‘परेली–तरेली’को घुम्टो उघारेर चियाउँदा



  • इ. रमेश सुवेदी

यतिखेर कवि गणेशराज वस्तीको कविता सङ्ग्रह ‘परेली तरेली’ मेरो हातमा छ । यो कविद्वारा प्रकाशित एघारौं पुस्तकाकार कृति एवम् चौथो साहित्यिक कृति हो । कवि वस्ती कवि मात्र नभएर पूर्वाधार विकासका अभियन्ता पनि हुन् । नेपाल सरकारको राजपत्राङ्कृत प्रथम श्रेणीका सहसचिव वस्ती हाल भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, कर्णाली प्रदेशका सचिव हुन् । २०२४ साल मङ्सिर ४ गते गोरखा जिल्लाको लाङ्दी, सिरान चोकमा जन्मिएका वस्तीले सिभिल इन्जिनियरिङसँग सम्बन्धित ७ थान पुस्तक प्रकाशन गरिसकेका छन् ।

एक त पठन संस्कृति र साहित्य सृजनामा लाग्ने व्यक्तिहरूको अभाव खट्किरहेको वर्तमान परिवेश, त्यसमाथि औँलामा भाँच्न मिल्ने नेपाली साहित्य सृजनामा रुचि राख्ने इन्जिनियरिङ क्षेत्रसँग सम्बद्ध व्यक्तित्व साहित्य साधनामा देखिनु दुर्लभ पक्ष नै हो । प्रस्तुत कृति परेली तरेलीको भूमिका लेखेका कवि विश्वविमोहन श्रेष्ठले पनि यस कुराको उजागर गर्दै धेरै प्राविधिकहरू आफ्नो अध्ययनको क्षेत्रलाई नै सामान्यतः आफ्नो रुचिको पनि क्षेत्र तुल्याउने तथा केही प्राज्ञिकहरू यसैको सेरोफेरोमा लेख्ने/लेखाउने, पढ्ने/पढाउने, टिप्ने/टिपाउनेजस्ता सत्कर्महरू गर्ने गरेको र त्यस्तो रुचि केवल आयआर्जनजस्ता साँघुरो चौघेरामा मात्र सीमित नरही आफू जन्मेको, हुर्केको, खेलेको र आफूले माया गर्ने गरेको माटोप्रतिको अपार स्नेह र कर्तव्यको द्योतक पनि हुने बताएका छन् । हो, कवि वस्तीले पनि आफ्नो इन्जिनियरिङ प्रोफेसनमा गर्नुपर्ने दायित्वलाई निर्वाह गर्ने क्रमका अतिरिक्त फुर्सदको समयलाई समेत साहित्य सृजनाका मार्फत समाजको उत्थानका लागि उल्लेखनीय भूमिका खेलेका छन् ।

प्रस्तुत कृतिमा एक सयवटा विभिन्न शीर्षकका गद्य कविताहरू समाविष्ट छन् । यी कविताहरूलाई कविले दुई खण्डमा विभक्त गरेका छन् । खण्ड ‘क’लाई ‘सपनाका परेलीहरू’ नाम दिई यस खण्डलाई पनि ‘मुस्कान’, ‘इच्छाइएको चिज’, ‘भाग्य, भविष्य र कर्म’, ‘ग्लानि, डर, वितृष्णा’, ‘मनका कुरा’, ‘प्रेमजन्य दृश्य’ र ‘आशैआशमा’ गरी सातवटा विषय शीर्षकमा र खण्ड ‘ख’लाई चाहिँ ‘सम्झनाका तरेलीहरू’ नाम दिई यस खण्डलाई ‘मातृत्व’, ‘चिप्लेटीको ओरालोमा’, ‘लाङ्दीको सेरोफेरो’, ‘मानिस÷जीवन यस्तै’, ‘द्वन्द्व’, ‘प्रकृतिका अवयव स्मरण’ गरी छ विषय शीर्षकमा विभक्त गरिएको छ ।

