एकीकरण सम्झँदै मकवानपुरगढीमा झण्डोत्तोलन



हेटौंडा ।

नेपाल एकीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मकवानपुरगढीमा हरेक माघ १० गते विजय उत्सव मनाइने गरेको छ । सोही सन्दर्भमा ऐतिहासिक मकवानपुरगढीमा शिलाबोर्ड उद्घाटन तथा झण्डोत्तोलन गरिएको छ ।

मकवानपुरगढीको विजय उत्सव समारोहमा मकवानपुरगढी तथा नेपाली सेनाको सम्बन्ध अंकित शिलाबोर्ड तथा गढी दरबारपरिसरमा झण्डोत्तोलन गरिएको हो । कोभिडका कारण २ सय ५९औं विजय उत्सव सामान्य तरिकाले मनाइएको छ । मकवानपुरगढी विजय उत्सव समारोह समितिको आयोजनामा सोमबार प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा २८ नम्बर गणका प्रमुख सेनानी सानुभाइ थापाले संयुक्तरूपमा बोर्ड तथा झण्डोत्तोलन गर्नुभएको हो ।

कार्यक्रममा मकवानपुरगढी पालिका अध्यक्ष विदुर हुमागा‌‍ईं, उपाध्यक्ष हर्कमाया रुम्बा, सुपारीटार ब्यारेकका निमित्त गणपति गुणराज अधिकारी, माओवादी केन्द्र केन्द्रीय सदस्य मनकुमारी नेपाली, राजनीतिक दलका प्रतिनिधि र मकवानपुरगढी गाउँपालिकाका वडाध्यक्षको उपस्थिति थियो ।

मकवानपुरगढी गाउँपालिका–२ मा पर्ने गढी क्षेत्र हेटौंडाबाट करिब १७ किमि पूर्वमा अवस्थित छ । साढे २ सय वर्षअघि उक्त स्थानबाट अंग्रेज फौजलाई गोर्खाली फौजले पराजित गरेको इतिहास छ । उक्त गढी सेनवंशीय राजाको विरासत हो । करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको गढी नेपालको सबभन्दा ठूलो गढी पनि हो ।

१६१० सालमा सेनवंशीय राजाको शासनकालमा गढी निर्माण भएको अध्ययनबाट देखिन्छ । सेनवंशीय मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन मकवानपुरगढीअन्तर्गत हरिहरपुरगढीको लडाईं हारेपछि बंगालका नवाब मीर कासिम अलीसँग सहयोग माग्न गएका थिए । नबाव अलीको सहयोगमा २ हजार लडाकू र १ हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोरखा नियन्त्रणमा रहेको मकवानपुरगढीमा १८१९ माघ १० गते आक्रमण गरिएको थियो ।

मकवानपुरगढीमा रहेको नन्दु शाहको नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दहचोकबाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मीर कासिमका सेना पराजित भएका थिए । विदेशी फौजमाथि विजय प्राप्त गरेको स्मरणमा विजय उत्सव मनाइने गरेका हो । नेपाली फौजले मीर कासिम फौज पराजित भएपछि उनीहरुबाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले राष्ट्रको रक्षाका लागि सैनिक संगठन संरचना निर्माणको अभ्यास शुरु गरेका थिए । पृथ्वीनारायण शाहले त्यति बेला श्रीनाथ गण, सबुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र कालीबक्स गण गठन गरेका थिए ।

इतिहासकार लेखक केदार न्यौपानेका अनुसार लडाइँमा बंगाली सेनाबाट जफत गरिएका हातहतियारका कारण गोर्खाली सेनाले नेपाल एकीकरण अभियान सफल बनाएका थिए भने नेपाली सेना व्यवस्थित हुने अवसर प्राप्त भएको थियो ।

माघ १० नेपालको इतिहासमा गर्विलो दिन भएको उहाँको भनाइ छ । नेपाली सेनाले विदेशी सेनासँग लडेर सबभन्दा धेरैको संख्यामा हताहती गरेको र ठूलो परिमाणमा हातहतियार कब्जा गरेको दिनका रूपमा माघ १० गतेलाई विजयोत्सवका रूपमा मनाउने गरिन्छ । १८१९ भदौ ९ गते गोर्खाली सेनाबाट मकवानपुरे सेना पराजित भएपछि विशाल मकवानपुर राज्य गोरखामा विलय हुन पुग्यो ।

लडाईंमा गोर्खालीसँग हारेर भागेका मकवानपुरे राजा दिग्बन्धन सेन र मन्त्री कनकसिंह बानियाँको अनुरोधमा बंगाली बादशाह मीर कासिमले अंग्रेजहरुसँग लड्नका लागि तयार पारिएका सैनिक तथा अत्याधुनिक हातहतियारको परीक्षणसमेत हुने ठानेर १८१९ पुस २७ गते युरोपियन मूलका सेना प्रमुख गुरगिन खाँको नेतृत्वमा ३ हजार सेना तथा भरियासमेत मकवानपुर पठाएको थियो ।

मकवानपुरसँगको लडाइँ जितेर काठमाडौं उपत्यका छिर्ने र पशुपति, स्वयम्भुजस्ता क्षेत्रमा लुटपाट गर्ने योजना बंगाली फौजको थियो । मकवानपुरमा आएको त्यस बंगाली फौजले १२ दिनसम्म हर्नामाडीको चौकी तथा पशुपछी र अन्नपातमा कब्जा जमाएर बस्यो । गुरिल्ला युद्ध गर्न माहिर गोर्खाली सेनाले त्यो अवधिभर युद्धको तयारी र तालिम गर्न पायो । माघ ९ गते मध्यरात सम्पूर्ण तयारी सकेर गोर्खाली फौजले चारैतिरबाट आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्