भवन संहिता कार्यान्वयन गर



प्राकृतिक विपद् कहाँ र कति बेला जान्छ भन्न सकिन्न । प्राकृतिक विपद्बाट जोगिन सावधानी अपनाउन सकियो भने क्षति हुनबाट रोक्न सकिन्छ ।

भूकम्प, बाढी, पहिरो, आगलागीलगायतका विपद् जुन बेला जहाँ पनि हुन सक्छ । विशेष गरी भूकम्पका कारण हुन सक्ने जन–धनको क्षतिलाई रोक्न सकिन्न । तर, भूकम्पबाट हुन सक्ने सम्भावित जोखिमलाई भने पूर्वाधार निर्माणमा ध्यान दिने हो भने धेरै हदसम्म रोक्न सकिन्छ । नेपालमा ठूल्ठूला विनाशकारी भूकम्प जाँदा ठूलो जनधनको क्षति हुँदै आएको छ ।

१९९० साल माघ २ मा गएको भूकम्प र २०७२ सालमा गएको विनाशकारी भूकम्पले जन–धनको ठूलो क्षति हुन पुग्यो । भूकम्प जाँदा कमजोर संरचनाकै कारण नागरिकले ज्यान गुमाउन पुगे । बलियो संरचना भएको क्षेत्रमा भूकम्पले कम भन्दा कम क्षति ग-यो । सरकारले १९९० साल माघ २ गते गएको महाविनाशकारी भूकम्पको स्मरणमा २०५५ साल देखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आएको छ । सरकारले भूकम्पीय सचेतना अभिवृद्घि गर्ने कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि सरकारले २४औं भूकम्प सुरक्षा दिवस मनाएको छ । भूकम्पीय सचेतना, सुरक्षित संरचना भन्नेमूल नाराका साथ मनाइएको २४औं भूकम्प सुरक्षा दिवस देशैभर मनाइएको छ ।

ठूला घटनाक्रमको स्मरणमा दिवस मनाउन सकारात्मक कुरा हो । भूकम्पले गर्दा कमजोर भवन संरचना भत्केर ठूलो जन–धनको क्षति हुने गर्छ । भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र सुरक्षित भवन निर्माण गर्न नेपालको राष्ट्रिय भवन संहिता कार्यान्वयन गर्नुपर्ने हुन्छ । राष्ट्रिय भवन संहिता परिपालना गरी भवनको नक्सा डिजाइन स्वीकृति वा नक्सापास गर्ने र सोही नक्साबमोजिम गुणस्तरीय ढंगले भवन निर्माण गरी भवन संहिता कार्यान्वयन गर्न गर्नुपर्छ । स्थानीय तहहरुले भवन संहिता कार्यान्वयन गर्ने र संघ, प्रदेशले आवश्यक सहयोग, सहजीकरण, अनुगमन मूल्यांकन, नियमन गर्दै आएको छ ।

तर, स्थानीय तहमा भने राष्ट्रिय भवन संहितको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । अहिले पनि मापदण्डविपरीतका घर तथा भवन निर्माण भइरहेका छन् । स्थानीय तहहरुमा प्राविधिक जनशक्तिको कमी, घरधनीमा जनचेतनाको अभाव, नर्माण कालिगढमा आवश्यक दक्षता नहुने, निर्माण सामग्री र निर्माण कार्यको गुणस्तर नियन्त्रणमा हुन नसक्दा भवन संहिताको कार्यान्वय फितलो बनेको छ । सरकारले २०७२ सालमा गएको भूकम्पबाट क्षति भएका झण्डै ७ लाखभन्दा बढी निजी आवास निर्माण सम्पन्न गरेको छ । नेपालको पश्चिम क्षेत्रमा अझै भूकम्प जाने जोखिम कायमै रहेको छ ।

अब सरकारले कमजोर संरचनालाई प्रवलीकरण विधिमार्फत बलियो घर बनाउने कार्यमा ठोस र प्रभावकारी कदम चाल्न जरुरी छ । भवन संहिताबमोजिम घर तर भवन बनाउने कार्यलाई अनिवार्यरूपमा लागू गर्न स्थानीय तहले ढिला गर्नुहुँदैन । बनिसकेको भवन संरचनालाई प्रवलीकरण गरी सुरक्षित बनाउने कार्यलाई सरकारले महत्वको साथ अगाडि बढाउनुपर्छ । सर्वसाधारण, प्राविधिक, निर्माण कालिगढ, निर्माण व्यावसायी, स्थानीय तहबीच आपसी समन्वय र सहकार्यमार्फत भवन संहिताको कार्यान्वयलाई प्रभावकारी बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्