कलाकारलाई रोग लागेपछि सहयोग पाउन सचिव र मन्त्री चिन्नुपर्ने रहेछ : तारा थापा



कान्छा, उकालीमा, कटर कटरमा, आहा कलिलो तामालाई, हजार चोटी जन्मौला, मायालुको छेउमा जाँदा, ए हावा, मेरो सपनामा को आयो, नआउ सामु यस्तरी, मेरो पिरतीको छल्कियो तरंग, तारी नदेउ हे माझी दाइ, सबैले दिने उस्तै हुन्छ माया, मेरो मायाको संसार, सयथरी बाजा एउटै तालजस्ता दर्जनौं कालजयी गीतकी ख्यातिप्राप्त गायिका तारा थापाले पाँच दशक भयो गायन क्षेत्रलाई आफ्नो सुमधुर स्वरले धनी बनाउन थालेको।

पाँच सय लोक, आधुनिक, फिल्मी, शास्त्रीय, भजनजस्ता विभिन्न विधाका गीत गाएर संगीत क्षेत्रलाई धनी बनाउँदै आएकी ६६ वर्षीया गायिका थापाले अर्को जन्म, बदलिँदो आकाश, आदर्श नारी, के घर के डेरा, सान्नानी, सोह्र वर्षे जोवन, अर्जुन, कहीँ मिलन कहीँ बिछोडजस्ता थुप्रै फिल्मका लागि समेत पाश्र्व दिएकी छिन्। बलियो आत्मविश्वासका कारण क्यान्सरजस्तो प्राणघातक रोगलाई जित्न सफल उनले केही समययता आफ्नै एलबम तयार पार्न सकेकी छैनन्, किनरु यसको कारणसहित संगीत क्षेत्रसँग सम्बन्धित विविध विषयमा उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ?
अहिले कोरोनाले गर्दा केही कार्यक्रम भएका छैनन्, बसिबसाइ मात्र हो।

पाँच दशक लामो सांगीतिक जीवनलाई कसरी सम्झनुहुन्छ?
मैले गीत गाउन थालेको आउने चैत्रमा ठ्याक्कै ५० वर्ष हुन्छ। तर, हिजो अस्ति मात्र गीत गाउन थालेको जस्तो महसुस हुन्छ। कति छिटो समय बितेछ, अचम्म लाग्छ। शुरुका दिनमा गीत संगीतका लागि धेरै दुःख र संघर्ष गरियो। गीत संगीत सिक्ने क्रममा पनि धेरै मेहनत र संघर्ष गरियो। बिहान ५ बजेखि बेलुका १०/११ बजेसम्म गीत संगीतका कार्यक्रममा हिँडियो। काठमाडौंको नाचघर, प्रज्ञा भवनमा धेरै कार्यक्रम हुन्थ्यो। काठमाडौंबाहिर विराटनगरलगायतका स्थानमा कयौँ दिन कार्यक्रमका लागि गइयो। भजन, लोक, शाष्त्रिय, आधुनिक, फिल्मलगायतका प्रायः सबै गीत गाएँ। यसरी सम्झँदा कति रमाइलो कति नरमाइलो कति दुःखद कति सुखद क्ष्ँण छन्।

त्यो बेला संगीत क्षेत्रमा लाग्न कत्तिको कठिन थियो?
त्यो बेला महिलाहरूका लागि कला क्षेत्रमा लाग्न सजिलो थिएन। मलाईचाहिँ बाबा आमाको सहयोगको कारणले गायन क्षेत्रमा लाग्न सजिलो भयो। घरमा आमा पनि गीत गाइरहनु हुन्थ्यो। बुबा इन्डीयन आर्मी हुनुहुन्थ्यो। उहाँसँग एउटा भ्वाइलिन थियो र बजाइरहनुहुन्थ्यो। उहाँले जानेर बजाउनुभएको त थिएन, तर हामी केटाकेटीहरू वुवाले कति राम्रो बजाउनुभयो भनेर उहाँको छेउमा गएर रमाउथ्यौँ। घरको त्यस्तो वातावरणको कारण पनि मलाई गीत संगीतमा लाग्न सजिलो भयो।

