बुटवल पावर कम्पनीको लाभांश पारित, चुक्ता पुँजी ३ अर्ब



काठमाडौं (नेस) ।

बुटवल पावर कम्पनी लिमिटेडको २९औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिबाट पेस भएका सबै प्रस्तावहरू पारित गरेको छ । जस अनुसार सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरू, लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सेयरधनीलाई १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस सेयर वितरण गर्ने, बोनस सेयर वितरणका लागि चुक्ता पुँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सो नगद लाभांश यथाशक्य छिटो सेयरधनीहरूलाई वितरण गरिने जानकारी सभाले दिएको छ । बोनस सेयर जारी भएसँगै कम्पनीको चुक्ता पुँजी ३ अर्ब २४ करोड ६३ लाख २६ हजार ८ सय कायम हुनेछ ।

बुटवल पावर कम्पनी लिमिटेडले प्रत्यक्षरूपमा सञ्चालन गर्दै आएका ९ दशमलव ४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् गृहहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् । साथै सहायक तथा सम्बद्ध कम्पनीहरूमार्फत सञ्चालित ४ मेगावाटको खुदी जलविद्युत् गृह र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत् गृहको सञ्चालन हुँदै आएको छ । खिम्ती आयोजनाको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत् प्राधिकरणमा गएको जानकारीसमेत प्रतिवेदनमा उल्लेख छ ।

निर्माणको चरणमा रहेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई प्रशारण लाइन तथा सबस्टेसनको अभावले विद्युत् उत्पादन तथा वितरण ढिलाइ हुन गएको छ । ३७ दशमलव ६ मेगावाटको काबेली ‘ए’ जलविद्युत् आयोजनामा विश्व बैंकले हात झिकेका कारण सन् २०२० को शुरूदेखि नै निर्माण कार्य स्थगित छ ।

तीन चिनियाँ लगानीकर्ताहरूसँगको संयुक्त लगानीमा मस्र्याङ्दी नदीमा निर्माणको चरणमा रहेका अयोजनामा १ सय ३५ मेगावाटको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना, १३९ दशमलव २ मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना र ३२७ मेगावाटको माथिल्लो मस्र्याङ्दी दोस्रो जलविद्युत् आयोजना क्यासकेड अवधारणामा निर्माण गर्न लागिएको छ ।

निर्माणको तयारीमा रहेको ७ दशमलव ९ मेगावाटको चिनोखोला जलविद्युत् आयोजनाले शुरूमा मस्र्याङदी क्यासकेड आयोजनाहरू निर्माणको लागि आवश्यक विद्युत् अपूर्ति गर्ने र सो पश्चात् नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् बिक्री गर्ने गरी तयारी अघि बढाइएको छ । १६० मेगावाटको मुगु कर्णाली जलविद्युत् आयोजना र ७ मेगावाटको झिमरुक सौर्य आयोजना अध्ययनको क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्