कर्मचारी–स्वास्थ्यकर्मी नै संक्रमित हुँदा सेवा प्रभावित



डोटी ।

डोटीको बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा स्वास्थ्य सेवा तथा पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका हुन् । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अहिले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको पालिकाले जनाएको छ । कामका लागि भारत गएका नागरिक अहिले धमाधम घर फर्किरहेका कारण ती व्यक्तिबाट कोरोना जोखिम बढ्न थालेका कारण उनीहरुलाई अनिवार्य कोरोना परीक्षण गर्न पालिकाले आग्रह गरेको छ ।

जिल्लामा हाल नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ११ जना पुगेको छ ।डोटीमा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या पनि दिनहुँ बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिकिल्नीकहरुमा पनि बिरामीको चाप बढ्दै गएको छ ।

अस्पतालहरुमा दैनिकजसो सयौंको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक लोकेन्द्र बोहोराले बताउनुभयो । ‘चिसो बढेको छ, बालबालिका तथा वृद्धहरु दैनिक सयौंको सङ्ख्यामा उपचारका लागि आउने गरेका छन् ।’ –उहाँले भन्नुभयो । पीसीआर जाँच गरे कोरोना पोजेटिभ देखिन्छ भन्ने डरले पनि ग्रामीण क्षेत्रका बिरामी अस्पताल नआउने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

जिल्ला अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको अस्पतालका सूचना अधिकारी अमर भाटले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा दैनिकजसो ५० देखि ६० जनाजम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । उपचार गर्न आउनेमा बालबालिका तथा वृद्ध बढी छन् ।
यहाँका गाउँघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि कोरोना सङ्क्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता छाएको जोरायल गाउँपालिका–५ गड्सेरा स्वास्थ्य चौकीका अनमी विधि भण्डारीले बताउनुभयो । ‘गाउँ–गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढी छन्, कोरोना सङ्क्रमण हो कि भन्ने स्थानीयमा चिन्ता छ । तर, जाँच कसैले गर्दैनन् ।’ – उहाँले भन्नुभयो ।

जिल्लामा केही दिनयता रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकहरुले सल्लाह दिएका छन् । चिसो मौसम शुरु भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन पनि जिल्ला अस्पतालले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्