म सानैदेखि गीत गाइरहन्थें, गीत गाइरहने बानीले मेरो स्वर निखारिँदै गइरहेको रहेछ। पहिला पहिला कार्यक्रममा जाँदा बाबासँगै जान्थें। उहाँको साथले गर्दा मलाई निकै सजिलो भयो। त्यो बेला छोरी मान्छेलाई समाजले हेर्ने दृष्टिकोण अझैँ फरक थियो। बिहान ५ बजे घरबाट हिँडेर गीत गाउने कार्यक्रम सकेर राती १०/११ बजे घर पुग्दा छर छिमेकीले कुरा काट्ने, चियो चर्चो गर्ने गर्थे। कहाँ गएर यति राति घर आउने होला, के काम गर्ने होला भनेर बेलाबेला व्यंग्य पनि गर्थे। हुन त म गीत गाएर आएकी हुन्थेँ, राम्रै काममा गएकी हुन्थें। रातिराति घर आएको कारण छिमेकीहरूले नराम्रो मान्थे। तर, पनि मेरो क्षेत्रबारे आमा बाबाले राम्रोसँग बुझ्नुभएकोले गायनलाई अगाडि बढाउन सफल भएँ।

संगीत क्षेत्रलाई निरन्तरता दिईरहँदा चुनौतीहरू पनि आए कि?
मैले चुनौतीभन्दा पनि अवसरचाहिँ धेरै पाएँ। यसमा म आफूलाई धेरै भाग्यमानी ठान्छु। हाम्रो पालामा गायिकाहरू कम थिए। तारादेवी, अरुणा लामा, मीरा राणा, ज्ञानु राणाजस्ता गायिकाहरूपछि म आएको थिएँ। मैले गाउने बेलातिर गंगा राणा, गीता ताम्राकार, उर्मिला श्रेष्ठ, शर्मिला श्रेष्ठजस्ता गायिकाहरू हुनुहुन्थ्यो। तर, उहाँहरूले अरू पेसा भएकोले हो अथवा अन्य कारणले हो गीत गायनलाई फुल टाइम दिनुभएन। त्यस कारण पनि मैले धेरै गीत गाउने मौका पाएँ। रेडियो नेपालबाट सिके रसाइली, ज्ञान बहादुर क्षेष्ठ, नातीकाजी दाइ लगायतले गीत रेकर्ड गर्न बोलाउनुहुन्थ्यो। त्यति बेला फोन पनि थिएन।

रेडियो नेपालमा गएका अन्य कलाकारलाई तारा बहिनीलाई यो दिन गीत रेकर्ड गर्न जाउ भनिदिनु भनेर खवर पठाउनुहुन्थ्यो। म आफैँ पनि फुर्सद भयो कि रेडियो नेपाल पुग्थें। त्यति बेला रेडियो नोपलमा ठूला ठूला गायक, गायिका, संगीतकार, गीतकारको जमघट हुन्थ्यो, मेला महोत्सव जस्तै हुन्थ्यो। अर्को कुरा मैले संगीत पनि राम्रो गुरुहरूसँग सिक्ने मौका पाएँ। म ९/१० कक्षा पढ्ने बेला नै गायिका भइसकेकी थिएँ। रेडियो नेपालमा गीत बज्थे। एसएलसी सकिएपछि गाएर मात्र भएन, राम्रोसँग सिक्नुपर्यो भनेर पद्म कन्या क्याम्पसमा संगीत मुख्य विषय लिएर पढँे। गोपाल योञ्जन, न्हुच्छे बहादुर डंगोल, इन्दिरा पाण्डेलगायत अन्य राम्रा राम्रा गुरुहरुसँग लोक तथा शाश्त्रिय संगीत सिक्ने मौका पाएँ। संगीतमै आईए बीए गरेँ। यसरी अवसर पाएकोमा आफूलाई निकै भाग्यमानी ठान्छु।

