कोरोनाले फेरि बिचल्ली बनाउँदै छ



देशभरका नागरिकहरु उपत्यकामा बस्न रुचाउँछन् र उनीहरु बस्छन् पनि । पढ्न, रोजगारी र अन्य आवश्यकतालाई नियाल्दै उनीहरु काठमाडौंमा बस्छन् । काठमाडौंमा घर हुनु सबैको लागि सम्भव छैन, त्यसैले अघिकांश डेरामै बस्ने गर्दछन् । उपत्यकामा देशभरका जिल्लामध्ये सबैभन्दा धेरै चाप छ । भक्तपुर, ललितपुर र काठमाडौंमा कोरोनाको संक्रमण दर ह्वात्तै उकालो लागेको छ । त्यस्तै, अधिकांश स्थानमा भीडभाड पनि उस्तै नै छ ।

उपत्यका कोभिडको हटस्पट बन्न सक्नेबारे सबैले अड्कल शुरु गरिसकेका छन् । कोरोनालाई हलुका रुपमा लिँदै निस्फिक्री हिँड्नेहरु बाटोमा यत्तिकै छन् । न मुखमा मास्क छ, न सामाजिक दूरीको पालना नै भइरहेको देखिन्छ । बाहिरी जिल्लाबाट उपत्यका आएकाहरु झ्न् बढी त्रासमा देखिन्छन् । कोरोनाले हामी र हाम्रो परिवारलाई केही हुने त होइन भन्ने चिन्ताले उनीहरुलाई पिरोलिरहेको छ । कोरोनालाई मध्यनजर गर्दै दैनिक आफ्नो जन्मथलो फर्किनेको संख्या बढेको छ ।

यता, सरकारले बिदासँगै मिलान हुने गरी आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गरिसकेको छ । बालबच्चाको विद्यालय बन्द भएर भन्दा पनि कोरोनाको त्रासले उपत्यका छाड्नेहरु बढी भेटिन्छन् । राजधानीको नयाँ बसपार्कमा टिकट काट्ने मान्छेको संख्या पहिलेको भन्दा निकै नै बढेको देखिन्छ । नयाँ बसपार्कमा नै टिकटको अभाव देखिन थालेको छ । कंलकीबाट बाहिरी जिल्लामा जाने सर्वसाधारणको भीड उत्तिकै छ । बल्खुबाट पनि मानिसहरुले उपत्यका छोडेका छन् । कोटेश्वर, जडीबुटी, गठ्ठाघर, सूर्यविनायकमा पनि उपत्यका छाड्नेको भीड छ । तर गाडी चढ्न स्टपमा बसेकाहरुको मुखमा मास्क छैन ।

उपत्यकाबाट जानेहरु कसैको पनि कोरोना परीक्षण गरिएको छैन । उनीहरु यत्तिकै घर फर्किंदै छन् । यदि ती मध्ये कसैलाई कोरोना संक्रमण भएको रहेछ भने पूरै गाउँ कोभिडको संक्रमणमा आउन सक्छ । तर, कसैले पनि यसमा ध्यान पुर्याएको छैन । गाउँमा बसेका, कतै नगएका मानिसहरुलाई कोरोना संक्रमित बनाइँदै छ । गाउँमा बस्नेहरु जोखिममा परेका छन् ।

उपत्यकावासीको कारणले गाउँ पनि कोभिडको हटस्पट बन्दै छ । गाउँपालिका, नगरपालिका र वडाले क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छैन । उपत्यकाबाट गएकाहरु सीधै आफ्नो घर गइरहेका छन् । यसरी सीधा घर जाँदा आफन्तहरुको ज्यान जान सक्छ । क्वारेन्टिनको व्यवस्था गर्दा पूरै गाउँ नै सुरक्षित हुन्छ ।

उपत्यकाबाट जानेहरुलाई कोरोना परीक्षण अनिवार्य गरिनुपर्छ । यसले एकजनालाई मात्र नभई सबैलाई फाइदा हुन्छ । लामो रुटमा चल्ने चालक, सहचालकहरुले मुखमा मास्क लगाएका छैनन् । सरकारले सवारीसाधन चलाउन बनाएको कुनै पनि स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । सिटभन्दा बढी यात्रु हालेर लगिरहेका छन् ।

कोरोनाको संख्यामा वृद्धि हुँदा उपत्यकाका अस्पतालहरुमा भीड लाग्न थालेको छ । केही दिनपछि बेड नपाएर पुनः भुइँमा बसी छट्पटाउने दिन आउँछ । कोभिडले भयानक रुप लिँदा पनि उपत्यकामा कोरोना न्यूनीकरणको लागि सजगता अपनाएको जस्तो देखिँदैन । विदेशबाट आउनेको संख्या पनि उत्तिकै छ । नाकाबाट भित्रिनेको लर्को पनि चर्को देखिएको छ ।
उपत्यकाको बढ्दो कोभिड दर देखेर लकडाउन नै प्रभावकारी बन्ने देखिन्छ । भुसमा जसरी आगो फैलिन्छ उपत्यकामा पनि त्यति नै छिटो कोरोना फैलिरहेको छ । केही सातामा कोरोनाले नेपालमा तहल्का मच्चाउने निश्चित देखिएको छ । भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुले कोरोनाबाट आफ्नो जिल्लाका मानिसहरु जोगाउन छिटो निर्णय गर्न जरुरी देखिएको छ ।

अहिलेको आवश्यकता स्मार्ट लकडाउन नभई लकडाउन नै हो । गाउँ जानेलाई जान व्यवस्था मिलाइदिएर उपत्यकामा केही दिन लकडाउन गर्दा पनि कोरोनाको संक्रमण दर ओरालो झर्न सक्छ । कोरोनाले यत्रो तहल्का मच्चाउँदा पनि सरकारले किन उचित कदम चाल्दैन ?

