प्रेमको जात कतिन्जेल हेर्छौ ?



  • मिमबहादुर परियार

एउटा भनाइ छ, ‘प्रेम अन्धो हुन्छ’ अर्थात् मायाप्रेमले केही देख्दैन, सिबाय भावना हृदय र सामीप्यता । प्रेमका अगाडि जात, धर्म, वर्ण, सम्पत्ति, भूगोल र शक्तिको कुनै अर्थ हुँदैन । प्रेम विशुद्ध मनसँग जोडिएको हुन्छ । प्रेम यी मानव निर्मित कथित संरचनाभन्दा माथि रहेको मानिन्छ । यिनै कारणले गर्दा विभिन्न जातजातिका युवायुवतीबीच प्रेम हुन्छ ।

त्यही प्रेमलाई विवाहमा परिणत गर्ने धेरै इमानदार प्रेमीको चाहना हुन्छ । यस्तै इमानदारिता देखाउँदा, प्रेमको सम्मान गर्न खोज्दा, नेपालमा बर्सेनि अन्तर्जातीय दलित प्रेमीको कुटपिट, गालीगलौज, अपहरण, सम्बन्धविच्छेद र हत्यासमेत हुने गरेको छ । अन्तर्जातीय प्रेमविवाहले नेपाली समाजजस्तो जातवादी समाजमा ठूलो मूल्य चुकाउनुपरेको छ ।

अन्तर्जातीय प्रेम :
नेपाली समाजको चित्र हेर्दा सानो भूगोलभित्र विभिन्न जातजातिका मानिसहरु आँगन साटासाट गरेर बसेका छन् । जिउँदाका जन्ती मर्दाका मलामी भएका छन् । सबै जातजातिका बालबालिका एउटै विद्यालयमा पढ्छन् । काम पनि एकै प्रकारको गर्छन् । धर्म, चाडपर्व, रहनसहन, भाषा, संस्कार उस्तै हुन्छ । अर्कोतिर सँगसँगै पढ्छन्, साथ संगत गर्छन्, सुख–दुःख साट्छन् । अझ घुलमिल हुन्छन् र मन साटिएको पत्ता पाउँदैनन् । यी यावत कारणले गर्दा विपरीत लिङ्गका युवायुवतीको मन साटिन्छ, प्रेमी हुन्छन् ।

एकले अर्कोविना बाँच्नै नसक्ने अवस्थामा पुगेपछि यिनै असल प्रेमी तमाम कथित संरचना र चुनौतीलाई बेवास्ता गर्दै घरजमका निम्ति अटुट सम्बन्धमा गाँसिन चाहन्छन् अनि विवाह गर्छन् । मायाप्रेमले न जात, धर्म, रङ्ग, उमेर, भूगोल हेर्छ, न कुनै प्रकारको लोभलालच र धम्की । यो विशुद्ध भावना र स्नेहसँग सम्बन्धित हुन्छ । तर हाम्रो समाजमा प्रेममा जात हेरिन्छ । जात मिले स्वीकारिन्छ र नमिले विभिन्न तिकडम गरेर छुट्याइन्छ । नमाने निर्मम तरिकाले हत्या पनि गरिन्छ ।

विश्व साहित्यको सदावहार प्रेमगाथा रोमियो–जुलियट यसको एक गतिलो उदाहरण हो । लैला मज्नु, हीरा झाको प्रेम, वियोग र मृत्युको चर्चा आजसम्म चलिरहन्छ । नेपालमा पनि प्रेमीको हत्या भइरहन्छ । कथित जातले धेरै प्रेमिको हत्या गरेको छ । अन्तर्जातीय प्रेममा कथित जातको नाममा कलिला मनहरु चुँडिन्छन्, मारिन्छन् र गाडिएका छन् । रोमियो–जुलियट, लैला–मज्नुको जस्तै वियोगान्त भएका धेरै प्रेमीका घटना हाम्रै समाजमा घटेका छन् । नवराज, अजित र सेतेको मृत्यु अत्यन्त पीडादायी र दर्दनाक थियो ।

