सहारा युकेबाट शिल्ड, मेडल र ट्रफी हस्तान्तरण



पोखरा ।

२०औं ‘आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता’को लागि सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् । विजेता, उपविजेता, बेस्ट प्लेयर, स्ट्राइकर, डिफेन्डर, मिडफिल्डर, कोच, किपर, प्रत्येक म्याचको ‘म्यान अफ दि म्याच’लाई सहारा युकले विगत ६ वर्षदेखि नगदसहित शिल्ड, मेडल र ट्रफी सहयोग गर्दै आएको छ ।

पोखरा रंगशालामा आगामी माघ ६ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता हुनेछ । आयोजकले कोरोना महामारीको कठिन परिस्थितिबीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर प्रतियोगिता सञ्चालन गर्ने अन्तिम तयारीमा छ ।

प्रतियोगितामा साविक विजेता संकटा क्लब, मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, विभागीय नेपाल पुलिस, एपीएफ, नेपाल आर्मी, हिमालय शेर्पा, थिस्टार, अमेरिकाको बिवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताबाट आम्दानी १ करोड ३६ लाख र खर्च १ करोड ६ लाख हुने अनुमान क्लबको छ । बचत रकम क्लबले पोखराको दोबिल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरूको निम्ति खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस्