दर्शकका लागि बनाएको फिल्मलाई खोजी–खोजी घरमै गएर पैसा तिरिन्छ : गोपाल कायस्थ



झन्डै चार दशकदेखि फिल्म वितरण गरी यो क्षेत्रलाई योगदान दिँदै आएका शंखमूलका ५९ वर्षीय गोपाल कायस्थले आफूलाई फिल्म निर्माता, प्रदर्शक र कलाकारका रूपमा समेत परिचित गराउँदै आएका छन्। २०४० सालमा बलिउड अभिनेता राजकुमारको हिन्दी फिल्म बुलन्दीबाट फिल्म वितरण व्यवसाय शुरू गरेका गोपालले शाहरुख खानको पहिलो फिल्म दिवाना हुँदै सन्तान नामक फिल्मबाट नेपाली फिल्मको वितरण कार्य शुरू गरेका थिए। त्यसपश्चात् कान्छी, प्रायश्चित, युगदेखि युगसम्म, पिँजडा, माइली, सपना, फिलिम, काली, ६ एकान ६, छक्का पञ्जा, शत्रु गतेलगायत तीन सयभन्दा बढी फिल्म वितरण गरिसकेका छन्।

पिँजडा, मेरो के गति हुने हो, चोखो माया र लुटेरा गरी चार नेपाली तथा लुयागु तक्मा, लाख्ये, सनाखत र सस गरी चार नेवारी फिल्म निर्माण गरेका छन् भने रञ्जना, विश्वज्योति, पुष्पाञ्जलि, सिद्धार्थजस्ता हलको व्यवस्थापन सञ्चालन गरेको लामो अनुभव सँगालेका छन्। जिद्दी, होस्टल रिटन्र्स, तिमीसँग, त्रिवेणी, पण्डित बाजे, रुद्र, ए मेरो हजुर–४ जस्ता डेढ दर्जन फिल्मका विभिन्न भूमिकामा अभिनय गर्दै आएका उनी नेपाल चलचित्र संघको उपमहासचिव तथा नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्य रहेका छन्। फिल्म क्षेत्रसँग सम्बन्धित विविध विषयमा उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

आजबाट हल पुनः सञ्चालनमा आएको छ। अब नेपाली फिल्मको बजार कस्तो होला?
राम्रै लिन्छ। खासमा फिल्म चल्ने हो, हल चल्ने होइन। राम्रो फिल्मले सधैं बजार पाउँछ। साँच्चै नै दर्शकलाई बनाएको फिल्म चल्छ। फलानोले बनाएको वा फलानोले खेलको भनेर फिल्म चल्ने होइन। पहिला पनि, बीचमा हल खुल्दा पनि र अब पनि चल्ने भनेको दर्शकका लागि भनेरै बनाएको फिल्म हो।

रिलिज हुँदाहुँदै कोरोनाका कारण रोकिएका दुई फिल्म कठपुतली र चपली हाइट–३ आजैदेखि पुनः रिलिज हुँदैछ, यसको बजार कस्तो होला?
कठपुतली पहिले नै दर्शकले रुचाएको फिल्म हो। अर्को फिल्म चपली हाइट रिलिजमा आएको तीन दिन मात्र भएको थियो। त्यसैले, छुटेका दर्शकले दुवैले फिल्म हेर्छन्जस्तो लाग्छ।

लगालग फिल्म चले यो वर्षभरिलाई पुग्ने फिल्म तयार भएका छन्। कसरी जाला नेपाली फिल्मको रिलिज?
अहिलेसम्म ४७ वटा फिल्म बनेर रेडी भएको छ। यति मात्र फिल्मले यो वर्षलाई पुग्दैन। औंलामा गन्दा वर्षभरिलाई फिल्म पुग्ने देखिए पनि चल्ने भनेको आठ–दशवटा फिल्म मात्र हुन्। तीमध्ये पनि सुपरहिट हुने फिल्म तीन–चार वटा मात्र छ। पहिले पनि फिल्म त टन्नै हुन्थे। तर, चल्ने त त्यही दुई चार फिल्म त हो निरु त्यसैले, यति मात्र फिल्मले आउने वर्षको बजार धान्न सक्दैन, यति फिल्मले वर्षभरलाई पुग्दैन।

