आलोचना सहन सक्ने नेता !



  • केशव अधिकारी

प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरले नेपालका प्रधानमन्त्री भएर निकै लामो समय शासन चलाए । उनका सामुमा कसैले केही भन्न नसके पनि उनका नजिक रहेर काम गर्नेहरुले उनलाई सेतो बारुलो उपनाम दिएर आलोचना गर्थे । शायद सेतो बारुलो भनेर सुन बारुलोलाई भनिएको हुन सक्छ । सुन बारुलाको डसाइ निकै विषालु हुने भएकाले त्यसको असर धेरै बेरसम्म रहन्छ । त्यस्तै जङ्गबहादुरले पनि आफ्ना आलोचक वा शत्रुलाई सुन बारुलाले जस्तै डसाइको सजाय दिन्थे होलान् र नै सुन बारुलो भनिएका होलान् । उनलाई राम्रो काम गरेबापतचाहिँ यो उपनाम कुनै हालतमा दिएको होइन । कसैले कसैको आलोचना गर्छ भने उसका खराब वा नकारात्मक व्यवहारको आलोचना गर्छ । आइन्दादेखि त्यस्ता काम नगरोस् भन्ने भावना निहित भएर आलोचना गरिएको हुन्छ ।

जङ्गबहादुरपछिका अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई उनका आलोचकहरूले फिस्टे महाराजको उपाधि दिएर घुमाउरो पाराको आलोचना गर्थे । अहिलेको जस्तो सञ्चारमाध्यमको विकास नभइसकेको तत्कालीन अवस्थामा उनीहरूका पछाडि जति आलोचना गरे पनि उनीहरुका सामुमा प्रकट हुने हिम्मत कसैको थिएन । यो हिम्मत नभएपछि आफ्ना कमी–कमजोरी र व्यवहारका कारण राखिएका उपनामहरु आलोचकका पछाडिका आलोचनाभन्दा अधिक केही थिएनन् । आलोचित हुनेहरुले पनि सुन्नुपरेको थिएन । कुनै माध्यमबाट सुनिहाले पनि त्यस्ता जाबा आलोचनालाई पचाउन उनीहरुलाई दालभात खाएसरह हुन्थ्यो होला । अझ पहुँचवालाहरुले त आफ्ना कैयौँ आलोचकहरुलाई सजाय नै दिन पनि सक्थे होलान् । राणा शासनअगाडिभन्दा पनि धेरै अगाडिका नेपाल एकीकरणका नेता पृथ्वीनाराण शाहले काठमाडौँको कीर्तिपुर राज्य विजय गरेपछि त्यहाँका सबै बासिन्दाका नाक र कान काटिदिएका थिए रे भनेर कोही–कोही इतिहासकारले लेखेको भेटिन्छ । त्यसरी जिउँदा मान्छेका नाक–कान काट्दाको अवस्थामा उनको कत्रो आलोचना भयो होला ? भनेर हामी सहजै अनुमान लगाउन सक्छौँ । तर त्यो आलोचना न उनले सुनेर कुनै प्रतिक्रिया जनाए, न त काटेको होइन भनेर कुनै प्रमाणका चिन्ह खडा गरेर सुरक्षित बनाउन सके । उनको त्यस कमजोर पक्षका कारण आजभन्दा झन्डै अढाइ सय वर्षअगाडि (वि.सं. १८३१) मा बितेका उनले आज पनि त्यो आलोचना खेप्नुपरिरहेको छ ।