कविले प्रस्तुत कविता सङ्ग्रहमा जननी र जन्मभूमिप्रति अगाध श्रद्धा प्रकट गरेका छन् । उनले आफ्ना बाल्यकालका मीठा स्मृतिहरू मनभरि सँगालेर राखेका छन् भने मौका मिलेमा त्यसको पुनरावृत्तिका लागि पनि लालायित भएको कवितामार्फत देखाएका छन् । कवि वस्तीले ‘लाम्पुच्छ«ेको नाच’, ‘सम्झिरहेछु आमा’, ‘राम्रोसँग भोग्न’, ‘खेतबारी बाँझो भए’, ‘तिनै भीरहरू’ र ‘विछट्टै माया’ शीर्षकका कविताहरूमा आफ्ना बुबाआमा, आफू जन्मिएको ठाउँ र नेपाल आमाको माया र ममताको बडो मार्मिक ढङ्गले चित्रण गरेका छन् । उनले आफ्ना बाबुसँग लामो समय बस्न नपाएको तथा आफ्ना खेतबारी बाँझो भएको पीडा मात्र होइन कोरोना महामारीको समेत चिन्ता प्रकट गर्न भ्याएका छन् । अझ लाङ्दीको सेरोफेरो खण्डमा समेटिएका ‘त्यतै जान मन छ’, ‘लाङ्दीको याद’, ‘मन आज उडिरहेछ’, ‘फर्किएर गएँ’, ‘यस्तै हो वाकसो’ आदि शीर्षकका कविताहरूमा कविले आफ्नो जन्मठाउँका भीरपाखा तथा बाल्यकालमा बिताएका क्षणहरूको स्मृति अझ बढी भावुकतापूर्वक दर्शाएका छन् ।

कवि वस्तीले आफ्ना कविताहरूमा प्रेमका केही आलापहरू, केही आशक्तिहरू तथा उच्छवासहरू पनि पोखेका छन् भने आशैआश र त्रासैत्रासमा बित्ने यो दुई दिनको जिन्दगीमा आफू सत्मार्गमा हिँडिरहने प्रण गर्दै अरुलाई पनि सत्मार्गमा हिँड्न सुझाव दिएका छन् ।

जिन्दगीको दौरानमा कतै बाटो बिराउन लागेमा आफूलाई तानेर ट्रयाकमा ल्याउन तथा त्यसो हुन नसकेमा ठूलै सजाय दिन पनि आह्वान गरेका छन् । कविता सङ्ग्रहमा कविले आफू सत्तामा पुग्दा सबै ठीक देख्ने तर सत्ताबाहिर हुनासाथ सबै बिग्रिएको देख्ने र गनगन, थनथन गरिरहने विद्यमान नेपाली राजनीतिक परिदृश्यमाथि ‘गनगन’ कवितामार्फत चोटिलो व्यङ्ग्य प्रहार गरेका छन् । साथै पर्दापछाडि हुने खेलहरू तथा ‘मुखमा रामराम बगलीमा छुरा’ परिपाटीको पनि आफ्ना कवितामार्फत उदाङ्गो पारिदिएका छन् ।

कवि इन्जिनियर भएकाले कविताका प्रतिकका रूपमा कतै–कतै इन्जिनियरिङ शब्दहरू जस्तै– टनेल, शौचालय, रेलमार्ग, पुल आदि पनि प्रयोग गरेका छन् । समग्रमा सरल र सरस तरिकाले कविले आफ्नो जन्मस्थान र वरपरका स्थानहरू, बाल्यकालमा खाएका, खेलेका, रमाएका परिदृश्यहरूको अन्तष्करणबाट स्मरण गर्दै÷गराउँदै पाठकहरूलाई समेत आफैँले देखेको र भोगेको जस्तो बनाउनु कविमा उल्लेखनीय विशेषता रहेको देखिन्छ । साङ्लाले रोटी खाएको, परालमा लुकेको, आमासँग कराहीको कुराउनी मागेर खाएको, कुवामा पानी भरेको, बिहानै उठेर जाँतोमा मकै पिसेको, साँझ ढिकीमा धान कुटेको, वनमा गएर ऐँसेलु–काफल खाएको, तीतेपातीले आची पुछेको, बाटामा आचीमा चिप्लिएको जस्ता अति सूक्ष्म चीजहरूमा समेत दृष्टिगोचर गरी बाल्यकालका यथार्थ घटनाहरूको कवितामार्फत कविले पस्किएर पाठकमा पुनरावृत्ति गराइदिएका छन् भने आजका पुस्तामा लोप हुन लागेका वस्तुहरूको समेत उजागर गर्न सफल भएकोमा कविलाई साधुवाद दिनै पर्छ ।

