श्यामसुन्दर शर्माको “स्क्वायर वान” कथा संग्रह बजारमा



न्युज अफ नेपाल काठमाडौं ।

श्यामसुन्दर शर्माको सोर्हौँ कृति “स्क्वायर वान“ कथासंग्रह बजारमा आएको छ । शर्मा निजामती सेवामा ३५ वर्ष बिताएर सहसचिव पदबाट निवृत्त भएका हुन्  र अहिले परामर्शदाताको रुपमा विभिन्न संस्थाहरुसँग आवद्ध छन्  । सुशासन र सार्वजनिक व्यवस्थापनको विषयमा थुप्रै पुस्तक लेखिसक्नु भएको शर्माले यो कृति भने आफ्नो दोश्रो कथासंग्रहको रुपमा पस्किनु भएको छ ।

“बसिबियाँलोको रूपमा पाठकहरूसमक्ष यो ‘स्क्वायर वान’ कथासङ्ग्रह लिएर आएको छु । मेरो लेखनीको मूल क्षेत्र सार्वजनिक प्रशासन र व्यवस्थापन हो । यसपटक भने साहित्यिक कृतिको रूपमा कथासङ्ग्रह रोजेको छु । साहित्य मेरो क्षेत्र नभए पनि रहर छ, लेख्न र पढ्न । यसैले व्यावसायिक जीवनबाट समय निकालेर धेरै अघिदेखि चुबुर्को–चुबुर्को गर्दै कथाहरू लेख्न थालेको हुँ । लामो समयको प्रयासपछि बल्ल यो कृति तयार भएको छ । सामञ्जस्यको दृटिकोणले केही अपुग होलान्, कथावस्तुको दृष्टिकोणले केही पट्यारलाग्दो पनि होला । तर, कामलगायत जीवनका आरोह–अवरोहको क्रममा अनुभूत गरेको सामाजिक विषयवस्तुलाई कथामा उन्ने प्रयास गरेको छु ।”, शर्मा भन्छन् ।

घुमिफिरी रुम्झाटार अथवा अंग्रेजीमा “ब्याक टु स्क्वायर वान“ भने झैँ पुस्तकको शिर्षक नै निकै रोचक छ । यस कृतिको अर्को आकर्षण भनेको लेखककी कान्छी छोरी विधा शर्माले एउटा कथाको समानान्तर वा पूरक कथा समेत लेखेकी छिन्, जुन यही किताबमा संलग्न छ । यस कृतिलाई तलेजु प्रकाशनले प्रकाशन तथा वितरण गरेको छ । तलेजु प्रकाशन, नेसनल बुक हाउस लगायतका पुस्तक पसलहरुमा आजैबाट सर्वत्र उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्