हिमपातपछि खप्तड जाने पर्यटक बढे



डोटी ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि आन्तरिक पर्यटक भित्रिन थालेका हुन् ।

हिमपातपछि यहाँका डाँडाकाँडा निकै रमणीय तथा सेताम्मे भएका छन् । हिमपातका कारण खप्तड क्षेत्र निकै रमणीय बनेको त्यहाँ पुगेर फर्कने पर्यटक बताउँछन् । गएको पुस १४ गते पहिलोपटक हिमपात भएको खप्तड क्षेत्रमा माघ ५ गते रातिबाट पुनः हिमपात भएको हो । हिमपातपछि दैनिक १२ देखि १५ जनासम्म आन्तरिक पर्यटक घुम्न र रमाइलो गर्न आउने गरेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ ।

‘हिमपात रोकिएसँगै दिउँसोको समयमा टलक्क घाम लाग्ने भएकाले पनि यहाँ पर्यटक आउने क्रम बढ्दै गएको छ’, झिग्रानाका स्थानीयवासी हीरालाल साउँ भन्नुहुन्छ– ‘हिउँ परेकाले चिसो छ, तर पनि घुम्न आउने पर्यटक दिनहुँ थपिँदै गएका छन् ।’ हिमपात पतिखप्तड लगायतका क्षेत्रहरु सुन्दर देखिन थालिएका निकुञ्जको कार्यालयले जनाएको छ । खप्तडमा मात्रै हिउँ कम्तीमा पनि एक फिट जति परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।

हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको खप्तड झिग्रानास्थित घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । खप्तड घुम्न आउने पर्यटकलाई हिमपातले निकै आनन्द दिने उहाँको भनाइ छ ।

गएको वैशाखदेखि हालसम्म खप्तड क्षेत्रमा ४ हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ । हिमपातका कारण यहाँको तापक्रम माइनस तीन डिग्री पुगेको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जनाएका छन् ।

बाक्लो हिमपात भइरहेका कारण नागरिक घरबाहिर निस्किन नपाए पनि खेती सप्रिने भन्दै खुसी भएका छन् । खप्तडसहित, बडिकेदार थान, गोलादेउला, चर्केलेक, नापानी, देउताल, मुस्तला, खगरताल, ओखरखालीलगायतका क्षेत्रमा पनि हिमपात भएको जोरायल गाउँपालिका–५ का स्थानीयवासी डम्बर विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्