नेपालमा २००७ सालमा राणाशासन खत्तम भएर प्रजातन्त्र आयो भनियो । राणाशासन कालमा भन्दा प्रजातान्त्रिक कालमा केही मात्रामा भए पनि जनचेतना जाग्ने कामले तीव्रता लिँदै गएको थियो । थोरैतिन भए पनि शिक्षालयहरू खोलिँदै थिए र आम जनताको मनमा चेतनाको दीप बल्दै थियो । तत्कालीन अवस्थाको नेपालको राजनीतिमा हाबी भएका र राणाशासन ढालेरै छाड्यौँ भन्ने नेताहरु विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह आदिजस्ता नेताहरूले बल्ल स्थापना भएको भनिएको प्रजातान्त्रिक व्यवस्थालाई जोगाउन नसकेर आपसमा रोइलो गर्नाले प्रजातन्त्र स्थापना भयो भनिएको एक दशक लामो समय पनि बित्न नपाउँदै पुनः पञ्चायती व्यवस्था लादिन पुगेपछि सचेत नेपाली जनताले ती नेताहरूको आलोचना गरेर धज्जी उडाउने काम नगरेका होइनन् । सचेत जनताले त्यत्रो आलोचना गरेर शासन सञ्चालनमा अक्षमताको बिल्ला भिराइसक्दा पनि त्यो आलोचनालाई पचाएरै लाचारीका साथ शासन सत्ताकै वरिपरि घुमेर कुकुरले मासु ढुकेको जस्तो अभिनय गरिरहेका थिए । अलि पुरानो जमानालाई छोडेर विज्ञान प्रविधिसँगै थपिएका सञ्चारमाध्यमहरुको पर्याप्तता भएको अहिलेको युगमा आम जनता पनि निकै सचेत भएर राजनीतिको मैदानमा नेताहरुले गरेका गलत हर्कतका बारेमा स्वस्थ आलोचना गर्न सक्ने भएका छन् । राजनीतिसँग सम्बन्धित नेताहरुले गरेका हरेक कुकर्मका फेहरिस्त दुरुस्तै उनीहरुका सामु पेस गरेर उनीरुले गरेका आपराधिक हर्कतहरुको पर्दाफास राम्रैसँगले गर्न सक्ने भइसकेका छन् । यति धेरै कुरा भइसकेर पनि पुरानो अनि परिमार्जन हुनै नचाहने दिमागको टाउको भएका नेताहरू भने ती सचेत जनतालाई अन्यौलमा राखेरै वा भनौँ थाङ्नामा सुताएरै आफ्नो बठ्याइँ र धुत्र्याइँ पेस गर्नमा ज्यादै गहिरोसँग वा जीउ छोडेर लागिपरेका पाइन्छन् ।

नेपालका पहिलो प्रधानमन्त्री भनेर चिनिने भीमसेन थापाले आफू सत्तामा आइसकेपछि आफ्ना विरोधी पाण्डेहरूको नामेट पारेका थिए । त्यति गर्दा सचेत जनस्तरबाट पक्कै पनि उनको त्यो खराब कामको आलोचना भयो होला । आलोचना भएर पनि उनले सुन्दै नसुन्नु र आलोचनाबाट जोगिन खोज्नु, आफूले गरेका कुकार्यले सचेत जनस्तरमा परेको नकारात्मक असरलाई घटाउने काममा लाग्नुजस्ता उपायहरुको साटो अरु असम्भव उपायहरु अवलम्बन हुन पुगे । जसको परिणाम भीमसेन थापाको त्यो बीभत्स हत्याको घटनामा आएर केही साम्य वातावरण सिर्जना हुन पुग्यो । त्यही कारणले गर्दा प्रखर नेतृत्वले सत्ता सम्हालेका कुनै पनि कालखण्डमा शासन सत्ताको बागडोर सम्हाल्नेहरु किन यति धेरै व्यक्तिवादी बन्छन् र सचेत जनताका स्वस्थ आलोचनालाई पचाएर वा एक कानको सुनाइ अर्को कानको उडाइमा परिणत गर्ने गर्छन् ? यो एउटा अनुसन्धानको विषय बन्न सक्छ । हाम्रा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वराजा ज्ञानेन्द्रले तत्कालै अक्षम प्रधानमन्त्रीको बिल्ला भिराएर अक्षमताको आलोचना खेप्नुपरेको थियो । तर उनी अझै पनि थेत्तरो भएर, सबैभन्दा पुरानो राजनीतिक दलका अध्यक्ष वा सभापति बन्ने दौडमा लागेर, ६ यन्त्रको प्रयोग गरेरै भए पनि सभापतिको कुर्सीमा हाबी हुन पुगेर ढुक्कसँग शासन चलाउँदै छन् । अहिले पनि उनीमाथि धेरै प्रकारका उनका कमजोर पक्षका बारेमा आलोचना हुने गरेका छन् । उनी यी कुरा सुन्न मारे पनि तयार छैनन् । एउटा हठमा वा एउटा जिद्धीमा अडिएका छन उनी । उनको अड्याइको आधार, अझै नेपाल देशलाई केही गरेर देखाउँछु भनेर दिउँसै उनी ढाँटिरहेका छन् । आम जनता त छाडौँ उनकै कार्यकर्ताले नपत्याए पनि आफ्नो भनाइ पत्याऊ भनेर उनी दबाब दिइरहेका छन् ।