हिजोआज किन गीत गाउन छोड्नुभएको?
गीत गाउन छोडेको त होइन, दुई वर्षयता कोरोनाको कारण गीत गाउने काम रोकिएको छ। त्यो भन्दाअघि अन्य एल्बममा गायनको लागि अफर आइरहन्थ्यो र गाइरहेकी नै थिएँ। आफ्नै एलमबका रूपमाचाहिँ पछिल्लोपटक २०७० सालमा तारा नामक एलबम ल्याएकी थिएँ। त्यसपछि विरामी भएँ र केहि समय उपचारतिर लागेँ। त्यसपछि भने आफैँले लगानी गरेर गीत ल्याएको छैन। अहिलेका गायक गायिकाहरु एक चोटी विदेशको कार्यक्रममा गएर २/३ लाख पाउँछन्।

कमाई राम्रो हुने भएकाले एक चोटी विदेश गएर आएर गीतमा लगानी गर्न उनीहरुलाई सजिलो हुन्छ। तर, हामीजस्ता पुराना कलाकारलाई देशकै कार्यक्रममा पनि त्यति सम्झिँदैनन्, विदेशका कार्यक्रममा पनि सम्झदैनन्। एउटा गीत रेकर्ड गर्न कम्तिमा पनि ६०/७० हजार लाग्छ। न पेन्सन आउँछ, न कार्यक्रमबाट कमाइ हुन्छ। त्यही कारण गीतमा महँगो लगानी गर्न सक्ने अवस्था छैन। अहिले धेरै गायन रीयालीटी शो हुन्छन्। तर, हामीजस्ता गायन क्षेत्रमा पचासौ वर्ष दुःख गरेका कलाकारलाई कसैले सम्झिँदैनन्। यसरी ज्ञानु राणा, मीरा राणा मलगायतका कलाकार पनि छौँ भन्ने बिर्सिएको देख्दा दुःख लाग्छ।

लोक, आधुनिक, फिल्मी, भजन सबै विधाको गीत गाउनुभएको छ, मज्जाचाहिँ केमा छ?
सबै गीत गाउने बेला आ–आफ्नै किसिमको मज्जा हुन्छ। जुन गीत गायो, त्यसैमा डुबेर गाउने भएकोले सबैमा उत्तिकै रमाइलो लाग्छ। तर, पनि विशेषगरी हाम्रो लोक गीत भेषभुषा आदि अत्यन्तै राम्रो छ। हिमाल, पहाड र तराईको छुट्टाछुट्टै संस्कृति र लोक गीत छन्, जुन विविधता अरु देशमा पाईंदैन। आधुनिक, वेस्टर्न फ्लेवरका गीत त वेस्टर्नहरुले नै हामीले भन्दा धेरै राम्रोसँग गाउन सक्छन्।

तर, हाम्रो लोक गीत र नृत्य विदेशीले पनि एकदमै मन पराउँछन्। मैले विदेशका कार्यक्रममा लोक गीत गाउँदा विदेशीले कस्तो अचम्मको तिमीहरूको संस्कृतिरु कति राम्रो लाग्यो भनेर प्रतिक्रिया दिन्थे। मैले पूर्वददेखि पश्चिमसम्मका र हिमालदेखी पहाडसम्मका शेर्पा, भोजपुरी, मैथीली, नेवारी गरी प्रायः सबै लोक गीत गाएकी छु र लोक गीत गाउँदा अर्कै आनन्द आउने भएकाले अन्यभन्दा लोक गीत गाउँदा बढी रमाइलो लाग्छ।

तपाईंले गाएका गीत पनि चोरी भएका छन् है?
ध्वस्तै छ नि। मैले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेको मायालुको छेउमा जाँदा ए हावा बोलको गीत युट्युवमा धेरै जनाले रेकर्ड गरेर अपलोड गरेका रहेछन्। कतिले हुबहु गाएर राखेका छन् भने कतिले शब्द अर्कै राखेर त्यही लयमा गाएर राखेका छन्। उक्त गीत एल्बममा समेत राखेको पाएँ। उक्त गीत युट्युबमा खोजी हेरेको त यति धेरै गीत आए कि म आफैं छक्क परेँ। मेरै गीत त्यसरी गाउँदा मसँग अनुमति लिनु त परको कुरा मलाई थाहैसम्म छैन। यसरी आफ्ना गीत चोरी भएको देख्दा दुःख लाग्छ। यस्तो केशमा मुद्दा हालिएका पनि छन्। तर, पनि किन नचेतेका होलान् जस्तो लाग्छ। अहिले कोरोनाको कारणले बाहिर निस्किने माहोल नभएकोले चुप लागेर बसेकी छु। तर, रेडियो नेपालको ढड्डामा भएको प्रमाणसहित गीत चोरीविरुद्ध मुद्दा हाल्ने सोचमा छु।