२५ जनाभन्दा धेरै भेला हुन नदिने भनेको छ । तर, मठमन्दिरमा सयौंको संख्यामा भक्तजनहरु छन् । अनुगमन कसले गर्ने ? रात्रिकालीन व्यवसायीहरुमा पनि त्यही नै हो । जति मान्छे राखेर चलाए पनि कसैलाई अत्तोपत्तो छैन । सरकारले गरेको निर्णय कार्यान्वयनमा गएको जस्तो देखिँदैन । गृह मन्त्रालय र उपत्यकाका सिडियोहरुले मास्क नलगाउनेलाई जरिवाना र कारबाही गर्ने भनेर निर्णय गरेको छैन । जसको कारण बाटोमा मास्क नलगाई हिँड्नेको संख्या बढेको छ । आफ्नो लापरबाहीले अरुलाई कोराना सारेर मार्न पाइँदैन । मास्क नलगाउनेलाई जरिवाना र कैद सजाय दुवै गर्नुपर्छ ।

नेपालको एक तिहाइ जनसंख्या उपत्यकाभित्र बसोबास गर्छन् । भीडभाड पनि उपत्यकामा त्यस्तै छ । प्रभावकारी नियम बनाउन उपत्यकाका सिडियोहरु सक्दैनन् । भीडभाड नियन्त्रण गर्ने भन्दै आश्वासन दिन्छन् । भीडभाड कसरी नियन्त्रण हुन्छ ? हिँड्ने जसरी पनि हिँडिहाल्छन् । कडा निषेधाज्ञा नगरेसम्म भीडभाड नियन्त्रणमा ल्याउन असम्भवजस्तै छ । भीडभाड हुने स्थल नजाऔं भन्दा जनताले सुन्दैनन्, त्यस्तैमा जान खोज्छन् । हरेक स्थानमा प्रहरी प्रशासन खटाउन पर्याप्त जनशक्ति छैन । अस्पतालमा बेड नपाउने स्थिति बनिसक्यो, त्यही पनि यत्रो लापरबाही ।

अस्पतालहरु धमाधम बेड छैन भनेर घोषणा गरिरहेका छन्, सरकार बेवास्ता गर्छ । कोरोना लागे पनि सबैसँग उपचार गर्ने खर्च छैन । कि त मर्नुपर्यो, कि सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्यो । सरकारले जोखिम हेरेर लकडाउन नगर्दा भोलि जनताको उपचारमै सरकारको ढुकुटी रितिन्छ । जुनसुकै व्यवसायी गरे पनि, उद्योगपति नै भए पनि ऊ त जनता हो । कोरोनाले पनि उद्योगपति, धनी, गरिब भन्दैन । सरकारले सबैभन्दा पहिले जनता बचाउनुपर्छ । मान्छेले अकालमा ज्यान गुमाउँदा पनि सरकारलाई चेतना आउँदैन । उपत्यकाका सिडियोहरुले प्रभावकारी कदम चाल्न सकेनन् भनेर उपत्यकावासीहरु आक्रोशित बनेका छन् । उपत्यका भित्रिने नाकाहरु बन्द गर्नुपर्छ भन्दा पनि खुला छोडिएको छ । थानकोट र साँगा नाकाबाट अहिले पनि मानिसहरुको ओहोरदोहोर भइरहेको छ । उपत्यकावासीको सुरक्षाको जिम्मा लिएका सिडियो र मेयरहरुलाई नै यिनीहरुको माया छैन ।

सबैलाई कोरोना लागेर मर्नुपर्ने त होइन भन्ने चिन्ताले पिरोलिसकेको छ । उपत्यकाका सिडियोहरु जनताको पक्षमा होइन, व्यापारीको पक्षमा छन् । व्यापारीले भनेअनुसार उपत्यका चलिरहेको देखिन्छ । गृह मन्त्रालयले निषेधाज्ञा वा लकडाउन गर्ने अधिकार सिडियोलाई दिएको छ ।

होटल, रेस्टुराँमा पनि टेक अवेको व्यवस्था गरौं । समय अनुकूल टेक अवे अहिलेको लागि उचित छ । खोप कार्ड भनेको छ तर सबैमा खोपको व्यवस्था गर्न सकिएको छैन । त्यसैले होटल, रेस्टुराँमा टेक अवे लागू गर्न ठीक छ । उपत्यकामा भयानक रुप लिएको कोरोनाले गाउँघरलाई पनि जोखिम तुल्याइदिएको छ । केही साताको लागि लामो रुटको गाडी बन्द गर्नुपर्छ । एउटा जिल्लाको मानिस अर्को जिल्ला जानबाट प्रतिबन्ध लगाउनुपर्छ । यसमा नेपाल सरकारको ध्यान जाओस् । पहिलेको जस्तो गल्ती फेरि पनि नदोहोरियोस् ।
शम्भु थापा, भक्तपुर

प्रतिक्रिया दिनुहोस्