नेपाली युवा उद्यमी मञ्च र यती एअरलाइन्स बीच सहकार्य

नेपाली युवा उद्यमीहरुले यती एअरलाइन्समा सहुलियत पाउने



न्युज अफ नेपाल, काठमाडौं ।

नीजि क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ । सम्झौतासँगै यती एअरलाइन्स अबदेखि मञ्चको आधिकारिक एअरलाइन्स बनेको छ ।

यती एअरलाइन्सको कार्यालयमा आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे।

मञ्चमा आवद्ध सदस्य उद्यमीहरुले यती एअरलाइन्सको जहाजमार्फत् आवतजावत गर्दा सहुलियत पाउनेछन् । युवा उद्यमीका विभिन्न प्रदेशमा हुने तालिम, सभा, सम्मेलन, गोष्ठी तथा कार्यक्रमहरुमा यात्रा गर्दा यती मोबाइल एप अथवा सदस्य कार्ड मार्फत् यती एअरलाइन्सको गन्तव्यहरुमा सहुलियत प्राप्त गर्न सक्ने, यती स्काई–क्लब कार्यक्रममा सहकार्य गर्ने लगायत विषयमा सम्झौता भएको छ ।

 

कार्यक्रममा यती एअरलाइन्सका सिईओ रिमालले समृद्ध मुलुक निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपालका युवा उद्यमीलाई अगाडि बढाउन यती एअरलाइन्स सधैं सहकार्य गर्न तयार रहेको बताए । भविष्यका दिनमा पनि युवा उद्यमीहरुलाई लक्षित गरी थप सहकार्य गर्दै जाने उनको भनाई छ ।

नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष श्रेष्ठले युवाहरुलाई उद्यमको क्षेत्रमा अगाडि बढाउन यस्ता किसिमका सहकार्यले सहयोग हुने र देशभरका युवाहरुलाई जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । सन् २००३ मा स्थापित नेपाली युवा उद्यमी मञ्चमा हाल देशभर ७०० भन्दा बढी सक्रिय युवा उद्यमीहरु आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्