फोनपे नेटवर्कमा एक महिनामा ५१ अर्ब कारोबार



काठमाडौं (नेस) ।

भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस महिनामा ५१ अर्ब बढीको कारोबार भएको छ । पछिल्लो समय विद्युतीय कारोबार तीब्र रूपमा बढिरहँदा फोन पे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो ।

पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढीको कारोबार भएको हो । फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताले क्यूआर कोड भुक्तानी, अन्तर बैंक पैसा ट्रान्स्फर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका कार्यबाट यो रकम कारोबार भएको हो । आधा खर्बभन्दा माथिको आँकडा पूरा गरेपछि सोमबार फोन पेले डिजिटल नेपाल निर्माणको साझा उद्देश्य पूरा गर्न सहयोगी भूमिका खेल्ने फोनपेका सदस्य बैंक, वित्तीय संस्था र डिजिटल वालेटलाई धन्यवाद दिएको छ ।

फोनपेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर १० मै सहजरूपमा रकम पठाउन सकिन्छ । साथै मर्चेन्टले निःशुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोवाईल एप्समा रहेको सेन्ड मनि अप्सनमा गई फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन् भने अन्तर्राष्ट्रिय भुक्तानी पार्टनरमा चाइना युनियन पे र अलि पे आबद्ध छन् । यस्तै, फोनपेमा हालसम्म ५ लाख ७० हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । फोनपेमा ईसेवा, आइएमई पे र सेलपे जस्ता भुक्तानी सेवा प्रदायक आबद्ध छन् ।

एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ६० लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्