अन्तर्जातीय विवाहित दम्पतीको अवस्था :
अन्तर्जातीय विवाह विद्रोह हो, लडाइँ हो । जसरी लडाइँमा योद्वाहरु मारिन्छन् त्यसरी नेपालमा अन्तर्जातीय प्रेमीहरु कथित उपल्लो–तल्लो जातसँग प्रेम गरेकै आधारमा मारिएका छन् । यसका कैयौं ज्वलन्त उदाहरण हाम्रै समाजमा घटेका छन् । रुकुम नरसंहार, जहाँ पाँच युवाको निर्मम तरिकाले हत्या गरिएको थियो । आंगिरा पासी, सेते दमार्इं, अजित मिजारको हत्या भयो । केही महिनाअगाडि हुम्लाका चन्द्र कामी केटी पक्षबाट कुटपिट भएपछि केही दिन बेपत्ता भए । यी हत्या र बेपत्ताको मुख्य कारण भनेकै कथित दलितले उच्च जातकी युवतीसँग अन्तर्जातीय प्रेम र विवाह गर्नु नै थियो ।

सामाजिक अन्तर्घुलनको कोणबाट अन्तर्जातीय विवाहले कथित जात व्यवस्थामाथि ठूलो धावा बोलेको छ । दिनहुँ कथित जात व्यवस्थालाई चुनौती दिने र सामना गर्ने अन्तर्जातीय प्रेमी बढेका छन् । कानुन र प्रगतिशील चिन्तनले यसको ढोका खोलिदिएको छ । तर कथित सामाजिक संरचनाले अन्तर्जातीय प्रेमी र उनका सन्तानलाई एकदम बेखुसी बनाएको छ । भलै दम्पती खुसी छन् तर उनीहरूका सम्बन्धहरु जीवित भएर पनि मृतजस्ता छन् । स–साना नानीहरूले मावली देख्न पाएका छैनन् । हजुरबुबा–आमाको लाड प्यारबाट वञ्चित छन् । यो अवस्था सम्झिँदा र सुनाउँदा धेरै दम्पतीहरु भक्कानिन्छन् ।

कथित जात व्यवस्थाले मानिसलाई कति पीडा, तनाव र यातना दिएको भन्ने थाहा पाउनको लागि जातको प्रश्न नामक टेलिभिजन कार्यक्रम हेर्नू । अझ उच्च जातीय अहंकार र रवैया हेर्न र बुझ्न टेलिचलचित्र दलन हेर्नू । बेला–बेलामा राष्ट्रिय आमसञ्चारका माध्यममा छापिरहेका र प्रसारण भइरहेका समाचारले कथित जातले नेपाली समाजको चित्र कसरी निर्माण गरेको छ, त्यो पढ्नू–बुझ्नू । त्यहाँ प्रस्तुत गरिएका पात्रको अभिव्यक्ति, अवस्था र अनुभव सुन्दा आँखा अवश्य रसाउँछ । भलै भौतिक तवरमा मानिस सबल देखिन्छन् तर भित्री पीडा र मर्मले मानिसलाई असह्य पीडा दिएको हुन्छ ।

समाजको जातप्रतिको भाष्य :
देशमा भएका राजनीतिक व्यवस्था परिवर्तनले गैरदलित र दलितमा केही सुधार देखिए पनि पारिवारिक सम्बन्ध स्थापनाको सवालमा भने दलितप्रति गैरदलित समुदाय एकदम तुच्छ देखिएका छन् । भलै एकथरी गैरदलित झुन्डले समाजमा खुलेआम दलितका मुद्दामा अब पहिला जस्तो छैन, हामी सब बराबर, मेरा दलित साथी छन्, उनको घरमा गएर खाना खान्छु भनेर ठूलै क्रान्ति गरेको कथा सुनाउँछन् । उनीहरूको जातीय छुवाछूत, भेद्भावप्रतिको भाष्य सुन्दा दलितको हातको खाए, बोले विभेद समाप्त हुन्छ भन्ने रहेछ । वास्तवमा यस्ता व्यक्तिहरुमा भएको भ्रम र गलत चिन्तनले दलितका समस्या घटाउनुको साटो बल्झाउने काम गरेको छ । यस्ता तर्क दिने व्यक्तिले कति दलितलाई पारिवारिक सम्बन्ध स्वीकार्न सहयोग गरेका छन् त ? कतिले आफ्नै जातकालाई जस्तै दलितलाई मागी विवाहमा छोरी दिएका छन् त ? निश्चितरुपमा छैन ।

