सतर्कता एक्लो उपाय



विश्वको जनजीवन र अर्थतन्त्रलाई नै तहसनहस पार्दै तीव्र रुपमा फैलिएको कोभिड–१९ को अर्को लहर पुनः बिजुलीको गतिमा फैलन थालेको छ । हरेक दिन २१ लाखभन्दा बढी मानिसमा कोरोना पोजेटिभ देखिएको छ भने दैनिक १० हजारभन्दा बढी मानिसले ज्यान गुमाउनु परेको छ । यो परिमाण कति विशाल हो भनेर बुझ्नका लागि हामीले काठमाडौं उपत्यकाको जनसंख्या हेरेपुग्छ । काठमाडौंमा रहेका जनता हरेक दुई दिनमा संक्रमित भएका छन् भने मृत्युको परिमाण पनि त्यसरी नै आकाशिएको छ ।

विगत दुई वर्षको आँकडा हेर्दा अहिलेसम्म ३१ करोड ७६ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ भने ५५ लाख ३१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यस संक्रमणलाई नियन्त्रणमा ल्याउन विश्वभरका वैज्ञानिकहरु सक्रिय रहेपनि कोरोना भाइरस विभिन्न भेरियन्टमा रुप परिर्वतन गर्दै वैज्ञानिकहरुलाई नै चुनौती दिइरहेको छ । पछिल्लो पटक देखिएको ओमिक्रान भाइरसले अहिले विश्वलाई नै हल्लाइरहेको छ । ओमोक्रोन र डेल्डा मिलेर डेल्टाक्रोन पनि जन्माइसकेको खबर युरोपी मुलुकबाट आइसकेको छ । कोरोना संक्रमणका कारण कतिपय देशले आफू टाटपल्टेको घोषणा गर्ने तयारी थालेका छन् भने कतिपय ठूला उद्योगहरु धराशयी बन्दै गएका छन् । नेपालमा पनि कोरोना संक्रमणका कारण अर्थतन्त्र धराशयी हुने अवस्थामा पुगेको छ । सरकारले कोरोना महामारी नियन्त्रण गर्न नसक्ने हो भने यसपटक जुन गतिमा कोरोना संक्रमण फैलन शुरु भएको छ यसले मुलुकलाई फेरि जर्जर बनाउने निश्चित छ । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि चाल्नुपर्ने कदमलाई अहिलेसम्म सही ढंगले अघि बढाउन सकेको देखिदैन । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसलाई सरकारले कार्यान्वयन गर्ने घोषणा गरेपनि त्यो घोषणामा नै सीमित हुँदैगएको देखिन्छ । राजधानीलगायत देशका मुख्य सहरमा हुने भिडभाड नियन्त्रण गर्न सरकारले कुनै कदम चालेको देखिंदैन । सत्ताको फोहोरी खेलमा सामेल हुँदैआएको सरकारले जनस्वास्थ्यमा भने ध्यान दिनसकेको छैन । सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेका नियमहरु पालना भए–नभएको अनुगमन गर्ने संयन्त्र बनाउन नसक्दा सरकारी घोषणा विपरीतका काम भने चलिरहेका छन् ।

‘मैले खोप लगाइसेको छु, मलाई के हुन्छ र’ भन्ने आम प्रवृत्तिका कारण पनि मुलुकभर कोरोना संक्रमण भुसको आगोझैं फैलन थालेको छ । विगतको तितो इतिहासलाई राज्यले ख्याल गर्ने हो भने फेरि पनि मुलुक अस्तव्यस्त नबन्ला भन्न सकिंदैन । जनतामा चेतना भए पनि लापर्वाही गर्ने बाँनी सुध्रन सकेको छैन । सरकारले सीमा नाकाबाट हुने अवैध घुसपैठ रोक्न नसक्नुले पनि भारतबाट संक्रमित भएर नेपाल प्रवेश गर्नेको संख्या दिन–प्रतिदिन बढ्दो अवस्थामा रहेको छ । सीमा नाकामा कडाइ नगर्ने हो भने यो समस्या विकराल बन्दैजाने निश्चितप्रायः छ । त्यसैले सबैले आ–आफ्नो कर्तव्यलाई पालना गर्दै अघि बढेमात्रै कोरोना महामारी नियन्त्रणमा आउला, अन्यथा अवस्था जटिल बन्नेमा दुविदा छैन । राज्यले आफ्ना संयन्त्र प्रभावकारी ढंगमा प्रयोग गर्दै अगाडि बढ्नुको विकल्प देखिंदैन ।

प्रतिक्रिया दिनुहोस्