पर्यटन प्रवर्द्धनका लागि ताप्लेजुङमा स्काई वकर



ताप्लेजुङ ।

ताप्लेजुङ जिल्लाको पर्यटन प्रवद्र्धन र विकासका लागि स्काई वकर प्रविधिको प्रयोग हुने भएको छ । बुधबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमका साथ परीक्षण सफल भएसँगै पर्यटन प्रवद्र्धनमा स्काई वकर प्रविधिको प्रयोग हुन लागेको हो ।

नेपाली वैज्ञानिक कपिल पौडेलले आविष्कार गरेको स्काई वकर पहिलोपटक ताप्लेजुङमा व्यावसायिकरूपमा सञ्चालन ल्याउन लागिएको हो । ‘स्काई वकरले एक डाँडादेखि अर्को डाँडा उडाइने छ । प्रत्येक २ किलो मिटरमा एक सेन्सर राख्नुपर्ने र सेन्सरका सहायताले लामो–लामो यात्रा गर्न सकिन्छ ।’ –वैज्ञानिक पौडेलले बताउनुभयो । विभिन्न क्षेत्रका ओझेलमा रहेको पर्यटकीय क्षेत्र तथा धार्मिक स्थलमा आउ–जाउ गर्नका लागि स्काई वकरको प्रयोग प्रभावकारी हुने र विकास निर्माण क्षेत्रमा समेत यो उपयोगी रहने उहाँको कथन छ ।

ड्रोनबाट निर्माण गरिएको स्काई वकरको विश्वमै पहिलोपटक व्यावसायिकरूपमा परियोजना अगाडि बढाइएको छ । आविष्कार समूहका अनुसार यो एक प्रकारको ड्रोन नै हो । तर, विश्वमा पहिलोपटक यति ठूलो ड्रोन कुनै देशले आविष्कार नगरेको वैज्ञानिक पौडेलले दाबीसमेत गर्नुभयो । यसले ६० जना यात्रु बोक्न सक्ने क्षमता रहेको स्काई वकरका प्राविधिकहरुले जनाएका छन् ।

ताप्लेजुङमा स्काई वकरको व्यावसायिकरूपमा सञ्चालन समुदाय परिचालन तथा विकास मञ्चले समन्वय गरेको छ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा, पर्यटकीयस्थल तिम्वुङ पोखरी र फुङफुङे झरनालगायतका स्थानमा व्यावसायिकरूपमा सञ्चालन गर्ने समुदाय परिचालन तथा विकास मञ्चका अध्यक्ष खर्कराज गुरुङले बताउनुभयो । बुधबारबाटै पहिलो सर्भे गर्ने काम शुरु भएको उहाँको कथन छ ।

प्रतिक्रिया दिनुहोस्