अहिलेको संगीत क्षेत्रलाई कसरी हेर्नुभएको छ?
अहिले संगीत क्षेत्र एकदम राम्रो छ। नयाँ कलाकारहरूले राम्रो गरिरहनुभएको छ। राम्रा राम्रा गायक, गायिका, गीतकार, संगीतकार हुनुहुन्छ। सिकेर राम्रो गर्नेहरूले कमाएका छन्। देश मात्र होइन, विदेशका कार्यक्रममा गएर राम्रो कमाएर गाएर नै घर बनाउने, गाडी किन्ने गायकगायिका धेरै छन्। सिक्न र गीत गाउन पनि सजिलो छ। ठाउँ–ठाउँमा संगीत सिक्ने राम्रा राम्रा ठाउँ छन्। हाम्रो पालामा हेरिकन अहिले कलाकारहरूलाई धेरै राम्रो छ। कमिकमजोरी पनि देखिएको छ। कतिपय कलाकारहरू छोटो समयमै चर्चा कमाउने किसिमले हाहु गर्दै आएको पाइन्छ। उनीहरूले गाएको गीत यो वर्ष चर्चित भयो भन्ने सुनिन्छ। तर अर्को वर्ष बिर्सिन्छन्। त्यसरी आउनेहरू चाँडै नै हराएर गएका छन्।

गीत गाएर मात्र जीवन गुजारा गर्न सकिँदोरहेछ?
सकिन्छ, पहिले हाम्रो बेलामा नेपालमा धेरै सांगीतिक कार्यक्रम हुन्थ्यो। म दिउँसो प्रज्ञा प्रतिष्ठानमा जागीर गर्थें। बेलुका ६ देखि ८ बजेसम्म मनास्लु होटलमा गीत गाउँथे। ८ देखि १० बजेसम्म सोल्टी होटलमा गीत गाउँथे। त्यसरी तीन ठाउँबाट आएको तलब आमालाई दिन्थेँ। तलबबाहेक अन्य कार्यक्रममा गाएर कमाएको पैसा चाहिँ तिमी आफैँ राख, मन लागेको गर भन्नुहुन्थ्यो। त्यति बेला एउटा शो को ६/७ सय पाउँथे। एउटा शोमा गाएको पैसाले मन लागेको गहना किन्न सकिन्थ्यो। म कार्यक्रमबाट कमाएको पैसाले कहिले औँठी, कहिले टप बनाउँथे, मजाले खर्च गर्न पुग्थ्यो। तर, त्यतिबेला अहिले जस्तो घर बनाउने गाडी किन्ने जस्तो गरिचाहिँ कमाइ हुँदैनथ्यो।

क्यान्सरलाई जित्नुभएको छ। यसलाइ जित्न के गर्नुपर्दो रहेछ?
सबै भन्दा ठूलो कुरा त समयमा रोग पत्तँ लागेर उपचार पाउनु नै हो। त्यसछि आफूमा आत्मविश्वास हुनुपर्छ। क्यान्सरको उपचारको क्रममा किमो दिँदाखेरि निकै पीडा हुन्छ, आत्मविश्वासको कमी भयो भने चिन्ताले कोही त २/३ किमोमै जान्छन्। त्यस्तै, परिवारको माया र हेरचारले यसलाई जित्न सकिन्छ। म कलाकार भएको कारणले सबैले चिन्ने भएकोले उपचारको क्रममा निकै सजिलो भयो। भक्तपुर अस्पतालमा उपचारको क्रममा त्यहाँको डाक्टरहरूबाट निकै राम्रो व्यवहार पाएँ। डाक्टर मात्र नभएर अस्पतालको प्रूरा टिम नै मेरो रूममा आउनुहुन्थ्यो। ताराजी हामी तपाईंलाई निको पार्छौं भन्नुहुन्थ्यो। सबैको माया र हौसलाका कारण अहिले यो अवस्थामा छु।

