सुपरदोर्दी ‘ख’ को मुख्य सुरूङ ब्रेक थ्रु



लमजुङ ।

पिपुल्स हाइड्रोपावर कम्पनीले पूर्वी लमजुङको दोर्दीखोलामा निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरूङ छेडिएको छ । आयोजनाको ५ हजार १ सय ४४ मिटर मुख्य सुरूङ छेडिएको हो । ५हजार १ सय ४४ मिटर खनेर सकिएसँगै सुरूङको ढलानको काम भइरहेको सुपरदोर्दी ‘ख’ का प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताउनुभयो । आयोजनाको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

आयोजनाको विद्युत्गृहको सिभिल संरचनाको काम पूरा भई उपकरण जडानको काम भइरहेको डाइरेक्टर गौतमले जानकारी दिनुभयो ।गत असारमा आएको बाढीले बाँध क्षेत्रको संरचना बगाएसँगै हाल बाँध क्षेत्रमा पुनर्निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । बाढीले आयोजनाको बाँध क्षेत्रसम्म पुग्ने पहुँचमार्ग बगाएपछि रोकिएको काम पुन शुरू भई तीव्र गतिमा अघि बढेको कम्पनीका प्रबन्धक केशव रायमाझीले बताउनुभयो ।

एक हजार एक सय मिटर पेनस्टक पाइप जडानको काम भइरहेको र उपकरण जडानको काम पूरा गरी आगामी जेठमा परीक्षण गर्ने लक्ष्य रहेको प्रबन्धक रायमाझीले बताउनुभयो । उहाँका अनुसार २०७८ पुसबाट विद्युत् उत्पादन गर्ने तयारी गरेको आयोजना बाढी र कोरोनाका कारण निर्माण कार्यमा प्रभावित हुँदा विद्युत् उत्पादन गर्ने मिति पछाडि धकेलिएको हो । पछिल्लो तालिका अनुसार २०७९ असारभित्र आयोजनाको सबै काम पूरा गरेर उत्पादन शुरू गर्ने लक्ष्य रहेको छ ।

सो आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ वटा बैंकले पाँच अर्ब ८० करोड रुपियाँ ऋण लगानी गरेका छन् । आयोजनाको २०७२ सालमा विद्युत् खरिद सम्झौता (पीपीए) गरिएको हो । आयोजनाको २०७३ असारबाट निर्माण कार्य शुरू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्