कांग्रेसभित्र नीति अधिवेशनको माग



काठमाडौं, (नेस) ।

राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयार गर्न आग्रह गरेका छन् । कांग्रेसले नीति अधिवेशन छुट्टै गर्ने भनेर हालै सम्पन्न १४औं महाधिवेशनमा नेतृत्व छनौट मात्र गरेको थियो ।

कोरोना माहामारीका कारण अनलाइनमार्फत छलफल गरिरहेका कांग्रेस केन्द्रीय सदस्यहरूले पार्टीको विभागहरू गठन गर्न तत्काल गृहकार्य थाल्न पनि आग्रह गरेका छन् । केन्द्रीय सदस्य मधुप्रसाद आचार्यका अनुसार छलफलमा केन्द्रीय सदस्यहरूले निश्चित मापदण्ड बनाएर अर्थपूर्ण र परिणामदायी विभाग गठन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका छन् । कांग्रेस विधानअनुसार अधिवेशन भएको ६ महिनाभित्र विभागहरू गठन गरिसक्नुपर्ने उल्लेख छ ।

छलफलमा नेता आचार्यले पार्टीको विधानअनुसार अनलाइनबाट समेत निवेदन दिन पाउने गरी पार्टी सदस्यता वितरण तत्काल खुला गर्न आफूले आग्रह गरेको बताउनुभयो । उहाँले छलफलमा आफूले कांग्रेसको तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै समितिहरूको मासिक बैठक नियमित गर्नुपर्ने र सबै तहको निर्णय कार्यान्वयनको प्रभावकारी अनुगमनसमेतको व्यवस्था मिलाउनुपर्ने माग राखेको जानकारी पनि दिनुभयो ।

छलफलमा घरदैलो संवाद, पार्टी प्रवेश र आधारभूत प्रशिक्षणलाई एकीकृत अभियानका रूपमा अघि बढाउनुपर्ने, टोल समितिदेखि केन्द्रीय समितिसम्मलाई तत्काल पूर्णता दिनुपर्ने जस्ता कुराहरूमा पार्टी नेतृत्वले विशेष ध्यान दिनुपर्ने विषयहरू उठेको बताइएको छ । केन्द्रीय सदस्यहरूको अनलाइन बैठकमा भ्रातृ एवं शुभेच्छुक संघसंस्थाको विधानलाई पार्टी विधानअनुरूप लयबद्ध गराई प्रत्येक वडा तहसम्म संरचना बनाएर तत्काल महाधिवेशन गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराइएको थियो ।

१४औं महाधिवेशनपछि बसेको बैठकहरूमा केन्द्रीय सदस्यहरूले आफ्नो प्रस्ताव तथा भनाइ राख्न नपाएको सन्दर्भमा नेताहरूले सामाजिक सञ्जालमार्फत आफ्ना प्रस्तावहरू सार्वजनिक गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्