क्यान्सरसँग जुधिरहेकाहरूलाई के सल्लाह दिनुहुन्छ?
सबैभन्दा पहिलो कुरा त आफ्नो शरीरमा आएको परिवर्तनलाई बेवास्ता गर्नुहुँदैन। अस्पताल गएर रोग पत्ता लागिसकेपछि उपचार गराई हाल्नुपर्छ। आफूमा आत्मविश्वास दह्रो बनाउनुपर्छ। शुरु शुरुमा खाने कुरामा धेरै नै ध्यान दिनुपर्छ। मलाई डाक्टरले फलफूलसमेत नखानु भन्नुभएको थियो। तरकारीहरू पनि राम्रोसँग पकाएर मात्र खानुपर्ने हुन्थ्यो। काँचो केही खान हुँदैनथ्यो। किमा दिँदा रगत सुक्ने भएकाले रगत बढाउन अनार खानु भन्नुहुन्थ्यो। त्यो पनि तातो पानीमा भिजाएर खाने गर्थें। रोग निको नहुन्जेल खानपानान निकै ध्यान दिनुपर्छ। रोग निको भइसकेपछि पनि रेड मीटहरू कम नै खानु राम्रो हुन्छ। अन्य खाने कुरा बार्नु पर्दैन।

उपचारका क्रममा कला क्षेत्रबाट केही सहयोग मिल्यो की?
धेरै जस्तो सहयोग कलाक्षेत्र भन्दा पनि फ्यानहरूबाट पाएँ। म बेडमै हुँदा अमेरिकामा रहेका कलाकारहरूले तपार्इंको सहयोगको लागि तपाईंको गीत गाएर कार्यक्रम गर्छौं भन्नुभयो, मैले हुन्छ भनेँ। अमेरिकाको कार्यक्रमबाट संकलन भएको साढे तीन लाख सहयोग पाएँ। त्यस्तै, शर्मिला बर्देवा बहिनीले लण्डनमा कार्यक्रम गरेर १ लाख रुपियाँ पठाउनुभयो। हङकङको शुभेच्छुकहरूले सबैभन्दा बढी ८/१० लाख रुपियाँ संकलन गरेर पठाउनुभएको थियो। कला क्षेत्रमार्फत भने गीतकार संघबाट ५० हजार सहयोग भएको थियो। सांगीतिक संघबाट २५ हजार सहयोग भयो, दीप श्रेष्ठ दाइले विभिन्न ठाउँबाट संकलन गरेर एक लाख ८० हजार जति उपलब्ध गराउनुभयो।

सरकारको तर्फबाट पनि केही सहयोग भयो कि?
सरकारको तर्फबाट कुनै पनि सहयोग पाएको छैन। दीपक जंगम दाइको मुटुको शल्यक्रिया हुँदा मुटु रोग, क्यान्सर तथा मृगौला रोगबाट पीडित कलाकारले पाँच लाख सहयोग पाउँछन् भन्ने थाहा पाएको थिएँ। त्यति बेला एसपी कोइराला गीतकार संघको सचिव हुनुहुन्थ्यो, उहाँको पहलमा दीपक दाइले ५ लाख सहयोग पाउनुभएको थियो। म पनि निवेदन लिएर स्वास्थ्य मन्त्रालय धेरै वर्ष धाएँ। धाउने त्रममा तीन चोटीसम्म त मन्त्री नै परिवर्तन भए, तर केही सहयोग भएन। ६ वर्षसम्म धाउँदा धाउँदा दिक्क लाग्यो र अहिले धाउन छोडिदिएँ। कलाकार भएर कला क्षेत्रमा योगदान दिएर मात्र हुँदो रहेनछ। कलाकारले रोग लागेर सहयोग पाउनका लागि पनि सचिव र मन्त्रीहरू चिनेको हुनुपर्ने रहेछ।

प्रतिक्रिया दिनुहोस्