राजधानीमा भित्रभित्रै फैलिँदै छ कोरोना



कालो र रातो प्लेटमा दर्ता भएका दुई वा चार पाङ्ग्रे गाडीहरु, ढुवानी गाडीहरु, सरकारी वा संस्थानका गाडीहरु कोरोना उत्पादन गर्ने कलकारखाना बन्दै छन् । पछिल्लो समय उपत्यकामा यसरी कोरोना बढ्नुमा सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड पालना नहुँदा भएको हो । सार्वजनिक सवारीसाधन अन्तर्गत बस, ट्याम्पु, माइक्रोबस आदिमा कोरोनाको मापदण्ड पालना भएको छैन । ट्याक्सीको हकमा भने यात्रु चारजनासहित ड्राइभर एक गरी जम्मा पाँचजना बोक्ने अनुमति पाएको छ । योचाहिँ कोरोना नभएको अवस्थामा हो । तर, ट्याक्सीले बच्चासहित सातजनासम्म बोकिरहेका छन् ।

ट्याक्सीले यसरी सिटभन्दा बढी मान्छे राख्दा बालबालिकाको ज्यान जोखिममा परेको हो । कोरोना महामारी आएपछि पछाडि दुईजनामात्र राख्न पाइन्छ भने अगाडि चालकबाहेक अरु कोही पनि बस्न पाउँदैनन् । सफा ट्याम्पुले अहिले १५ जनासम्म यात्रु हालिरहेका छन् । ट्याम्पुले उभ्याएरसमेत यात्रु कोच्ने गरेका छन् ।

बच्चाहरु पनि काखमा बोकिरहेका छन् । सफा ट्याम्पुको बीच भागमा प्लास्टिक लगाउने भने पनि त्यो पनि लागू भएको छैन । सफा ट्याम्पु चालकको छेउमा दुईजना यात्रु राखेर चलाइरहेका छन् । ग्यास ट्याम्पुको हाल पनि उही नै छ । सफा ट्याम्पु चलाउने चालकले मास्क लगाएका छैनन् । यता, यात्रुहरु पनि लापरबाह देखिन्छन् । यी सवारीसाधनमा स्यानिटाइजर पनि राखिएको पाइँदैन । सरकारले बनाएको मापदण्डमा जम्मा आठजना यात्रु राख्ने भनिएको छ । तर, ट्याम्पु चालकले स्वास्थ्य मापदण्डको पूर्ण पालना नगर्दा तीबाट कोरोना फैलिरहेको छ । सरकारले माइक्रोबसमा १३ जना यात्रु र एकजना चालकसहित चलाउने अनुमति दिएको छ ।

तर, माइक्रोबसमा यातायात व्यवसायीहरुले नक्कली सिट हालेर २५ जनासम्म यात्रु बोकिरहेका छन् । कोरोना काल आएपछि सरकारले एउटा सिटमा एकजना मात्र यात्रु राख्न, मास्क र स्यानिटाइजरको अनिवार्य पालना गर्न भनेको छ । मास्क नलगाई कुनै यात्रु आयो भने १० रुपियाँ लिई मास्क दिएर मात्र गाडीमा चढाउन भनिएको छ ।

गाडीमा चढ्ने यात्रुको तापक्रम थर्मल गनले नापेर मात्र यात्रा गराउनू भनेर उल्लेख गरिएको छ । एक टिप यात्रा गराउनेबित्तिकै गाडीलाई डिस्इन्फेन्ट गराउन निर्देशनसमेत दिएको हो । सहचालक, चालकले अनिवार्य मास्क र पञ्जा लगाउनुपर्ने नियम बनाइएको छ । तर, माइक्रोबस चलाउने चालक र सहचालकको मुखमा मास्क पनि छैन, ढोकामा स्यानिटाइजर पनि छैन । यता, सिटभन्दा बढी यात्रु कोचेका छन् । माइक्रोबसहरुले पनि कोरोना फैलाउनलाई अहम् भूमिका निभाएका छन् । कोभिड रोकथामको लागि बनाइएको मापदण्ड पालना भएका छैनन् ।

