बार्सिलोनालाई हराउँदै रियल फाइनलमा



मेड्रिड, (एजेन्सी) ।

रोमाञ्चक एल क्लासिको भिडन्तमा आफ्नो कट्टर प्रतिस्पर्धी बार्सिलोनालाई अतिरिक्त समयमा हराउँदै रियल मेड्रिड जारी सिजन २०२१–२२ को सुपर कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार राति भएको निकै प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा रियलले बार्सिलोनामाथि ३–२ गोलअन्तरको रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र दुई मिनेटको इन्जुरी समय सकिँदासम्म खेल २–२ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो ।

साउदी अरेबियाको राजधानी रियादस्थित किङ फहाद इन्टरनेसनल स्टेडियममा भएको प्रतीक्षित खेलमा बार्सिलोनाले खेलमा दुईपटक पछि परेको अवस्थामा दुवैपटक कमब्याक गरे पनि रियलले अतिरिक्त समयमा गोल गरेर खेल जित्न सफल भयो । यो सिजन खराब बिताइरहेको बार्सिलोनाले रियलविरुद्ध निकै सुधारिएको प्रदर्शन गरे पनि हार भने पन्छाउन सकेन । १ सय २० मिनेटसम्म संघर्ष गरेर कठिन जितका साथ रियल उपाधि नजिक पुगेको छ ।

फाइनल प्रवेशका लागि भएको निर्णायक भिडन्तमा रियलले बार्सिलोनाविरुद्ध शुरुआतमा ज्यादा दबाब बनाएर खेले पनि गोल बेहोरेपछि बार्सिलोनाले रियलमाथि हावी भएको थियो । दोस्रो हाफमा त रियलमाथि बार्सिलोना पूरै हावी भएको थियो । यता, रियलका लागि खेलको २५औं मिनेटमा ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले शानदार गोल गर्दै बार्सिलोनालाई झट्का दिएका थिए । उनले करिम बेन्जेमाको पासमा सो गोल गरेका थिए । भिनिसियसका लागि यो यस सिजनको १५औं गोल हो ।

बार्सिलोनाका कप्तानसमेत रहेका मिडफिल्डर सर्जियो बुस्केट्सको खुट्टाबाट बेन्जेमाले मैदानको मध्य भागमा बल खोसेर अगाडि दिएको पासमा भिनिसियसले बक्स भित्र पुर्याएर उत्कृष्ट फिनिसिङमा गोल गरेका थिए । उनले बार्सिलोनाका गोलकिपरको शिर माथिबाट बललाई जाली चुमाएका थिए । तर, ३०औं मिनेटपछि बार्सिलोनाले खेलमा उल्लेख्य सुधार गरेको थियो । सोही क्रममा खेलको ४१औं मिनेटमा बार्सिलोना खेलमा फर्कियो । डच फरवार्ड लुक डे जोङले बक्स अघिबाट गोल गरेर खेल १–१ बनाए ।

रियलका डिफेन्डर इडर मिलिटाओले डीबक्सअघि बल क्लियर गर्न नसक्दा उनीबाट रिबाउन्ड बलमा डे जोङले बललाई गोलमा परिणत गरेका थिए । पहिलो हाफ १–१ सकिएपछि त्यसपछि दोस्रो हाफमा दुवै तर्फबाट गरी तीन गोल भए । खेलको ७२औं मिनेटमा रियलले खेलमा दोस्रोपटक अग्रता लियो । करिम बेन्जेमाले गोल गरेर टिमलाई जितको बाटो देखाएका थिए । तर, बार्सिलोनाका सब्सिच्यूट युवा फरवार्ड अन्सु फातीले ८३औं मिनेटमा कर्नर आएको बलमा हेडिङ गोल गरेर दोस्रोपटक बार्सिलोनालाई खेलमा फर्काएका थिए ।

लामो समय चोटका कारण मैदान बाहिर रहेका फातीले आजै बेन्चबाट मैदानमा कमब्याक गरेका थिए । मैदान पसेको केहीबेरमै उनले टिम पछि परेका बेला गोलसमेत गरेर टिमको उद्धार गरेका थिए । तर, ९० मिनेटपछि थप भएको अतिरिक्त समय ९८औं मिनेटमा रियलका सब्सिच्युट मिडफिल्डर फेडे भाल्भर्डेले बक्स भित्रबाट कडा लो सटमा गोल ठोकेपछि रियलले खेलमा तेस्रोपटक अग्रता लियो । सो गोल बेहोरेपछि बार्सिलोना पुनः खेलमा फर्किन सकेन र खेल रियलले ३–२ ले जित्यो । खेलभरिमा बार्सिलोनाले रियलविरुद्ध ज्यादा दबाब बनाएको थियो । खेलमा बार्सिलोनाका फ्रेन्च विंगर उसामान डेम्बेलेले खेलमा पटक–पटक गोलका अवसर खेर फालेका थिए । उनले तीनपटक राम्रा अवसर गुमाएका थिए ।

यता, पहिलो हाफमा बलमा ज्यादा पकड जमाएको रियल दोस्रो हाफमा दबाबमा परेको थियो । अब रियलले सुपर कपको फाइनलमा उपाधिका लागि ला लिगाकै टोली एथ्लेटिको मेड्रिड र एथ्लेटिक बिल्बाओबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्