राष्ट्रिय भवन संहिताको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : महानिर्देशक मैनाली



न्युज अफ नेपाल, काठमाडौं ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनालीले राष्ट्रिय भवन संहिताको प्रभावकारी कार्यान्वयन गरेर मात्र सुरक्षित बस्ती निर्माण गर्न सकिने बताउनुभएको छ । उहाँले सम्भावित भूकम्पीय जोखिमबाट हुन नसक्ने जोखिम न्यूनीकरण गर्न बलियो र सुरक्षित घर बनाउनु पर्ने बताउनुभएको हो ।

माघ २ गते मनाइने २४ औँ भूकम्प सुरक्षा दिवसको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भूकम्प दिवसका प्रचार प्रसार उपसमितिका संयोजक समेत रहनुभएका महानिर्देशक मैनालीले भूकम्पबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न नागरिक स्तरमा जनचेतना बढाउने मुख्य उद्देश्य सहित दिवस मनाउन लागिएको जानकारी दिनुभयो ।

यस वर्ष सरकारले ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने मूल नाराको साथ ललितपुर महानगरपालिकाको दरबार स्क्वायरमा दिवस मनाउन लागेको छ ।

भूकम्प सुरक्षा दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन मूल समारोह समिति, व्यवस्थापन उपसमिति तथा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा ४१ सदस्यीय प्रचारप्रसार उपसमितिको व्यवस्था गरिएको छ । सरकारले यही पुस १५ गतेदेखि सुरु गरेको भूकम्प सुरक्षा दिवस माघ १५ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

मैनालीले कोभिड–१९ महामारीबाट सुरक्षित भई स्वास्थ्य मापदण्ड पालना गरेर भूकम्प सुरक्षा दिवस मनाउन लागिएको बताउदै सुरक्षित संरचना निर्माण गरी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना जगाउने मुख्य उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

स्थानीय तहमा प्राविधिक जनशक्तिको कमी, घरधनीमा देखिएको जनचेतनाको कमी, कालिगडमा देखिएको दक्षताको कमी, निर्माण कार्यको गुणस्तरमा देखिएको कमीका साथै सरोकारवाला निकायबीच आवश्यक समन्वय हुन नसक्दा भवन संहिता प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन, महानिर्देशक मैनालीले भन्नुभयो । उक्त कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रामचन्द्र दंगाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्