बसहरुले २४ देखि २८ सिटसम्म यात्रु बोक्ने अनुमति पाएका छन् । एक टिपमा जम्मा यति यात्रुलाई यात्रा गराउन पाउने भनेर बिलबुकमा लेखिएको हुन्छ । कोरोना आएपछि सरकारले एउटा सिटमा एकजना मात्र यात्रु राख्न पाउने भनेको छ । दुईजना पनि अनुमति दिएको छैन । तर, बसहरुले सिट क्षमताभन्दा तेब्बर यात्रु राखेर हिँडिरहेका छन् । सिट क्षमताभन्दा बढी यात्रु कोच्ने सवारीसाधनलाई ट्राफिक महाशाखाले अनुगमन गरेर बारबाही गरेको छैन । सार्वजनिक बसहरुमा थर्मल गन, स्यानिटाइजर छैन भने गाडी पनि सफा गरिएको छैन । सहचालक, चालकसहित यात्रुको मुखमा मास्क छैन् । पञ्जा लगाउन भने पनि अटेरी गरिरहेका छन् ।

सार्वजनिक यातायातले लापरबाही देखाउँदा राजधानीमा भुसमा आगो सल्किएझैँ कोरोना फैलिरहेको छ । लामो रोडमा चल्ने सवारीमा पनि उही नै हाल छ । सामान ओसारपसार गर्ने ढुवानी गाडीहरुले पनि कोरोना फैलाइरहेका छन् । सामान लोड गर्नेदेखि लिएर गाडी चलाउनेले कोभिडलाई सामान्य तवरले हेरेका छन् ।

उपत्यकाबाट बाहिर जान लामो रोडको गाडीहरुको टिकट काउन्टरमा पनि सरकारले बनाएको मापदण्ड पालना भएको छैन । यता, सरकारले सवारीसाधन जोर–बिजोर प्रणालीअनुसार चलाउने भनेर निर्णय गरेको छैन । अहिले पनि ट्राफिक जाम अस्तव्यस्त छ । सीसीएमसीसीको बैठकले कि जोर–बिजोर प्रणाली लागू गर्नुपर्यो कि गाडीहरु चल्नमा प्रतिबन्ध लगाउनुपर्यो भनेको सुन्नमा आएको छ । तर, अहिलेसम्म सरकारले सार्वजनिक सवारीसाधनबाट भइरहेको कोरोना फैलाउने काम नियन्त्रण गर्ने योजना बनाएको छैन । जसको परिणाम कोरोनाको विकराल रुप देखा परेको छ । यता, निजी प्लेटमा दर्ता भएर चलेका गाडीहरुले पनि सरकारले बनाएको मापदण्ड पालना गरेका छैनन् ।

निजी प्लेटको हकमा पनि ट्याक्सीको जस्तै नियम लागू हुन्छ । तर अनुगमनमा सुस्तताका कारण निजी प्लेटले मनलाग्दी यात्रु बोकिरहेका छन् । दुई पाङग्रेको हकमा पनि एकजना यात्रुबाहेक बोक्न नपाउने नियम छ । तर, बच्चासहित चारजना बोकिरहेका छन् । दुई पाङ्ग्रे सवारीमा बस्नेले मास्क नलगाउँदा र सवारी चलाउनेसँग टाँसिदा चालक जोखिममा परेका छन् । त्यहाँबाट पनि कोरोना फैलिरहेको छ ।

