ओमिक्रोन, मधुमेह, उच्च रक्तचापको चपेटामा नागरिक



  • रमेशकेशरी वैद्य

अहिले संसारमा मानिसहरुको सबभन्दा ठूलो शत्रु नै रोग बनेको छ । थाहा छैन, रोगहरु किन यसरी बढिराखेका छन् । जुन रोकिने लक्षण नै देखिराखेको छैन । यही कारणले होला, धनी–गरिब सबलाई विभिन्न रोगले सताइराखेको छ । तर जुनसुकै रोग लागे पनि धनी नेताहरु बाँच्न सफल हुन्छन् । जति पनि गरिब तथा मध्यम वर्गका व्यक्तिहरु हुन्छन्, तिनीहरु या त छट्पटाएर बस्छन् अथवा मृत्युवरण गर्न बाध्य हुन्छन् । तर यो मामलामा खराब तथा गलत गर्ने मानिसबाहेक निर्दोष मानिसहरु पनि विभिन्न रोगका सिकार भइराखेका छन् ।

अहिले संसारमा कोभिड–१९ त छँदै छ, त्यसमाथि यसको ओमिक्रोन भेरिएन्ट समस्याले तहल्का मच्चाइराखेको छ, जुन अफिक्री देशबाट शुरुवात भएको मान्न सकिन्छ । हुन त यसका लागि सरकारले बुस्टर डोजको शुरुवात गरिसकेको छ, तैपनि पर्याप्त जनसंख्याले यो प्राप्त गर्न सक्ने देखिएको छैन । कतिपयले त कोभिडको पहिलो र दोस्रो डोज नै लगाएका छैनन् । त्यसैले सरकारले छिटोभन्दा छिटो जनतालाई पहिलो र दोस्रो डोज लगाइसक्नुपर्यो । यसका अलावा मास्कमा कडाइ गर्नुपर्यो । भारतको बोर्डरमा कडाइ गर्नुपर्यो । यसमा सरकार चुक्नु नै सरकारको भविष्य खराब हुनु हो । किनकि गफ र राजनीतिक कुरामा अल्झिने समय होइन यो ।

अहिले कोभिडबाहेक पनि मानिसहरुको जीवनमा सुगर, प्रेसर, थाइराइड, किड्नीमा समस्या, क्यान्सरजस्ता रोग बढिरहेको देखिन्छ । यसले जनमानसमा चिन्ताको विषय बनाएको छ । यस्तो बेला किड्नीको समस्या तथा क्यान्सरजस्ता रोगले कुन रुप लिन्छ, त्यो समयले देखाइहाल्छ । यसमा पनि प्रायः पैसावालाहरु बचिराखेका हुन्छन् । बाँकी व्यक्तिको जीवनमा पैसा पनि सकिने र शरीर पनि सकिने अवस्था देखिराखेकै कुरा हुन् ।

वास्तवमा भन्ने हो भने अहिलेको समय नै अनुकूल छैन । मौसमी वातावरणमा फेरबदल र खानपिनमा हेलचेक्र्याइँले मानिस रोगी भइरहेको छ । अशुद्ध खाद्यपदार्थले गर्दा पनि मानिसमा यस्ता रोगहरु तीव्र रुपमा फैलिराखेका छन् । यस्ता रोगहरुको मामलामा मानिसहरु विभिन्न तर्क लगाउने गर्दछन् । एक हिसाबले ठूला–ठूला रोगहरु क्यान्सर, किड्नीको समस्याजस्ता रोग त हामीले भरपूर प्रयासबाहेक भगवान्लाई गुहार्ने हो तर सुगर, प्रेसरजस्ता रोगहरु बढाउन नदिनु अथवा कन्ट्रोल गरिराख्नु हाम्रै हातमा छ । यसका लागि निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ ।

