संक्रमण नियन्त्रण कमजोर



सरकारले आजबाट सार्वजनिक स्थानमा जाँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ । यो निर्णय सुनेपछि सबै खोप केन्द्रमा खोप लगाउनेको भीड थेगिनसक्नु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जनतालाई अनिवार्य रूपमा खोप लगाउने निर्णय गरेसँगै खोप लगाउनेको भीड बढ्नु स्वाभाविकै पनि थियो । खोप केन्द्रमा भीड बढ्दा त्यहीँबाटै संक्रमित बढ्ने सम्भावना हुने नै भयो । यही अवस्थालाई ध्यान दिँदै विरोधमा आवाज उठेपछि खोप केन्द्रलाई सुरक्षित बनाउने प्रयास पनि थालिएको छ जसलाई सकारात्मक रूपमा लिनुपर्छ ।

खोप केन्द्रको उचित व्यवस्थापन गर्न नसक्दा खोप केन्द्रमा भीड बढेको मन्त्रालयले स्वीकार गर्दै सच्याउनु राम्रो पक्ष हो । तर अझै पनि खोप केन्द्रहरू सुरक्षित देखिँदैनन् । यद्यपि, उपत्यकाका जनस्वास्थ्य कार्यालयले यथेष्ट मात्रामा खोप केन्द्र कायम गरेको दाबी गरिरहेका छन् । यसअघि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमै पुगेर खोप लगाउने कार्यक्रम गरियो । यही माघ २ गतेदेखि १४ गतेसम्म फ्रन्ट लाइनमा खटिनेहरूलाई बुस्टर डोज लगाउने व्यवस्था गरेको छ । बुस्टर र पहिलो मात्रा खोप लगाउने एकै ठाउँमा व्यवस्था गरेपछि भीड हुन थालेको हो । भीड बढेपछि खोप व्यवस्थापन गर्न सरकारलाई हम्मेहम्मे परेको छ । बुस्टर डोज लगाउन थालेलगत्तै भेरोसिल खोपको अभाव भएको छ । मन्त्रालयले पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड लगाउन निर्देशन दिइसकेको छ । पहिलो मात्रा भेरोसिल लगाएकालाई मात्र सो खोप उपलब्ध गराउन निर्देशन दिएको छ । एक त खोपको मात्रा कम हुँदै जाने अर्कोतिर खोप लगाउनेको लाइन थपिने भएपछि संक्रमितको संख्या बढ्दै जानु स्वाभाविक भएको मन्त्रालयका अधिकारीको भनाइ छ । मन्त्रालयले माघको दोस्रो सातासम्म दैनिक २० हजार संक्रमित थपिने प्रक्षेपण गरेको छ । पछिल्लो एक सातायता संक्रमितको संख्या ५० प्रतिशत थपिएको छ । मंगलबार एकैदिन ११ हजारभन्दा बढी संक्रमित थपिएका छन् । यसरी संक्रमितको संख्या थपिँदै जाँदा अस्पताललाई बिरामीहरूको व्यवस्थापन गर्न समस्या पर्नु स्वाभाविक हुनआउँछ । हुन त अहिलेसम्म गम्भीर बिरामी भएर अस्पताल भर्ना हुनेको संख्या न्यून छ । तर, संक्रमितको संख्या बढेमा के गर्ने भन्ने विषयमा सरकारले खासै योजना बनाउन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर खालका बिरामी भर्ना हुनसक्ने आंकलन गरी सबै सरकारी अस्पताललाई तयारीमा रहन निर्देशन दिएको छ । तर, कस्तो तयारी गरेको छ भन्ने विषयमा विस्तृत विवरण सार्वजनिक भएको छैन ।

बिरामीको संख्या दैनिक २० हजार पुगेमा संक्रमितलाई व्यवस्थापन गर्न कठिन देखिन्छ । स्थानीय तहले निर्माण गर्ने भनिएका आइसोलेसन सेन्टर तयार भएका छैनन् । सिमानामा होल्डिङ सेन्टर तयार भएको छैन । खुला सिमानाबाट भारत पुगेका नेपालीहरू फर्किने क्रम बढ्नु स्वाभाविक छ । फुर्सदमा चुप लाग्ने अनि हतारमा काम गर्ने सरकारी बानी हटाउनुपर्छ । त्यसो भए मात्र सबै नागरिक कोभिडबाट सुरक्षित हुनसक्छन् ।

प्रतिक्रिया दिनुहोस्