अधिकांश भीडभाड हुने ठाउँ भनेको वित्तीय संस्था र सरकारी कार्यालय हो । यी कार्यालयहरुमा दैनिक हजारौंको संख्यामा भीडभाड हुन्छ । यस्ता कार्यालयहरु हालका लागि बन्द गर्दा नै उचित हुने देखिन्छ । कोरोना फैलिनबाट आफू पनि जोगियौँ र अरुलाई पनि जोगाऔँ भनिरहँदा पनि लापरबाही भइरहेको देखिन्छ । विपक्ष एमालेका कार्यकर्ताहरुले पनि कोरोना नियन्त्रण गर्न चाँडो लकडाउन गर्नुपर्छ भनेर सरकारलाई भन्दा पनि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले सुनुवाइ गरेका छैनन् । सीसीएमसीसीले पनि कोरोना नियन्त्रणलाई खासै चासो दिएको छैन । निर्णय गर्न नसक्ने यस्ता निकायहरु खारेज गरिदिँदा पनि जनतालाई केही फरक पर्दैन । लकडाउन गर्नुपर्छ भनेर जनता बचाउन नसक्नेलाई जनताले तिरेको करबाट तलब किन खुवाउने ? कि त सीसीएमसीसी नै आर्थिक प्रलोभनमा परेको हुनुपर्यो ?

उपत्यकाका तीन जिल्लाका सिडियोहरु मूर्तिजसरी बसेका छन् । सर्वसाधारणहरु मास्क नलगाई हिँड्दा पनि एउटा सानो चेतनात्मक कार्यक्रम ल्याउन सक्दैनन् । उपत्यकामा बस्ने नागरिकहरु तीन जिल्लाको सिडियोहरुले कोरोना नियन्त्रण गर्न नसकेकाले आक्रोशित बनेका छन् । कोरोना नियन्त्रणमा ढिलासुस्ती गर्नु भनेको जनता मार्नु हो । सिडियोहरुको कमी–कमजोरीको कारण हामी मर्ने हो कि भन्ने चिन्ता जनतामा छ । सरकारले ३६ बुँदे निर्णय गरेको छ । तर, त्यसको कार्यान्यवनमा कसैले पहल गरेको छैन । सिडियोले गरेको १८ बुँदे निर्णय कार्यान्वयन भयो/भएन, यसबारे उनीहरुलाई नै ज्ञान छैन ।

माघ लागेसँगै शालीनदीमा स्वास्थानी मेला लागिरहेको छ । काभ्रेको पनौतीमा १२ बर्से मेला लागेको छ । पशुपतिमा दर्शन गर्न आउनेको भीड उत्तिकै छ । कोरोना फैलाउन यसले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । कोरोनाले भव्य रुप लिइसकेको छ । जनताले तिरेको करबाट उपत्यकाका तीन जिल्लाका सिडियोले तलब खाइरहेका छन् । जनताले तिरेकै करबाट सेवासुविधा लिइरहेका छन् । तर, जनता र राष्ट्रको हितमा केही काम गर्न सकेका छैनन् । केही काम गर्न नसक्ने अक्षम सिडियोलाई यस्तो महत्वपूर्ण पदमा बस्न नैतिकताले दिन्छ ? गृह मन्त्रालयले काम गर्न नसक्ने अक्षम सिडियोलाई तुरुन्त सरुवा गर्नुपर्छ ।

उपत्यकाभित्र कोरोनाले विकराल रुप लिएर अस्पताल भरिसक्यो । सर्वसाधारणहरु अस्पतालको बेडमा छट्पटिरहेका छन् । जनताको जीउधनको सुरक्षा गर्छु भनेर पदमा बस्ने अनि जनता मार्ने ? उपत्यकाले कस्तो सिडियो पाएछ ? सिडियो र व्यापारीको मिलेमतोमा लकडाउन नगर्ने अनि कोरोना फैलाएर जनता मार्ने ? सिडियोले उचित कदम चाल्न नसक्दा सर्वसाधारण निरास बनेका छन् । उपत्यकाका तीन जिल्लाका सिडियो कि लकडाउन गरेर जनता बचाउनुपर्यो, कि सिडियो पदबाट राजीनामा दिनुपर्यो । गृह मन्त्रालयले पनि यस्ता सिडियो हटाएर काम गर्न सक्ने सिडियो उपत्यकामा ल्याउनुपर्यो ।
अनुसा थापा, भक्तपुर

प्रतिक्रिया दिनुहोस्