नेपाली काङ्ग्रेसबाहेककै पनि अन्य राजनीतिक दलका नेताहरुलाई समेत धेरै प्रकारका आरोप लागेका छन् । उनीहरुमाथि लाग्ने गरेका ती आरोप धरातलीय यथार्थ भए पनि तिनलाई मान्न र अबदेखि त्यस्ता गलत हर्कत नदोहोर्याउने भन्ने पक्षमा कोही पनि लागेका पाइँदैनन् । लाडकु दल भनेर चिनिने माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड (पुष्पकमल दाहाल) लाई १७ हजार नेपालीको ज्यानमारा भनेर आलोचना गर्ने गरिन्छ । दशबर्से जनयुद्धका सुप्रिम कमान्डर उनी नै भएकाले यो आरोप र आलोचना सत्यमा आधारित भएर पनि त्यस आलोचना र आरोपलाई स्वीकार गर्न उनी तयारै छैनन् । बरु स्वीकार गर्नुको साटो एक कानले सुनेर अर्को कानले उडाउने बानी हाबी हुँदै गएको पाइन्छ । कमरेड प्रचण्डले पनि सुन्दै र पचाउँदै गर्दै छन् । माओवादी केन्द्रको भर्खरै सम्पन्न भएको महाधिवेशनमा कमरेड प्रचण्ड आफैँले प्रस्ताव पेस गरेर २३६ जनाको केन्द्रीय समिति गठन गर्दा निकै हतारिएर गरेका थिए । आफूले सर्वप्रथम अध्यक्षको कुर्सी ढाकिहाल्ने, अरु विभिन्न क्षेत्रबाट मनोनयन गराउने सदस्यहरुमध्ये कैयौँको सिट खालि नै राखेर भए पनि आफूले सुप्रिम पदको कुर्सीमा आसन जमाएर गलाभरि सयपत्रीका माला र खादाले टम्म पार्न लगाई निधारमा सकेसम्म अबिर घसेपछि क्रान्तिकारी भनेर कसले नपत्याओस् भन्ने हेतुले त्यसो गरेका हुन सक्छन् । महाधिवेशनको पछिल्लो दिन उनी भन्दै छन्, अब चुनावपछिका दिनमा अर्को महाधिवेशन पनि गर्नुपर्छ । उनका तालुकमा रहेका सबैजसोले उनको भनाइ सकिन नपाउँदै परर्र ताली पिटेपछि सचेत जनताले हुन् वा दशबर्से युद्धमा घाइते वा अपाङ्ग हुन पुगेकाले सचेत आलोचना गरुन्, के मतलब उनलाई ।