कविले जागिरका क्रममा पुगेका विभिन्न ठाउँहरूको पनि कवितामार्फत चित्रण गरेको देखिन्छ । नेपालटार, फिक्कल, माइखोला, श्रीअन्तुडाँडादेखि घोडेपानी, धनकुटालगायतका पाखापखेरा तथा फाँटहरूमा कवि औधी रमाएका छन् । कलकल बग्ने निर्मल नदी तथा सेता हिमशृङ्खलाहरूसँगको दृश्यावलकोनबाट यिनी आल्हादित देखिन्छन् । यस कविता सङ्ग्रहमा हेलिकप्टर दुर्घटनाबाट असामयिक मृत्युवरण गरेका नेता रवीन्द्र अधिकारीको स्मरणदेखि आफ्नै सुपुत्र गिनिज वस्तीलाई जन्मदिनको शुभकामना व्यक्त गरेर सङ्ग्रहको बिट मारेका छन् ।

यसरी कवि वस्तीले उनको यस कविता सङ्ग्रहमा समेटिएका एक सय थान विभिन्न भावभूमिका कवितामार्फत पाठकहरूलाई विभिन्न सकारात्मक तथा रचनात्मक सन्देशहरू दिन सफल भएका छन् । आफ्नो जन्म दिने बुबाआमा र जन्मस्थानलाई कहिल्यै भुल्नहुँदैन भन्ने कविको मान्यता हो । यसमा कविको लेखाइ र गराइको खाडल पनि निकै कम देखिनु खुसीको कुरा हो । यो छोटो तर अमूल्य जीवनमा सकेसम्म सबैको भलो हुने तथा केही सम्झनलायक काम गर्नुपर्छ भन्ने उत्कट अभिलाषा बोकेका कवि वस्ती आफैँमा अत्यन्त सरल र विनयशील स्वभावका व्यक्ति हुन् । प्रस्तुत परेली तरेली कविता सङ्ग्रह उघारेर चियाउँदा यसमा सङ्गृहित एक सयवटा कविताहरूलाई दुई खण्ड तथा तेह्रवटा मूल शीर्षकमा समेटिएको पक्ष मलाई अझ रोचक लाग्यो ।

यसबाट पाठकहरूले आफ्नो रुचिको विषय वा क्लस्टरलाई प्राथमिकतामा राखी अध्ययन गर्न सजिलो हुने देखिन्छ । तथापि कतिपय ठाउँमा एउटा शीर्षकभित्र एउटै भावका कविता भने नदेखिए तापनि यसमा भरमग्दुर कोशिशचाहिँ गरिएकै देखिन्छ । एउटा अंग्रेजी भाषामा तथा बाँकी नेपाली भाषामा लेखिएका यस कविता सङ्ग्रहका अधिकांश कविताहरू गद्य कविता नै हुन्, तथापि कतिपय कवितामा पद्य कविताको रूप दिन कोशिश गरिएको पनि छ । यसरी पद्य कविताको रूप दिन खोज्दा वार्णिक छन्दभन्दा बाहिर गई कतिपय कविताहरूमा छन्द भङ्ग भएका छन् भने छन्द मिलाउन खोज्दा कतै–कतै वाक्य अपूरा भएका तथा सलल बगेका कविता कतिपय अवस्थामा अर्कोतिर मोडिन पुगेका पनि देखिन्छन् । यी त्रुटिहरू छोडेर यस कविता सङ्ग्रह अत्यन्त पठनीय, मननीय तथा सङ्ग्रहणीय समेत देखिन्छ ।

अन्त्यमा कवि गणेशराज वस्ती इन्जिनियरिङ क्षेत्रको उच्च ओहदाको व्यक्ति भएर पनि नेपाली साहित्य सृजनामा उनको लगावलाई सलाम गर्नै पर्छ । राष्ट्र, राष्ट्रियता, सकारात्मक जीवनशैली, मायाप्रीति, कर्तव्यपरायणता र मानव संवेदनाप्रति ओतप्रोत कविका रचनाहरू अत्यन्त सरल, सरस तथा पठनीय छन् । सबै पाठकहरूले एकपटक यस कविता सङ्ग्रहमा नजर लगाई कविद्वारा मीठासपूर्ण रूपमा पस्किएका कविताहरूको रसस्वादन गर्न अनुरोध गर्दै कविबाट यस्ता कृतिहरू पाठकमाझ निरन्तर आइरहून् भन्ने कामनासमेत गर्दछु ।

प्रतिक्रिया दिनुहोस्