चेलीबेटी बेचबिखनविरुद्व कर्कलो कोक्याउला (भिडियोसहित)



ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक हरिवंश आचार्यको फरक शैलीको सन्देशमूलक गीत बिहीबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। कर्कलो कोक्याउला तिमीलाई झुक्याउला बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। हरिवंशकै स्वर, शब्द र संगीत रहेको गीतमा हरिवंशलाई गायिका समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन्।

किरण तुलाधरको एरेन्जमेन्ट रहेको गीतमा चेलिबेटी बेचबिखनविरुद्ध सन्देश रहेको छ। मानव सुवेदीद्वारा निर्देशित गीतको भिडियो कथानक शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा हरिवंश अपांगता भएको गन्धर्व गायकका रूपमा प्रस्तुत भएका छन् भने नायिका स्वस्तिमा खड्का किशोरी भूमिकामा छिन्। भिडियोको कथाअनुसार भर्खरै विद्यालय जीवन पूरा गरेकी स्वस्तिमालाई चेलीबेटी बेचबिखन गर्ने समूहले शुरूमा तर्साएर आफ्नो वशमा पार्ने कोशिस गर्छ।

अध्ययनशील स्वस्तिमा नडराएपछि त्यही समूहको अर्को गुप्त पात्रले उनलाई प्रेम जाल र उपहारको मोहमा पारेर गाडीमा चढाई झुक्याएर नसालु पदार्थ खुवाएर बेहोस बनाई विदेशमा लगेर बेच्ने कोशिस गर्दछ। यो सबै चाल पाएपछि चेलीबेटी बेचखिनविरुद्ध गीत गाएर सन्देश बाँड्दै हिँड्ने हरिवंशले उनलाई त्यो समूहबाट बचाउने प्रयास गर्दछन्। समूहले उनलाई गाडीबाट फालिदिएर मोलमोलाई गरिरहेकै बेला हरिवंश प्रहरी लिएर पुग्छन् र स्वस्तिमा बेचिनबाट जोगिन्छिन्। भिडियोमा हरिवंश र स्वस्तिमा खड्काका साथमा महेश त्रिपाठी, नवीन लम्साल र घनश्याम पाण्डेले अभिनय गरेका छन्। काभ्रे र दक्षिणकालीमा खिचिएको भिडियो सुशील सापकोटाले छायांकन गरेका छन्।

कार्यक्रममा सीएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले चेलीबेटी बेचबिखन गर्नेहरूले पढेलेखेका कलिला किशोरीहरूलाई समेत शिकार बनाउने गरेको चर्चा गर्दै गीत र भिडियोले चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा सघाउ पुर्याउने बताइन्। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले विभिन्न प्रस्तुतिमा प्रहरीलाई घटनापछि मात्र पुगेको देखाइने गरेकोमा यो गीतको भिडियोमा घटना अगाडि नै पुगेको देखाएकोमा खुसी व्यक्त गर्दै अपराधको रोकथाम सबैको दायित्व भएको बताए।

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले भिडियो उत्कृष्ट बनेको चर्चा गर्दै चेलिबेटी बेचबिखनविरुद्ध साथ दिन सबैलाई आग्रह गरे। ‘भिडियो राम्रो बनेको छ। कोरोनाको समय छ, कोरोनाबाट बच्न सावधानी अपनाउन जरुरी छ। यो भिडियो एक्लै बसेर हेर्न सकिन्छ’ मदनकृष्णले भने ‘मैले हरिवंशलाई हरिवंशले मलाई, हामीलाई स्वस्तिमाले साथ दिएजस्तै सबैजनाले चेलिबेटी बेचबिखनविरुद्ध साथ दिन आग्रह गर्दछु।’

हरिवंशले भिडियो हेर्दा आफूहरूलाई आफूजस्तो महशुस नभएको बताए। ‘भिडियो हेरेर धेरैजनाको आँखा रसायो। भिडियो मार्मिक नबनेको भए कसैको आँखा रसाउँदैन थियो। भिडियो हेर्दा हामी आफैँलाई आफू हो जस्तो लागेन। यो सर्ट मुभीजस्तो बनेको छ’ हरिवंशको भनाइ छ। नायिका स्वस्तिमा खड्काले १० मिनेटको भिडियोमा छोटो फिल्म शैलीले जतिसक्दो बढी विषय समावेश गर्ने प्रयास गरिएको बताइन्। भिडियो बिहीबार नै गजब टीभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्