महँगीले आकाश छोयो



चाडबाड विशेष नजिकिँदै जाँदा बजारमा महँगीले सीमा नाघ्छ । सरकारद्वारा अनुगमन प्रभावकारी रुपमा नगर्दा पनि महँगीले सीमा नाघेको हो । नेपाल सरकारले बजार अनुगमन नगर्दा व्यापारीहरुले आफूखुशी सामानको मूल्य निर्धारण गरेर जनता ठगिरहेका छन् । निरन्तर बढिरहेको महँगीका कारण सर्वसाधारणलाई चुल्हो बाल्न धौ–धौ परेको छ ।

व्यापारीले आफूखुशी सामानको मूल्य निर्धारण गर्दा सर्वसाधारणहरु मारमा परेका छन् । बिहान कमाएर बेलुका गुजारा गर्नेहरुलाई के चाडबाड, के अरु दिन, सधैँ उस्तै छ । नेपालीहरुले सबभन्दा धेरै चाडबाड मनाउँछन् । बर्सेनि सयौंको संख्यामा नेपालीहरुले चाडबाड मनाइरहेका हुन्छन् । चाडबाडको मौसम शुरु हुनेबित्तिकै व्यापारीहरुले मौका छोपेर सामानको मूल्य बढाउँछन् । व्यापारीहरुले सामानको मनलाग्दी भाउ राख्ने र जनता ठग्ने काम गरिरहेका हुन्छन् । हरेक वस्तुको रेट व्यापारीको जिब्रोमा छ । व्यापारीले जति भन्यो उपभोक्ताले त्यति नै तिर्नुपर्ने हुन्छ ।

बजारमा पाइने कुनै पनि सामानको मूल्य निर्धारण सरकारले गरेको छैन । सामान बनाउने कम्पनीले पनि मनलाग्दी नाफा राखेर रेट राखेका हुन्छन् । कुनै पनि व्यवसायीले आफूलाई घाटा हुने गरी मूल्य निर्धारण गर्दैन । खानयोग्य नभएका सामानहरु पनि कम्पनीले म्याद थपेर बजार पठाइरहेका हुन्छन् । स्वास्थ्यलाई असर पर्ने, गुणस्तरहीन सामानहरु पनि बजारमा बिक्रीका लागि राखिएका हुन्छन् । सामान किनेर उपभोग गर्नेलाई गुणस्तर छ कि छैन भनेर थाहा हुँदैन । तोकिएको जति तौल भए/नभएको अत्तोपत्तो हुँदैन । यता, म्याद थपेर हो कि ताजा हो, स्वास्थ्यको लागि कति फाइदाजनक, त्यो पनि थाहा हुँदैन ।

पछिल्लो समाय बजारमा छ्याप्छ्याप्ती डुब्लिकेट सामान पाइन्छन् । यस्ता डुब्लिकेट र गुणस्तरहीन सामानले मानिसको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । यस्ता खाद्यान्नले हड्डी खिइने, क्यान्सर निम्त्यिाउने, सुगरजस्ता रोगहरु लाग्दछन् । ढक–तराजुको तल केही राखेर पनि उनीहरुले ठगिरहेका छन् । सरकारको लापरबाहीले गर्दाखेरि जनताको पैसा बालुवामा पानी मिसाएझैँ भएको छ । यस्तो केमिकलजन्य खाद्यान्न प्रयोग गर्दाखेरि मानिसहरुको आयु घटिरहेको छ । कुखुरादेखि लिएर हरियो सागसब्जीमा विषालु औषधि राखिने गरेको छ । तौल बढ्ने भएपछि व्यापारीहरुले सुई हान्ने गरेका छन् ।

व्यापारीहरुले धर्म छोडेर पैसाको पछि दौडिँदा जनता ठगिएका छन् । अहिले माघे संक्रान्ति भर्खर गयो । बजारमा माघे संक्रान्तिको लागि सामान किन्नेको चाप बढेको थियो । तर, पसलैपिच्छे सामानको रेट फरक देखियो । ठूल्ठूला व्यापारिक मलदेखि लिएर फुटपाथमा भिन्दाभिन्दै रेट तोकिएको छ । तर, आफूखुशी रेट राखेर जनता ठग्ने व्यापारीलाई कानुनको दायरामा ल्याउन न जिल्लाका प्रमुखहरु तातिन्छन्, न नेताहरु नै । मेयर त नामको मात्र हुन्, तिनको काम केही पनि छैन । उपत्यकामा केही दिनअघिदेखि कोरोनाको जोखिम ह्वात्तै बढेको छ । सबैभन्दा बढी संक्रमित पनि उपत्यकामा नै छन् । तर, बजार हेर्ने हो भने मेला लागेभन्दा पनि बढ्दो छ ।