दुई वर्षदेखि रोकिएका फिल्म पनि अहिले आएर रिलिज हुँदा बजार पाउलारु ती फिल्म पुरानो होला कि नहोला?
त्यो दर्शकको च्वाइस र निर्माताको भाग्यको कुरा हो। दर्शकले वाच गरेको फिल्म जहिले पनि चल्छ। यसका थुप्रै उदाहरण हामीसामु छन्। नचल्ने फिल्मलाई कोरोना बहाना मात्र हो। फिल्म कहिले पनि नयाँ वा पुरानो हुँदैन। कि राम्रो हुन्छ, कि नराम्रो हुन्छ। राम्रो फिल्म जहिले पनि चल्छ। जहिले पनि फ्रेस नै हुन्छ, नराम्रो फिल्मका लागि अनेकन बहाना हुन्छन्।

फिल्म चल्ने ग्यारेन्टी नभए पनि कोरोना कालमा समेत किन यस्तरी फिल्म बनिरहेको होला?
हेर्नुस्, फिल्म तीन किसिमले बन्छ। एउटा नाफा वा नोक्सान नहेरी निरन्तरता र नामका लागि फिल्म बनाइन्छ। अर्को थरी फिल्म भनेको छक्का–पञ्जा चलेको देख्नुभयोरु अहिले भर्खरै पुष्पा चलेको देख्नुभएनरु भनेर चार–जना पाँच जना मुर्गा फसाएर फिल्म बनाइन्छ। अर्कोथरी फिल्मचाहिँ युट्युब र चर्चाका लागि बनाइन्छ। साँच्चैको सिनेमा बनाउने व्यवसायीले अहिले खासै फिल्म बनाएकै छैनन्।

तपाईंको अनुभवमा कस्तो फिल्मचाहिँ चल्ने रहेछ?
जहिले पनि दर्शकलाई फेमिली ड्रामा, हास्यव्यङ्ग्य, लभस्टोरी र एक्सन फिल्म मन पर्छ। चल्ने फिल्म बनाउनलाई मल्टिकास्ट फिल्म बनाउनुपर्यो नि। चलेको डाइरेक्टर, स्क्रिप्ट राइटर, कलाकार राख्नुपर्यो। त्यस्ता फिल्म नचलेको इतिहास छैन। मुख्य कुरा फिल्म आफ्नो लागि वा आफ्नो मान्छेको लागि होइन, दर्शकको लागि बन्नुपर्छ। दर्शकको लागि बनेका फिल्म सधैं चलेका छन्।

निर्माताहरूले फिल्म बनाउनभन्दा चलाउन गाह्रो छ, वितरक र हलवाला मिलेर राजनीति गर्छन् भन्छन् नि?
त्यस्तो केही पनि होइन, गतिलो फिल्म बनाएर दिन नसक्ने निर्माताहरूले लगाउने आरोप मात्र हो यो। वितरकले कहिले पनि फिल्मको रिलिज डेट तोक्दैन, न हलले तोक्ने हो। फिल्मको रिलिज डेट सधैं निर्माता आफैँले तोक्ने हो। निर्माताले तोकेको डेटअनुसार वितरकले फिल्म रिलिजको चाँजोपाँजो मिलाइदिने हो, हलले लगाइदिने हो। यस्तोमा फिल्म चल्यो भने वितरकको नाम आउँछ, चलेन भने निर्माताहरू आफू बच्नका लागि वितरक वा हलले डुबाइदियो भन्छन्। दर्शकलाई नै भनेर बनाएको फिल्मलाई कहिल्यै गाह्रो पर्दैन। तर, आप्mनो अरू नै स्वार्थ र आकांक्षा पूरा गर्न बनाएको फिल्मलाई भने गाह्रो पर्छ। दर्शकका लागि बनाएको फिल्मलाई खोजी–खोजी निर्माताको घर घरमै गएर पैसा तिरिन्छ। त्यस्तो धेरै फिल्मलाई मैले घर खोज्दै गएर पैसा बुझाएको छु। तर, आफ्नो अनेकन स्वार्थ र आकांक्षा पूरा गर्न बनाएको फिल्मलाई त म फिल्म नै मान्दिनँ। भूकम्प र नाकाबन्दीको बेलामा फिल्म बनाउन कसले आँट गरेको थियोरु त्यस्तो बेलामा पनि दर्शकलाई एउटा गतिलो फिल्म दिनुपर्छ भनेर चार–पाँच वर्ष हराएको निखिल उप्रेतीलाई खोजेर ल्याएर म आफैँले भैरव बनाएँ।

