बताउनुभयो । महानगरबाट खटिएका स्वास्थ्यकर्मीले बासिन्दाको घरमै पुगेर स्वास्थ्य परीक्षण, निःशुल्क औषधि र परामर्श सेवा प्रदान गरिरहेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । यसका लागि महानगरले १७ लाख रुपैयाँ बजेट छुट्याएको छ । नगरका बासिन्दा स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भनेर घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको सरावगीले बताउनु भयो । यो सेवा विस्तार गर्दै जाने योजना महानगरको छ ।

प्रतिक्रिया दिनुहोस्