चाडबाडको लागि खरिद गर्न आउने यत्तिकै छन् । यसरी चाडबाड मनाउने नाममा कोरोना फैलाउँदा पनि जिल्ला प्रमुखहरुले अनुगमनमा खासै चासो देखाउँदैनन् । महँगो सामान किन्न पनि बजार भीड लागेको देखिन्छ । बजारमा यत्रो भीडभाड बढ्दा र कोरोना फैलिँदा पनि सरकारले कोरोना नियन्त्रण गर्न कुनै योजना बनाएको छैन । सरकारको लापरबाहीले दोस्रो लहरमा भन्दा तेस्रो लहरमा बढी मानिस मर्ने देखिन्छ । काठमाडौंको सरकारी र निजी अस्पताल कोरोनाका बिरामीले भरिपूर्ण भइसकेका छन् । खोप लगाएकालाई कोरोना लाग्देन भनेर झुटा प्रचारप्रसार गरिरहेका छन् । तर, अस्पतालमा सबैभन्दा धेरै खोप लगाएका कोरोनाका बिरामी छन् ।

राजस्वको लोभमा सरकारले यसरी झुटा प्रचारप्रसार गर्न पाउँदैन । खोप लगाएकालाई पनि कोरोना संक्रमित भएर मरेको सरकार नै बताउँछ । खोप किन्दा जनताले तिरेको कर खर्च भयो तर बाँच्ने सुनिश्चितता पाइएन । हिजोआज खोप लगाउनको लागि बिहानदेखि अस्पतालमा आएर लाइनमा बसेको देखिन्छ । खोपको नाममा पनि महँगी बढाइएको छ ।
माछामासुदेखि लिएर दैनिक उपभोग्य सामानहरुको मूल्य पनि निरन्तर उकालो लागिरहेको पाइन्छ । महिनामा ८ देखि १० हजार कमाउनेहरुले खान नसक्ने भइसकेका छन् । कोठाभाडा तिर्नु कि खानु ? मासिक १० हजारमात्र कमाउनेले अब भोकभोकै हिँड्नुपर्ने दिन आएको छ । काम पाइँदैन, पाए पनि थोरै तलब हुन्छ ।

सरकारको लापरबाहीले सर्वसाधारणहरु मारमा परेका छन् । एकातिर सामान मँहगो हुन्छ, अर्कोतिर बासी । नेपालको मुद्रा सबै अन्य मुलुकले लगिरहेका छन् । हामी ट्वाल्ल परेर हेरिरहेका छौँ । एउटा सिटामोलको लागि समेत भारतको निर्भर बनेर बस्ने देश बन्यो नेपाल । त्यो पनि सरकारकै कमी–कमजोरीले । नेपालीहरुलाई आफ्नो मुलुक र माटोमा पसिना बगाउन लाज लाग्छ । तर, खाडीमा बसेर पसिना बगाउन उनीहरुलाई केही लाग्दैन । विदेशले नेपाललाई रोजगारी नदिने हो भने यहाँका सबै भोकमरी लागेर मर्छन् । हामीलाई बाँच्न धौ–धौ परिरहेका बेला यसपछिको पिँढी बसरी बाँच्ने ?

रोजगारीको अभाव छ, आफ्नो क्षमता अनुसार रोजगारी पाइँदैन भन्ने सोचाइ नेपालमा छ । मान्छेलाई लाउनभन्दा पनि खानको आवश्यकता पर्छ । खाद्यान्नको अभावमा मानिस बाँच्न सक्दैन । फरक यत्ति हो कि पैसा हुनेले राम्रो खालान् र पैसा नहुनेले आफ्नो स्तर अनुकूल । तर, खान त सबैलाई पर्छ ।

नेपाल सरकारले भनेको बेलामा बुद्धि नपुर्याउँदाखेरि उब्जनी हुने जग्गा खण्डीकरण गरी घर बनाएर सिद्धिसकेको छ । जनसंख्या दैनिक बढिरहेको छ । जनसंख्या बढ्नु भनेको खाने मुख बढ्नु हो । तर, नेपालको जमिन बढेको छैन, बरु घटिरहेको छ । नेपालीहरुको भएको जमिनहरु छिमेकी मुलुकहरुले पिल्लर सारेर कब्जा गरेका छन् । घर र बाटो गर्दागर्दै नेपालीको जग्गाजमिन सिद्धिसक्यो, जसको असर नेपालको खाद्यान्नमा देखिएको छ । केही वर्षपछि भोकमरी लाग्ने निश्चित देखिएको छ । केही गरी भारतले नाकाबन्दी लगाइदियो भने नेपाली जनता भोकभोकै मर्छन् । नेपालका नेताहरु दलाल हुँदा आज नेपाल नै सिद्धिने अवस्थामा पुग्यो ।

अझै पनि देशका नेताहरुलाई नघचघच्याउने हो भने नेपालको नामोनिसान रहँदैन । हामी नेपाली भनेर गर्व गर्छौं । नेपाली भएको प्रमाण बोकेर हिँडेका छौं । तर खाने, लाउने, चढ्ने, उपचार, औषधि सबै अरु देशबाट ल्याएकोबाट गर्छौं । अनि हामी कहाँ नेपाली भयौँ ? नेपालीहरुले वर्षौंदेखि सिकेको सीप खेतीयोग्य जमिन प्लानिङ गर्ने र घर बनाउने अनि भाडामा लगाएर बसी–बसी खाने । यसको नतिजा नेपालीले केही वर्षपछि अवश्य पनि भोग्नेछ । यी सबको कारण नै महँगी बढेको हो, सामानको भाउ, जग्गाको भाउ, औषधिको भाउ जता पनि उस्तै ।
सरस्वती शर्मा, भक्तपुर

प्रतिक्रिया दिनुहोस्