१. सर्वप्रथम सुगर, प्रेसरका बिरामीहरुले डाक्टरले दिएको दबाई नछाड्ने, खान नबिर्सने तथा परामर्श डाक्टरसँग लिइराख्ने हो ।
२. जसलाई सुगर प्रेसरले सताइराखेको हुन्छ, उनीहरुले सधैँ बिहान एक घण्टा हिँडडुल गर्नुपर्छ । बाहिर जान अल्छी लागेमा, रुघाखोकीको डर भएमा आफ्नो घरको भ¥याङमा तल–माथि गर्ने गर्नुपर्छ । यति गर्न पनि अल्छी लागे आफ्नो कोठामा नै झ्यालढोका खोलेर १०–१५ मिनेटदेखि आधा घन्टासम्म व्यायाम गर्नुपर्छ ।
३. जसलाई सुगर, प्रेसरले सताइराखेको छ, यस्ता व्यक्तिले दैनिक मेथी, करेलाको तरकारी आदि खाँदा राम्रो हुन्छ । यसबाहेक अलिकति मेथीको झोल सुगरका बिरामीले र अलिकति करेलाको झोल प्रेसर भएकाले बिहान–बेलुका खाँदा राम्रो हुन्छ । यदि निर्बलियो व्यक्तिलाई यी चिजहरुले कमजोरी बनाउँछन् भने नखाँदा बेस हुन्छ ।
४. सुगरका बिरामीले चिया, कफी कहिल्यै पनि नखाए हुन्छ । यदि खान नै मन लागेको खण्डमा कहिलेकाहीँ सुगर फ्री ट्याब्लेट राखेको आधा गिलास चिया या कफी खान सकिन्छ ।
५. जसलाई प्रेसरको बिमारी छ, तिनीहरुले काँचो लसुनलाई टुक्रा गरेर बिहान–बेलुका दुई पोटी खाँदा शरीरलाई राम्रो तथा प्रेसर कम गर्न मद्दत पुग्छ । तर पाइल्सको रोगले सताइराखेको छ भने लसुन नखाँदा राम्रो हुन्छ ।
६. सुगर, प्रेसरका बिरामीले दिनको आठ–दश गिलास पानी घन्टा–घन्टामा पिइराख्नुपर्दछ । यो बाहेक बिहान कागती–पानीले शरीरलाई राम्रो बनाउँछ ।
७. अहिलेको अवस्थामा मिठाई पसलेहरुले जनमानसको समस्यालाई हेरी धेरै चिनी हालेर रोटी। मिठाइ पकाउनुहुँदैन । जस्तै– बिहानको खाजा जेरी, मालपुवा, सेल आदिमा चिनीको मात्रा कम गरेर बनाउँदा सबैलाई फाइदा हुन्छ ।
८. सुगर, प्रेसरका रोगीहरुले धेरै भोजभतेर, पिकनिक, दैनिक खुराकहरुमा पनि कन्ट्रोल तथा कमी गर्नु आवश्यक छ । त्यस्तै आलु, भात, चिल्ला कुराहरुको सेवनमा पनि विचार पुर्याउनु जरुरी छ ।

प्रायः मानिसहरुलाई यी कुराहरु थाहा पनि छ । कतिपयलाई थाहा नहुन पनि सक्छ । सबैले यी कुरालाई व्यवहारमा उतार्नुपर्छ । हाम्रो समाजमा एउटा खट्किएको कुरा के छ भने, कसैलाई राम्रो कुराका लागि राय सुझाव दिँदा पनि यो त हामीलाई थाहा भएकै कुरा हो नि भनेर मनमा लिने गर्दछन् । तर यो सानो सोच र गलत सोचाइ हो । यस्ता व्यक्तिहरु हाम्रो देशमा धेरै छन् । राम्रा मानिसहरु मिलेर यस्ता मानिसहरुको सोच बदल्ने हो । जीवनमा मानिस भएर जन्म लिएपछि आपूmसँग भएको ज्ञान शेयर गर्ने हो, जसले गर्दा व्यक्ति, घर, परिवार, समाज आदि राम्रो हिसाबले परिवर्तन हुँदै जान्छ । सधैँ खाने, पिउने, द्वेष गर्ने, चाकडी गर्ने, तमासेजस्तो मात्र भएर बस्नुहुँदैन । यसले मुलुकको द्रुत विकास कहिल्यै हुँदैन । हाम्रो मुलुकमा द्रुत विकासमा ढिलाइ भइराखेको यस्तै लालच र स्वार्थ सोचले गर्दा नै हो ।

एकपल्ट फेरि भन्नुपर्दा हाम्रो मुलुकमा अहिले रोगहरुका कारण समाज आकुलव्याकुल छ । तैपनि देश चलाउनेहरु अझै परिवर्तन हुन सकिराखेका छैनन्, जसले गर्दा मुलुक अझै ‘खनखन गोपाल छमछम राजनीति’ भइराखेको छ ।

सधैँ काण्ड नै काण्डमा अल्झिराखेको हाम्रो मुलुक अहिले बतास काण्डमा आएर जेलिएको छ । अझै कतिवटा काण्डहरु पार गर्नुपर्ने हो, थाहा छैन । अब त एकपल्ट परिवर्तन हुनै पर्ला देश चलाउनेहरु, महँगी, शिक्षा, स्वास्थ्य, राजमार्गका कुराहरुलाई लिएर । दाताले दिएको रकम, रेमिट्यान्सको रकम, जनतासँग लिएको रकम आदिले देशमा तहबह मिल्नु जरुरी छ । तर यहाँ त देश चलाउनेहरुलाई जति भने पनि नलाग्ने देख्दा यिनीहरुको दिन नै बलियो र भगवान्ले पनि यिनीहरुलाई नै साथ दिइराखेको जस्तो लाग्छ । मुलुक सधैँ यसरी चल्दैन । राम्रो समय अवश्य आउँछ । त्यसकारण यस्तो अवस्थामा समाज बलियो भएर परिवर्तन हुनु जरुरी छ अनि मात्र यो मुलुकमा सर्वसाधारणको पक्कै राम्रो दिन आउनेछ ।

प्रतिक्रिया दिनुहोस्