त्यो फिल्मले अर्को एउटा रेकर्ड त राख्यो नै, त्यसलाई हेरेर अरू निर्माता पनि फिल्म निर्माणमा फर्किए। लुट सिनेमा के आयो, त्यसलाई हेरेर यति छाडा फिल्म आउन थाल्यो कि हामी आपैंmलाई पनि परिवारसँग बसेर ट्रेलर हेर्न लाज लाग्यो। त्यस्तो ट्रेलर हेर्नुपर्ला भनेर टेलिभिजन खोल्नसमेत लाज भयो। त्यो बेलामा मै हुँ बन्ने निर्माताले पनि फिल्म बनाउने हिम्मत गरेनन्। तर, त्यस्तो बेला मैले लुटेरा भन्ने फिल्म बनाएँ। मैले त्यो फिल्म पैसा कमाउन बनाएको थिइनँ, ट्रेन्ड फर्किनुपर्छ भनेर बनाएको थिएँ। आखिरमा फक्र्यो पनि। मान्छेहरू अहिले पनि सामान्य हिन्दी, मद्रासी फिल्म आउँदा फिल्म रिलिजबाट भाग्छन्। मैले त सलमान खानको प्रेम रतन धन पायो जस्तो फिल्म आउँदा पनि सेम डेटमा फिल्म जुधाएर पैसा पनि उठाएँ नि। त्यसैले, फिल्म चले सही, नचले राजनीतिको आरोप आउने हो। कोरोनाका कारण लागेको पहिलो लकडाउनपछि कसैले पनि फिल्म ल्याउने वा प्रदर्शन गराउने हिम्मत गरेको थिएन। मैले त्यस्तो बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हलसम्म ल्याएर शिव श्रेष्ठको एउटा यस्तो प्रेम कहानी रिलिजमा ल्याएँ। पछिल्लो लकडाउनपछि पनि फिल्म रिलिज गर्ने कसैको आँट भएन। मैले शोभित बस्नेतको डाँडाको वरपीपल ल्याएँ। फिल्म चल्नु नचल्नु आफ्नो ठाउँमा छ।

कुनै बेला कलाकार चयन पनि वितरकले गर्थे रे, अहिले पनि त्यस्तो हुन्छ?
त्यो राजेश हमालको पालाको कुरा हो। त्यतिखेर राजेश हमालको टाउको बिक्थ्यो। पोस्टरमा राजेश हमालको टाउको राख्नेबित्तिकै दर्शकको भीड लाग्थ्यो। राजेश हमाल भएपछि सानै रोल भए पनि हल हाउसफुल हुन्थ्यो। त्यसैले, हामी राजेश हमाललाई लियो भने यति पैसा दिन्छौँ भन्थ्यौं, राजेश हमालको टाउकोको आधारमा फिल्मको रेट तोक्थ्यौं। त्यो सही सल्लाह नै हुन्थ्यो। अहिले त्यो जमाना छैन। अहिले जमाना फेरिइसक्यो।

फिल्म निर्माणभन्दा वितरणमै फाइदा छ, हैन?
फाइदा त छ। तर, मैलेचाहिँ फाइदाको तुलनामा धेरै नोक्सानी भोगेको छु। किनभने वितरकले फिल्म वितरण गरेवापत पर्सेन्टेज लिएको मात्र देखिन्छ। वितरकको खल्तीबाट, घरबाट पैसा गएको कसैले देख्दैन। वितरकको नाताले फिल्म रिलिजअघि नै एड्भान्स दिइन्छ। कतिपय फिल्मले एडभान्स दिएको पैसा उठाउनसमेत सक्दैन। त्यस्तो फिल्मका कतिपय निर्माताले रकम फिर्ता नदिँदा मैले ठूलो नोक्सानी भोगेको छु। मैले यस्तै हुन्छ पिरती, दागबत्ती, तिमीसँग, एडभान्स, जय शम्भु, विरांगना, अनुरागलगायतका फिल्मलाई दिएको एडभान्स रकम उठेन। एउटा फिल्मलाई २० लाख रुपियाँ दियो, तर त्यसले दुई लाख पनि उठाउन सक्दैन। त्यसो हुँदा एक करोड बढी डुबानमा परेको छु। जग्गाको भाउसँग तुलना गरेर हेर्ने हो भने त्यो एक अरब नै डुबिसक्यो। तैपनि, नेपाली फिल्मका लागि भनेर लागिरहेको छु। जहाँसम्म फाइदाको कुरा छ, मलाई गाँस वास र कपास वितरण क्षत्रले नै दिएको छ। तर, कमाएको तुलनामा गुमाएकै धेरै छ।

