सीएनआई–वुमन लिडरसिप फोरमबीच सहकार्य



काठमाडौं (नेस) ।

महिलामा उद्यमशीलता प्रवर्धन, वित्तीय साक्षरतार वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ । नेपाल उद्योग परिसंघको प्रधान कार्यालयमा सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसिप फोरमको तर्फबाट संयोजक छायाँ शर्मा र महिला शक्ति विकास केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्येकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तिकरण भएको बताउँदै महिलाहरूको आर्थिक विकासका लागि यो सम्झौता माध्यम बन्ने दाबी गर्नुभयो ।

हस्ताकक्षर कार्यक्रममा भर्चुअल उपस्थित हुनुभएका नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसिप फोरमलाई बैंक र महिला शक्ति विकास केन्द्र नेपालका बीच पुलको काम गरेकोमा धन्यवाद ज्ञापन गर्दै सम्झौताले महिलाको आर्थिक विकाशसँगै देशको दिगो विकासमा टेवा पुर्याउने बताउनुभयो ।

वुमन लिडरसिप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको एउटा पहल हो । स्थापनादेखि ‘महिला नेतृत्व विकास’ को मूल नारा बोकेको महिला शक्ति विकास केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो जसले देशैभर महिला सशक्तिकरण र महिला नेतृत्वको विकाससम्बन्धी काम गर्दै आइरहेको छ ।

सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरूआत गरेको हो । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशिलता विकासका लागि ल्याएका यी कार्यक्रम शुरूमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गर्दै आएको छ ।

यो सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरूलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने आशा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्