सहज च्यालेन्ज फन्डका लागि आवेदन खुल्यो



काठमाडौं (नेस) ।

कृषिजन्य आपूर्ति शृंखला तथा ढुवानीका प्रमुख समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्ने नवीनतम समाधानहरू लाई ५० लाखसम्म अनुदान दिइने भएको छ ।

सहज भनेर चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम र आईडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फन्ड’ का लागि आवेदन खुल्ला गरिएको छ ।

भर्चुअल पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको घोषणा गरिएको हो ।पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव डा. रामनन्दन तिवारी, मोरङ व्यापारिक संघका नवनिर्वाचित अध्यक्ष नवीन रिजाल, पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. बिजुकुमार थपलिया, कृषि बजार विकास कार्यक्रमकी डेपुटी टिम लिडर रिमा श्रेष्ठ, वित्तीय पहुँच विशेषज्ञ, कृषि बजार विकास कार्यक्रमका ब्रजेश मल्ल, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा,आइडिया स्टुडियो नेपालका कर्मचारी गरी ४८ जनाको उपस्थिति रहेको थियो ।

प्रदेश नम्बर १ मा कृषि उत्पादनहरूको आपूर्तिशृंखला तथा ढुवानी र मूल्य अभिवृद्धिमा देखिँदै आएका प्रमुख अवरोध तथा चुनौतीहरूलाई सम्बोधन गर्न उक्त फन्ड सञ्चालन गरिएको छ ।नवीनतम व्यवसायिक योजना भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरूले यसमा आवेदन दिन सक्नेछन् ।

आवेदकहरूले प्रदेश नम्बर १ मा कृषि उत्पादनहरूको आपूर्तिशृंखला तथा ढुवानी र मूल्य अभिवृद्धिमा रहेका समस्याको समाधान प्रस्तुत गर्नुपर्नेछ । कार्यक्रमका लागि आवेदन फागुन ६ गतेसम्म दिन सकिने आयोजकले जानकारी दिएका छन् ।

सहज च्यालेन्ज फन्डको पहिलो चरणको कुल बजेट १ करोड ९५ लाख नेपाली रुपियाँको हुने छ । जसमा सबैभन्दा ठूलो सहयोग राशि ५० लाखसम्मको हुनेछ । यसरी छनोट गरिएका आवेदकले नगद रााशिसँगै व्यवसाय अगाडि बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्