अब धोविखोला कोरिडोरमा सिसी क्यामेरा राखिने

कोरिडोर निर्माणमा हालसम्म ३ अर्ब ३० खर्च, पाँच प्रतिशत काम बाँकी



मधुसुदन रायमाझी, काठमाडौं ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थान कम गर्न वैकल्पिक सडको रुपमा निर्माण गरिएको धोविखोला कोरिडारमा फोहोर फ्याक्ने क्रम बढेसँगै सिसी क्यामेरा जडान गरेर निगरानी गरिने भएको छ । धोविखोला आसपासको क्षेत्रमा फोहोर फ्याक्दा प्रदुषण बढदै गएपछि फोहोर फ्याक्नेको पहिचान गरेर कारवाही गर्न सिसी क्यामेरा जडान गर्न लागिएको हो ।

धोविखोलाको दायाँबायाँ निर्माण गरिएको कोरिडारलाई सफा राख्न चुनौती थपिसँगै प्रविधिको प्रयोग मार्फत निगरानी बढाइने योजना शहरी विकास मन्त्रालयले अगाडि सारेको छ । कोरिडार अन्तर्गत पुल आपसापको क्षेत्रमा रहेका पुलमुनि फोहोर फ्याक्ने क्रम बढेकाले सिसी क्यामेरा जडान गरेर निगरानी गर्न मन्त्रालयले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएको छ ।

बागमती दोभानदेखि बुढानिलकण्ठसम्म दायाँबायाँ १२/१२ किलोमिटर गरेर २४ किलोमिटर कोरिडार निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । बाँकी पाँच प्रतिशत काम निर्माणकै चरणमा रहेको छ । तीन वटा घरलाई मुअब्जा दिन बाँकी रहेका कारण कोरिडोर पूर्ण रुपमा सञ्चालनमा आउन सकिरहेको छैन् । प्राधिकरणले तीन वटा घरलाई मुअब्जा दिनको लागि शहरी विकास मन्त्रालयमा बजेट माग गरेर पठाइसकेको छ ।

धोवीखोला कोरिडारको क्षेत्रमा फोहोर फ्याक्ने र मापदण्ड विपरीत ढल मिसाउने क्रम बढेसपछि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले स्थलगत अनुगमन गरेर देखा परेका समस्या तत्काल समाधान गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ । उहाँले निर्माण हुन बाँकी रहेको कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिदै कोरिडारको सौन्दर्यकरण र सरसफाइमा ध्यान दिन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

कोरिडोर निर्माण मार्फत नदी किनारामा रुख विरुवा रोपेर सौन्दर्यकरणको काम अगाडि बढाए पनि हाल जथाभावी रुपमा सवारी साधन पार्किङ गर्ने र रातको समयमा नदी किनारा र पुल आसपासको क्षेत्रमा फोहोर फ्याक्ने क्रम बढेको छ । मन्त्री झाँक्रीले खोलालाई प्रदुषण हुने गरी मापदण्ड विपरीत ढल मिसाउने माथि पनि कारवाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने बताउदै भन्नुभयो,‘खोलामा जथाभावी फोहोरमैला फ्याक्नेको निगरानी गर्न तत्काल सिसी क्यामेरा जडान गरेर निगरानी अगाडि बढाउनु पर्छ ।’ धोविखोला कोरिडोर अन्तर्गत जग्गा उपलब्ध भएका स्थानमा दुवो फुल र रुखहरु लगाइने हरियाली प्रबद्र्धनको काम तत्काल अगाडि बढाउनुहोस, उहाँले भन्नुभयो ।

बुढानिलण्ठ नगरपालिकाको राम मन्दिरदेखि बागमती दोभानसम्म दायाँबाया निर्माण गरिएको कोरिडार मार्फत काठमाडौं महानगरपालिकाले सवारीको चाप घटाउन वैकल्पिक मार्गका रुपमा लिइएको छ । ०५६ सालमै अघि सारेको कोरिडोर निर्माणको काम हाल सम्पन्न हुने अन्तिम चरणमा रहेको छ ।

यस कोरिडारेको दायाँबायाँ नै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ढल बिछ्याउने काम गरेको थियो । प्राधिकरणले करिडोरको सडक निर्माण, फुटपाथ, पर्खाल, रेलिङसँगै खोला किनारामा रुख रोपेर हरियाली प्रबद्र्धन गर्ने काम गरेको छ ।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले धोविखोला कोरिडोर अन्तर्गत पर्ने पुल लगायतका विभिन्न स्थानमा फोहोरमैला फ्याँकिएको देखिएकाले त्यसको नियन्त्रणको लागि सिसी टिभी जडान गरेर निगरानी बढाउन प्राधिकरणलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘धोविखोला कोरिडोरको अधिकार क्षेत्रभित्र निर्माण गरिएका संरचना र त्यस क्षेत्रमा रहेका फोहोर हटाउन तत्काल काम अगाडि बढाउन निर्देशन भएको छ ।’

शहरी विकास मन्त्रालयले कोरिडोर क्षेत्रमा अनाधिकृत रुपमा राखिएको निर्माण सामाग्री तत्काल हटाउ पनि निर्देशन दिएको छ । मन्त्रालयले चावहिल पुल, बिजुलीबजार पुल, रातो पुल आसपास क्षेत्रमा तत्काल सरसफाइ गर्न ती पुलमुनिको क्षेत्रमा ढलान र कालोपत्रे गरी पानीको उचित निकासको व्यवस्था मिलाउन पनि प्राधिकरणलाई मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नारायण प्रसाद भण्डारीले खोला क्षेत्रमा देखिएको समस्या समाधान गर्न सिसी क्यामेरा जडान गरेर निगरानी बढाइने बताउनुभयो । उहाँले खोला क्षेत्रमा देखिएको फोहोर हटाउने र मापदण्ड विपरीत ढल मिसाउने निकायलाई पत्राचार गर्ने काम अगाडि बढाएको जानकारी दिनुभयो ।

धोविखोला कोरिडार क्षेत्रमा साना ठूला गरी एक दर्जन भन्दा पुल रहेका छन् । ती पुल मुनि फोहोर फ्याक्ने क्रम बढदा सवारी आतवजावतमै समस्या हुनुको दुर्गन्ध समेत बढेको छ । कोरिडारमा सिधै ढल मिसाउन नपाइने प्रावधान रहेपनि एक दर्जन भन्दा बढी स्थानमा मापदण्ड विपरीत ढल मिसाउने काम भएको पाइएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौंका जिल्ला आयुक्त दिनेश कृष्ण पोतेले फोहोर नफाल्न कोरिडोर क्षेत्रमा जनचेतना जगाउनको लागि माइकिङको काम सुरु गरिएको बताउनुभयो । उहाँले हालसम्म कोरिडार निर्माणमा करिब ३ अर्ब ३० खर्च भएका बताउदै पाँच प्रतिशत मात्र निर्माणको काम बाँकी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्