मिस नेवाः भएपछि अवसरको ओइरो लाग्छ : कृषा महर्जन



काठमाडौंको डल्लुकी कृषा महर्जन मिस नेवाः ११४१ उपाधि विजेता भएदेखि हालसम्म सामाजिक कार्यमा सक्रिय छिन्। नेप्लिज फेसन होमद्वारा आयोजना हुँदै आएको नेवार समुदायका सुन्दरीहरूबीचको कडा प्रतिस्पर्धामा विजेता भएसँगै मिस नेवाः को आयोजक संस्थामै आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय हु्ँदै आइरहेकी कृषा आगामी दिनमा नेवार समुदायमा लक्षित काम गर्ने योजनामा छिन्। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छः

हाल के गर्दै हुनुहुन्छ?
अहिले नेप्लिज होमसँग आबद्ध भएर विभिन्न सामाजिक कार्य गरिरहेकी छु। केही दिनअघि मात्र दोलखाका दुई विद्यालयका दुई सय बालबालिकालाई न्यानो मायाअन्र्तगत जाडोका लुगा तथा शैक्षिक सामग्री वितरण गरेर आयौँ । अब अर्को संस्करणको मिस नेवाः हुँदैछ। त्यसका लागि ट्रेनिङहरू हुँदैछन्। त्यसैको तयारीमा लागेकी छु। साथै, आफ्नो पढाइलाई पनि अगाडि बढाउँदै छु।

मिस नेवाःमा भाग लिनुअघि र पछि आफूमा के भिन्नता महसुस गर्नुभयो?
धेरै नै फरक महसुस गरेको छु। पहिलेभन्दा ओपनअप भएको छु। पर्सनल्लीदेखि लिएर कन्फिडेन्स बिल्ड अप भएको छ। पहिले कलेज जाने र घरमा बस्ने मात्र काम थियो। तर, मिस नेवाःमा भाग लिएपछि धेरै कुरा बुझ्न पाएँ। अहिले विभिन्न काममा आबद्ध भएर व्यस्त बनेकी छु।

मिस नेवाः उपाधि विजेताको भूमिका के–कस्तो हुने रहेछ?
यो उपाधि जितेपछि नेप्लिज फेसन होममाबाट हुने मिस लिटिल नेवाः जस्ता प्याजेन्टहरूको को अर्डिनेसन गरिरहेको छु। कामको सिलसिलामा बाहिरका मानिसलाई कन्भिन्स गराउने आदि भूमिका निर्वाह गरिरहेकी छु।

मिस नेवाःमा स्प्र्धा गर्ने दौरानामा के–कस्ता कुरा सिक्न सकिँदोरहेछ?
मिस नेवाः नेवार समुदायको भएकोले विशेषगरी नेपाल भाषा रञ्जना लिपि आदिको कुरा आउँछ। पहिला नेवारी भाषा बोले पनि लिपिबारे थाहा थिएन। अहिले यी कुराबारे सिक्न पाएँ । त्यसैगरी, नेवार भए पनि नेवारी संस्कृतिभित्रका कतिपय नबुझेका कुराबारे बुझ्न पाएँ। नेवारी चाडपर्व र तिनलाई मनाउन, पूजाआजा गर्ने तरिका आदिबारे धेरै कुरा सिक्न पाएँ।

मिस नेवाः को उपाधि जितेपछि आफ्नो समुदायका लागि के–कस्ता काम गर्नुभयो?
नेवार समुदायकै लागि भनेर मैले छुट्टै कुनै काम गर्न पाएको छैन। तर, नेप्लिज फेसन होममा आबद्ध भएर योमरी पुन्हीजस्ता नेवारी चाडमा नेवा समुदायका बालबालिकालाई यस्ता चाडपर्व बारे सिकाउनेजस्ता काम भने गरेको छु। आफ्नो समुदायका लागि केही काम गर्ने सोच छ। त्यो छिट्टै गर्छु।

मिस नेवाः उपाधि विजेता भएबापत वर्षभरि के–कस्ता कार्य गर्नुभयो?
मिस नेवाः भएपछि म नेपलिज फेसन होमको को–अर्डिनेटर चिफको रूपमा कार्यरत छु। यहाँ आबद्ध भएपछि विभिन्न जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ, त्यो सम्हालिरहेकी छु। अस्ति मात्र हामीले दोलखामा गएर बालबालिकाहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गर्यौं। त्यसको केही महिनाअघि पनि हामी दोलखाकै विद्यालयका बालबालिकाका लागि एक वर्षसम्म पुग्ने खाद्य सामग्रीलगायत विभिन्न आवश्यक सामग्री वितरण गरेका थियौँ। अझ केही कार्यक्रम गर्ने योजना छ।