गैरदलितका दलितसँग देखिएका केही समस्या यस्ता पनि छन्, जुन सुन्दा हाम्रो समाजको चिन्तनले हामी भित्रको संक्रिण सोचको उजागर गरेको छ । आज धेरै गैरदलितलाई दलितका थरसँग समस्या छ । दलित भएर दलितको परिचय खुल्ने थर किन नराखेको ? किन जात लुकाएको जस्ता अभिव्यक्ति सुनिन्छ । अर्को रोचक कुरा के छ भने, धेरै दलित र गैरदलितका उस्तै थर छन् । अझ कतिपय दलित र गैरदलितका गोत्र पनि मिलेका छन् । एकै धर्म, संस्कार, रीतिरिवाज भएका दलितलाई कथित गैरदलितले पराई ठान्ने गरेका छन् । एकातिर हामी सब बराबर छौं भन्ने अनि अर्कोतिर किन आफ्नो जात लुकाएर हाम्रो जात राखेको भन्ने । यस्तो चिन्तन भएकाले दलित र गैरदलितबीच सामाजिक र सांस्कृतिक सम्बन्ध कसरी स्थापना होला ? गैरदलितको जातप्रतिको बुझाइ एकदम घातक रहेको छ । जसको मूल उद्देश्य भनेको समाजमा जात व्यवस्था कायम राखेर दलितमाथि निरन्तर जातकै आधारमा दमन गर्ने, सामाजिक, सांस्कृतिक र राजनीतिक तहमा बहिष्कार गर्ने देखिएको छ ।

सुध्रिनुपर्ने गैरदलित :
दलित प्रेमीको प्रस्तुत माथि उल्लेख गरिएको अवस्था आउन कथित गैरदलित जमातको ठूलो हात रहेको छ । उनीहरूका रुढिवादी चिन्तनले विद्रोही मन खिन्न भएका छन् तर डराएका भने छैनन् । दलित र गैरदलितलाई एक बनाउने अन्तर्जातीय विवाहमा आपत्ति र अवरोध जनाएका यिनै द्वैधचरित्र भएका झुन्ड हुन् । अन्तर्जातीय विवाहलाई स्वागतभन्दा बहिष्कारको उपहार दिने, ठीक गर्यौँ भन्ने भन्दा बर्बाद गर्यौँ भन्ने झुन्ड यही हो । यस्ता चिन्तनले सामाजिक सद्भाव बिगार्ने काम मात्र होइन समाजलाई विभाजनको दिशातिर धकेल्ने गरेको छ ।

नेपालमा विवाहको सवालमा कानुनले तोकेभन्दा कम उमेरमा विवाह गर्ने धेरै छन् । विशेष गरी ग्रामीण तथा विकट भेगमा प्रायः बालविवाहको दर उच्च रहेको छ । नेपालमा अधिकांश बालविवाह परिवारकै आयोजनामा हुने गरेको सरकारी अध्ययन र अनुसन्धानले पुष्टि गरिरहेका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०११ अनुसार नेपालमा २० देखि २४ वर्ष उमेर समूहका ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष पुग्नुअगावै भएको छ । यही उमेर समूहका ११ प्रतिशत पुरुषको विवाह १८ वर्षभन्दा कम उमेरमा भएको उल्लेख छ ।

