भारतबाट हुने आवतजावतमा रोक



कञ्चनपुर ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ ९ गते राति १२ बजेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्यबाहेक सीमा नाकामा भारततर्फबाट हुने आवतजावत (साइकलमार्फत् हुने क्यारिङ समेत) नगर्ने/नगराउने निर्णय गरेको छ ।

अति आवश्यक कामले जानै पर्ने भए सोसँग सम्बन्धित कागजात र कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटोसमेत भए हुने) अनिवार्यरूपमा सुरक्षाकर्मीलाई देखाउनुपर्ने नियम लागू गरिएको छ ।

विवाह, व्रतबन्ध जस्ता समाजिक कार्य गर्दा २५ जनाको सङ्ख्या नबढाई गर्ने र नित्य धार्मिक पूजा प्रार्थना बाहेकका धार्मिक भेला तथा कार्यक्रमहरु हाललाई सञ्चालन नगर्ने र एम्बुलेन्स सेवा प्रदायक संस्थाहरुलाई आफूले सञ्चालनमा ल्याइएका एम्बुलेन्सहरुमा अनिवार्यरूपमा जिपिएस राख्नुपर्नेछ ।

सरकारी निकाय, स्थानीय तह, गैरसरकारी निकाय, सङ्घसंस्था, पत्रकार महासङ्घलगायतका सरोकारवाला सबै सङ्घसंस्थाको सहकार्य र समन्वयमा सबै पालिकामा अभियानका रूपमा जनचेतनामूलक कार्यक्रम र मास्क अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि नेपाल सरकारको निर्णय सबै सुरक्षा निकायलगायत सबै सरोकारवाला निकायहरु र सङ्घसंस्थाहरु समन्वयात्मक रूपमा परिचालन भई कार्यान्वयन गर्न बैठकले आग्रहसमेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्