आफूभन्दा अघिका मिस नेवाःहरूबाट पनि प्रभावित हुनुहुन्छ कि?
एकदमै प्रभावित छु। मभन्दा १० वर्षअघिको मिस नेवाः सुनिता डंगोल म्याम, जसलाई लिपि क्विनको नामले पनि चिनिन्छ। उहाँ कार्यक्रमहरू पनि सञ्चालन गर्नहुन्छ। उहाँबाट एकदमै प्रभावित छु। गत वर्षकी मिस नेवाः नितु डंगोलको कार्यहरूबाट पनि प्रभावित छु। उहाँ हाल काठमाडौं महानगरपालिकामार्फत नेपाल भाषा पढाइरहनुभएको छ।

यस्ता प्रतियिोगीताको विजेता भइसकेपछि म्युजिक भिडियो, विज्ञापन, फिल्म आदिमा खेल्ने गरेको देखिन्छ। तपाईंलाईचाहिँ अफर आएन?
अफरहरू त आइरहेको छन्। तर, मिस नेवाः भएपछि यहाँको क्राइटेरियाअनुसार काम गर्नुपर्ने हुन्छ। क्राइटेरियाअनुसार नभएकाले मैले काम गरिन। हामीले काम गरे पनि नेवार भाषा तथा नेवार समुदायसँग सम्बन्धित कार्यहरू गर्नुपर्ने हुन्छ। आगामी दिनमा त्यस्ता खालका अफर आएमा अवश्य काम गर्नेछु।

मिस नेवाः भएपछि के–कस्तो अवसर पाइँदोरहेछ?
मिस नेवाः भएपछि अपच्र्युनिटीहरू थुप्रै आउँछन्। अवसरको ओइरो लाग्छ। मलाई पनि विभिन्न खाले थुप्रै अफर आइरहेको हुन्छ। कतिपय रेडियो, टेलिभिजनबाट अफर आइरहेका हुन्छन्। त्यस्तै, मोडलिङको क्षेत्रबाट पनि अफर आइरहेका हुन्छन्। तर, मिस नेवाः भएका कारण सबै खालको अफर स्वीकार गर्न मिल्दैन। नेवारी कला संस्कृति सुहाउँदो अफर मात्र स्वीकार गर्न मिल्छ। मिस नेवाः ले गर्न मिल्ने कार्यहरू गर्दै आएको छु।

सौन्दर्य प्रतियोगिताका टाइटल विजेताहरू जितेको वर्ष सक्रिय रहने र त्यसपछि हराउने गरेको पाइन्छ। तपाईंको चाहिँ के सोच छ?
मभन्दा अघिका मिस नेवाः हरू पनि सक्रिय नै हुनुहुन्छ, म पनि आगामी दिनमा सामाजिक कार्य तथा नेप्लिज फेसन होमसँग आबद्ध भएर सक्रिय रहने सोच छ। अब यो वर्ष नयाँ मिस नेवाः चुनिनेछिन्। म अब आउने नयाँ मिस नेवाःहरूलाई गाइड गर्ने, दुई महिनाको ट्रेनिङ अवधिमा उहाँहरूलाई आवश्यक सहयोग गर्ने तथा आफूले जानेका कुरा सिकाउने काम गर्नेछु।

समाज सेवामा पनि सक्रिय हुनुहुन्छ, समाज सेवा गर्ने प्रेरणा कसरी मिल्यो?
नेप्लिज फेसन होममा आएपछि हेमा म्याम (नेप्लिज फेसन होमकी अध्यक्ष) मार्फत समाजप्रतिको हाम्रो उत्तरदायित्व के हुन सक्छ भन्ने कुरा बुझेँ। उहाँले हामीलाई जहिले पनि सकेको सहयोग गर्न तत्पर रहनुपर्छ भनिरहनुहुन्थ्यो। उहाँबाट नै प्रेरित भएर म समाज सेवामा आबद्ध भइरहेको छु।

पैसाविना समाज सेवा गर्न सकिँदैन रे नि?
समाज सेवा गर्न पैसा नै खर्च गर्नुपर्छ भन्ने छैन। पैसा भएकाहरूले समाज सेवाका लागि पैसा खर्च गर्छन्। कतिपय मन भएका तर धन नभएका मानिसहरू पनि छन्। जोसँग पैसा छैन, उनीहरूले आफूले जानेको सीप सिकाएर आफूमा भएका ज्ञान बाँडेर पनि समाज सेवा गर्न सक्छन्। साथै, आवश्यक भएको ठाउँमा श्रमादानमार्फत पनि समाज सेवा गर्न सकिन्छ।

अबको योजना के छ?
अबको योजना भनेको अर्को मिस नेवाः चुनिएपछि पनि पनि नेप्लिज फेसन होममा नै आबद्ध भएर काम गरिरहनेछु। साथै फुड टेक्नोलोजी पढिरहेको छु। पढाइ सकिएपछि पढाइ अनुसारको करिअरका साथै मिस नेवाःसँग सम्बन्धित कार्यहरूलाई निरन्तरता दिनेछु।

प्रतिक्रिया दिनुहोस्