दुई–दुईपटक प्रधानमन्त्री बन्दासमेत एउटा सिन्को भाँचेर देखाउन नसक्ने विचराको फेरि आफ्नो दललाई सबैभन्दा ठूलो बनाएर अनि आम जनताको सेवा गरेर देखाउने भन्ने विवादास्पद भनाइप्रति सचेत र पूर्वाग्रहबेगरको आलोचना नगरी के गर्ने त ? हिजोसम्म राजा–महाराजाको गुणगान गाएर नथाक्ने राप्रपाका हरुवा अध्यक्ष कमल थापा राजेन्द्र लिङ्देनले बहुमतले जितेर अध्यक्ष बनेपछिका दिनमा राजतन्त्रप्रति विष बमन गर्न थालेका छन् । उनको यो हर्कतले राजनीति बुझेका तर राजनीतिमा सामेल नभएका सोझा–सीधा मान्छेहरुलाई अचम्मित बनाएको छ । कहिले त कमल थापाले नै बोलेका शब्द हुन् त यी भनेर विश्वास मान्न पनि गाह्रै पर्ने हुन थालेको छ । हिजोका दिनसम्मको कमल थापाको चुरिफुरि र चुनावमा पराजित भएपछिका दिनदेखिको विष बमनले उनको सक्कली रुपचाहिँ कुन हो त ? भनेर आलोचना हुन थालेको छ । छेपाराले रङ फेर्दो रहेछ भन्ने कुरा कमल थापाको भाका फेराइको तरिकाले बुझाउन सजिलो बनाइदिएको छ । यसरी मौसम वा वातावरण अनुसारको भाका फेराइले आम जनताको उनीहरुप्रतिको विश्वास टुटेर जान थालेको छ भने उनीहरुको असली रुप पहिचान गर्न निकै गाह्रो भएको छ । राप्रपाका नेता कमल थापा राजावादी हुन् कि होइनन् भनेर कसरी ठम्याउने ? उनी राजावादी हुँदा आफ्नो कुन स्वार्थ पूरा गरौँला भनेर राजावादी बन्दा रहेछन् ? राजावादी बन्दै गर्दा नै धोका पाएपछिका दिनमा कति चाँडै उनको भाका फेरिँदो रहेछ भन्ने कुरा निकै आश्चर्यमय छ ।

नेकपा एमालेका अध्यक्ष र आफूलाई सर्वशक्तिमान् नेताका रुपमा चिनाउन खोज्ने केपी शर्मा ओलीले झन्डै ३ वर्षको समय नेपालका कार्यकारी प्रधानमन्त्रीका हैसियतमा बिताउँदा उनले हावा गफ र टुक्का सुनाउनेभन्दा अरु खासै उल्लेख्य काम गरेको पाइएन । टुक्के उखाने, प्रधानमन्त्री भनेर पनि उनको आलोचना भएको पाइयो । उनी खासै सक्षम प्रधानमन्त्रीका रुपमा पनि उभिन लायक रहेनन् । यसरी अक्षम बनेपछिका दिनमा हरेक सचेत जनस्तरबाट उनको आलोचना नहुने कुरै भएन । तर सचेत जनस्तरबाट भएको उनको स्वस्थ आलोचनाले उनलाई एक थोपो पनि छोएको पाइएन । बरु एउटा कानले सुनेर अर्को कानले उडाउने मात्र काम गरे ।

आजको युगमा सञ्चारका धेरै साधनको उपयोग गरेर आम नागरिकले नेताहरुका गलत कर्मको स्वस्थ आलोचना गर्ने गरेका सकारात्मक पक्ष त छँदै छन् तर तिनलाई नेताहरुले सुन्दै नसुनी वा पढ्दै नपढी तिनका भावनालाई बुझेर जीवनमा अवलम्बन गर्ने काम गर्दै गरेनन् । यस्ता स्वस्थ आलोचना केवल लाचारीका साथ पचाएरै बस्छन् भने योभन्दा ठूलो विडम्बना अरु के होला ? यस्तै हो भने यो देशको राजनीतिक र सामाजिक अवस्था कसरी सुधारिएर लैजान सकिएला भन्ने अबको मूल प्रश्न हो ।

प्रतिक्रिया दिनुहोस्