अर्को डरलाग्दो तथ्य के छ भने, राजिखुशी भएको, जात मिलेको बालविवाहमा कसैको आपत्ति हुँदैन । त्यहाँ कानुनका कुरा विरलै सुनिए । जब अन्तर्जातीय प्रेमीले राज्यले तोकेको भन्दा कम उमेरमा बिहे गर्छन् तब कानुनको कुरा आउँछ, कार्वाहीको कुरा सुनिन्छ । त्यहाँ उमेरभन्दा जात नमिल्दा धेरैले कानुन सम्झिन्छन् । विरोध जनाउनेले प्रत्येक घटनामा जनाउनुपर्छ, न कि जात हेरेर ।

जबसम्म गैरदलितभित्र प्रगतिशील चिन्तनले स्थान पाउँदैन तबसम्म समाजमा परिवर्तन नदेखिने पक्का छ । समाज परिवर्तनको खातिर सामाजिक भाइचारा र सांस्कृतिक सम्बन्धको लागि गैरदलित समुदायमा आमूल परिवर्तन अत्यावश्यक छ । गैरदलितले आफूभित्रको जातवादी चिन्तन तुरुन्तै त्यागेर कसरी हुन्छ समानता, समता र समावेशीकरण अभ्यासमा टेवा पुर्याउने काम गर्नुपर्छ । अनि मात्र समाजमा अनेकतामा एकता झल्किन्छ । रुढिवादी, जातवादी, नश्लवादी चिन्तनले समाजलाई बर्बाद बनाउने निश्चित छ । अफ्रिकी राष्ट्र रुवान्डामा भएको जातीय युद्धबाट नेपालले पाठ सिक्नुपर्नेछ । गैरदलितले मनन गर्नुपर्छ, अन्यथा यस्तै विभेदकारी कुसंस्कारले समाजलाई रुवान्डा नबनाउला भन्न सकिन्न ।

जातीय भेद्भावको समाधान के हो ?
दलितको समस्याको समाधान कथित उपल्लो जातकाले सँगै बसेर, खाएर, बोलेर हुँदैन । नत्र सहभोजपछि किन छुवाछूत गर्छन् त ? किन दलितका भोजमा नखाई हिँड्ने जमातलाई गैरदलितले पाठ सिकाउँदैन त ? किन समाजका ठालु अन्तर्जातीय विवाहलाई स्वीकार्नुपर्छ भन्दैनन् ? जातीय भेदभावको हलको निम्ति गैरदलितले आफूलाई शुद्धीकरण गर्नुपर्छ । आफ्ना केही कथित सामाजिक मूल्य मान्यता त्याग्नुपर्छ । अर्कोतिर सदियौंदेखि बहिष्करणमा पारिएका, राज्यको नीति निर्माण तहमा नपुगेका दलित समुदायलाई समता, समानता र सामाजिक स्वतन्त्रताको ग्यारेन्टी गरेर मात्र जातीय छुवाछूत, भेदभावको हल हुन्छ । दलितलाई राज्यको मुख्य धारमा उपस्थित गराए मात्र दलितको राजनीतिक र सामाजिक अवस्थामा रुपान्तरण आउन सक्छ । अनि समाजमा परिवर्तनका किरणहरु देखिनेछन् ।

अन्त्यमा गैरदलित, दलित दुवैले जातीय छुवाछूत एवम् भेदभावलाई साझा समस्याको रुपमा हेर्नुपर्छ । जातीय छुवाछूत दलितको समस्या मात्र होइन भनेर बुझ्नुपर्छ । यस मानवताविरोधी कुसंस्कारलाई दलित र गैरदलित मिलेर कथित जात व्यवस्थाको अन्त्यका लागि चेतना, चेतावनी र कानुनी कार्यवाहीलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ । अनि मात्र समस्याको समाधान हुन्छ । अन्यथा विश्व मानचित्रमा नेपाल कुसंस्कारी मूल्य मान्यताको समाज भनेर परिचित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्