नाडाले बढायो सक्रियता



काठमाडौं ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले वन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसँग भेटी सो मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदूषण मापदण्ड युरो ६ को कार्यान्वयनका बारेमा छलफल गरेको छ ।

सो छलफलमा अध्यक्ष थापाले सरकारको सम्पूण सवारी तथा यातायातका साधनहरूमा युरो ६ लागु गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रूपमा लिएको जनाउदै यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रूपमा लागु गर्दै जानु पर्ने भएकोले अहिले त्यसका लागि देशमा आवश्यक पूर्वाधारलगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभइसकेको सन्दर्भमा यसलाई चरणवद्ध रूपमा लागु गर्ने व्यवस्थाका लागि अनुरोध गरको नाडाले जनाएको छ ।

भेटघाटलाई निरन्तरता दिने क्रममा उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग भेटी चालु पुंजी कर्जा मार्गदर्शन २०७८ को मस्यौदाका सम्बन्धमा छलफल गरेको थियो । सो भेटघाटमा उपाध्यक्ष श्रेष्ठले बैकहरूबाट निजी सवारी साधनको हायर प्रचेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेटियोको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्ने व्यवस्थाका लागि अनुरोध गर्नुभयो ।

त्यसै गरी हालै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा सवारी साधनहरू आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा १० प्रतिशतबाट वृद्धि गरेर ५० प्रतिशत पुर्याएको सन्दर्भमा यस्तो व्यवस्थाले सवारी साधनको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधनहरूको मूल्यसमेत बढ्ने र उपभोक्ताहरूलाई समेत असर पर्ने भएकोले पूर्व व्यवस्था अनुसारको न्यूनतम मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने व्यवस्थालाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

नाडाले आफना सम्बद्ध मन्त्रालय तथा विभागसँगको भेटघाट तथा छलफललाई अघि बढाउने क्रममा भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटासँग भेटी भन्सार मूल्याङ्कन, भन्सार प्रक्रियाका सन्दर्भमा देखिएका समस्याहरूलगायत ७० औ विश्व भन्सार दिवसलाई कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा समेत छलफल गरेको जनाएको छ ।

यसै क्रममा नाडा प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसंग भेटी कर सम्बन्धी तालिम सम्पन्न गर्ने, विक्रिको विलिङ पनि एचएस कोड मै गरिनुपर्ने लगायतका विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्