‘ग्रिन ईनर्जी’ उत्पादन र उपयोगका लागि सम्झौता



मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिका, काठमाडौँ विश्वविद्यालय र रोटरी क्लब धुलिखेलले ‘ग्रिन सिटी’, शून्य कार्बन उत्सर्जनका लागि हाइड्रोजन ग्याँस उत्पादन गरी यातायात र भान्सामा प्रयोग गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । स्थानीय तहको अगुवाइमा यो नेपालमै पहिलो पटक भएको सम्झौता हो । 

धुलिखेल र काठमाडौँ विश्वविद्यालय परिसरमा ‘ग्रिन सिटी’, शून्य कार्बन उत्सर्जनका लागि हाइड्रोजन ग्याँस उत्पादन गरी यातायात र भान्सामा प्रयोग गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । धुलिखेल नगरपालिका, काठमाडौँ विश्वविद्यालय र रोटरी क्लब धुलिखेल बिच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । बुधवार धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङ विभागका डिन प्रो.डा मनिष पोखरेल र रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष जय राईले संयुक्त रूपमा हस्ताक्षर गर्नु भएको छ ।

समझदारी पत्रमा आगामी पाँच वर्ष हाइड्रोजनको माध्यमबाट सञ्चालन गर्ने गरी दुई वटा बस धुलिखेलबाट काठमाडौँसम्म सञ्चालन गर्ने, धुलिखेल अस्पताल तथा काठमाडौँ विश्वविद्यालयको भान्सामा प्रयोग हुने एलपी ग्याँसलाई विस्थापित गरी हाइड्रोजन ग्याँस प्रयोग गर्ने उल्लेख छ । त्यसका लागि नगरपालिकाले नीति तथा कानुन निर्माण गर्ने, रोटरी क्लवले आर्थिक संयोजन र विश्वविद्यालयले प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।

संसार भरी वातावरण सन्तुलन राख्न नसक्दा हुन थालेको चुनौतीलाई सामना गर्ने गरी नेपालमै पहिलो पटक धुलिखेल नगरपालिकाले सुरु गरेको शून्य कार्बन उत्सर्जन अभियानमा विश्वविद्यालय र रोटरी क्लबसँग भएको समझदारी महत्त्वपूर्ण छ’–धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘पेट्रोलियम पदार्थको आयात रोक्न यो अभियानलाई विस्तार गर्नु मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक महत्त्वसँगै रोजगार सिर्जना र पुँजी पलायन समेत रोकिनेछ ।’ धुलिखेल नगरपालिका विश्वका १५ सहर मध्ये शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता जनाउने सहर हो । हरित ऊर्जा मार्फत हरित हाइड्रोजन उत्पादन र उपयोग गरी ग्रिन हाइड्रोजनलाई वैकल्पिक ऊर्जाका रूपमा ल्याउने सम्झौताको मुख्य लक्ष्य रहेको विश्वविद्यालयका डिन. डा मनिष पोखरेलले बताउनु भयो ।

काठमाडौँ विश्वविद्यालयले अध्ययन, अनुसन्धानसँगै वातावरण संरक्षणमा आर्थिक समृद्धिका लागि कार्य गरेको विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले बताउनु भयो । नेपालमा उत्पादन भएको विद्युत्तको खपतसँगै गिर्न हाइड्रोजनको अभियान सुरु गरिएको उहाँले बताउनु भयो । एउटा सम्भावनाले अर्को सम्भावनालाई जोड्ने बताउँदै उपकुलपति डा. भोला थापाले नेपालमा मल कारखाना स्थापनाका लागि हाइड्रोजन महत्त्वपूर्ण हुने बताउनु भयो । ‘हाइड्रोजन उत्पादन र उपयोगले नेपालमा थप सम्भावना बढाउनेछ’–उपकुलपति थापाले भन्नुभयो–‘पहिलो चरणमा यातायात र भान्सा हुँदै उद्योग कलकारखानामा समेत ग्रिन हाइड्रोजन उपयोग गराइनेछ ।

वर्षेनी पेट्रोलियम पदार्थ र रासायनिक मलका लागि बाहिरिने पुँजी नेपालमै रोक्न सकियो भने त्यसमा प्रयोग हुने रकम नेपालमै थप उद्योगहरुमा लगाउन सकिने छ । हाइड्रोजन उत्पादनका लागि विश्वविद्यालयमा उपकुलपति डा. भोला थापाको नेतृत्वमा ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिं थापा र प्राज्ञिक, औद्योगिक क्षेत्र समन्वय समितिका संयोजक डा. राम लामाको टिम सक्रिय छ । उक्त टोलीले हाइड्रोजन उत्पादन र उपयोग मार्फत नेपालमा शून्य कार्बन उत्सर्जन, उद्योगको स्थापना र यातायातमा प्रयोग हुने वैकल्पिक ऊर्जाको खपतका बारेमा अध्ययन, अनुसन्धान र प्रतिवेदन तयार गरी सरकारका विभिन्न निकायमा बुझाएको छ ।

समझदारी पत्रमा हस्ताक्षर पछि रोटरी क्लबका अध्यक्ष जय राईले रोटरीले प्राथमिकता निर्धारण गरेका ६ वटा क्षेत्रलाई बढाएर वातावरण संरक्षणको अर्को क्षेत्र थप गरेकाले नगरपालिका र विश्वविद्यालयसँगको साझेदारीले ग्रिन हाइड्रोजन र शून्य कार्बन उत्सर्जनमा थप सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा विश्वविद्यालयका संयोजन तथा सम्पर्क विभागका प्रमुख डा. विभुतिरञ्जन झा, ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिं थापा, डा. राम लामाले ग्रिन इनर्जीको महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्