व्यवसाय गर्दागर्दै अभिनय पनि गर्ने सौखचाहिँ कहाँबाट आयो नि?
मलाई जमानामै जीवनरेखा फिल्मका निर्देशक प्रकाश थापा दाइले राम्रो छस्, फिल्ममा कलाकार बन्लास् भनेर ड्याम्म पछाडिबाट हान्नुभएको थियो। तर, अडिसनमा यामानको क्यामरा देखेपछि सातो गयो, पास हुन सकिनँ। त्यतिबेला उहाँले तँ कलाकार बन्ने त त्यस्तै हो, एक नम्बर डिस्ट्रिब्युटर बन्छस् भन्नुभएको थियो। उहाँले भनेजस्तै भयो, तर केही समययता आएर फाट्टफुट्ट अभिनय पनि गरिरहेको छु। खासमा साथीहरूले यो क्षेत्रमा लागेपछि केही सिन खेल्नुपर्छ भनेर अफर गरेपछि कहिलेकाहीँ सानोतिनो भूमिकामा अभिनय गर्ने गरेको छु। लाज लागी लागी भए पनि पहिलोपल्ट जिद्दीमा भुवन केसीसँग कला देखाएको थिएँ। त्यसपछि साथीहरूले बेला बेलामा सम्झिरहनु भएको छ।

हलले एकपटक बनाएर सधैं त्यसैबाट आम्दानी गर्छ, तर पनि ५० प्रतिशत लिन्छ। वितरकले सामान्य लगानीमै १५ प्रतिशत पाउँछ, यो हिसाबले पूरै लगानी आफैँ गर्ने निर्माताको पर्सेन्टेज कम भएन?
हलको ५० प्रतिशत त चलिआएको रेट हो, अधिकार नै हो। साँच्चैको व्यवसाय गर्ने निर्माताका लागि वितरकले पाँच पर्सेन्टमै काम गर्छ। किनभने पैसा हुने निर्मातालाई वितरकले एडभान्स रकम दिनु पर्दैन। पैसै नहुने निर्मातासँग भने १५ पर्सेन्टमा काम गर्ने हो। मैले सन्तानको वितरण गर्दा त केही पर्सेन्ट मात्र लिएर गरेको हो नि। निर्माता ज्ञानमा कमजोर छ, पैसा पनि छैन भने वितरकलाई पर्सेन्टेज धेरै जान्छ। १५ पर्सेन्ट त चलेकै रेट भयो, त्यसमा भित्र ब्याज पनि जोडिन्छ। तर, कतिपय अवस्थामा १५ पर्सेन्ट सेयर र ब्याजको त कुरै छोडौं, सावाँ पनि आउँदैन। त्यसमध्यको एउटा फिल्म हो हृदयभरि। त्यो फिल्मको लागि एड्भान्स त दिइयो, तर न अहिलेसम्म फिल्म रिलिज भएको छ, न त सावाँ र ब्याज नै आएको छ। निर्माता पनि सम्पर्कविहीन छन्। यसरी कति फिल्ममा फसिन्छ, फसिन्छ।

फिल्म निर्माण गर्न ठीक लाग्छ कि वितरण?
मेरो पहिलो प्राथमिकता त फिल्म वितरण नै हो। त्यसपछि, फिल्म निर्माण अनि हल सञ्चालन।

अबको योजना?
वितरणको जिम्मा लिएको १९ वटा फिल्म रिलिज गर्न बाँकी छ। ती फिल्मलाई रिलिजमा ल्याउनु छ। यही बीचमा कोरोनाको कारणले रोकिएको फिल्म निर्माण पनि गर्ने योजना छ। ०७९ सालमा दर्शकको लागि ठूलै सिनेमा निर्माण गर्छु। सिंगल हल सबै बन्द भइसक्यो। अब हामी सबैले समयअनुसार हिँड्न सक्नुपर्छ। जुत्ता लगाएअनुसारले पाइला टेक्न सक्नुपर्छ। त्यसैले, अबको फिल्म पनि त्यहीअनुसार हुनेछ। फिल्म क्षेत्र चलायमान बनाउन सधैं पहिलो पाइला चाल्ने मन छ।

 

प्रतिक्रिया दिनुहोस्